काठमाडौं/ एनपिएलमा आबद्ध केही फ्रेन्चाइज टोलीले नियमित कप्तानबाट सोचेजस्तो नतिजा निकाल्न नसक्दा परिवर्तन गरेका छन् । पोखरा एभेन्जर्सले आफ्नो नियमित कप्तान कुशल भुर्तेललाई परिवर्तन गरेको थियो । सुरुवाती खेलमा खराब नतिजा निकालेपछि पोखराले कुशलको जिम्मेवारी खोसेर श्रीलंकाका चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दियो ।
सुरुवाती तीन खेल हारेपछि चमिकाले चौथो खेलबाट कप्तानी गर्न अवसर पाए । पाँचौँ खेलमा उनले जित दिलाए । लगातार तीन खेल गुमाएपछि कर्णालीले बिहीबार अनुभवी सोमपाल कामीको कप्तानीको खोस्यो । उनको स्थानमा दक्षिण अफ्रिकाका विश्वचर्चित ब्याट्सम्यान डेभिड मिलरलाई कप्तान बनायो ।
कर्णालीले सोमपालको कप्तानीमा पाँच खेलमा दुई जित र तीन हार सामना गरेको थियो । यद्यपि, मिलरले कर्णालीको हार रोक्न सकेनन् । कप्तानीको जिम्मेवारी पाउँदा खासै फरक नपरेको मिलरले बताएका छन् । ‘कप्तानीको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ, तर जित दिलाउन सकिनँ,’ उनले भने, ‘सबैले जितका लागि प्रयास गरेका थिए ।’