कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा

साबिक विजेता लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने पहिलो टोली

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- साबिक विजेता लुम्बिनी लायन्स तेस्रो सिजनको नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेलअगाडि नै प्लेअफमा स्थान बनाएको हो । पहिलो ब्याटिङ गरेको कर्णाली याक्सले १९.२ ओभरमा १०५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा लो स्कोर पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेटको क्षतिमा १०७ रन बनायो । लुम्बिनीले २० बलअगावै बाजी मारेको हो ।

लुम्बिनी ९ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ । कर्णालीले नियमित कप्तान सोमपाल कामीलाई हटाएर दक्षिण अफ्रिकाका डेभिड मिलरलाई कप्तानीको जिम्मेवारी दिएको थियो । कप्तान परिवर्तन गरे पनि कर्णालीले हार टार्न सकेन । लगातार चौथो हार व्यहोरेको कर्णालीको प्लेअफको सम्भावना कमजोर बनेको छ ।

चालू एनपिएलमा सुरुको दुई खेलमा जित निकालेर कर्णालीले उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछि कर्णालीले लगातार चार खेल गुमायो । उसले ६ खेलबाट ४ अंक जोडेको छ । कर्णाली सातौँ स्थानमा छ । कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन तथा विराटनगरलाई चार विकेटले हराएको थियो ।

त्यसपछि काठमाडौं गोर्खाजले कर्णालीमाथि चार विकेटको जित निकाल्यो । सुदूरपश्चिमको खेलमा कर्णाली ३९ रनले चुक्यो । तेस्रो एनपिएलमा सबैभन्दा खराब प्रदर्शन गरेको पोखरासँग पछिल्लो खेलमा कर्णालीले जित निकाल्न सकेन । पोखराले कर्णालीलाई ६३ रनको फराकिलो अन्तरले हरायो । पोखराले ६ खेलमा एक मात्र जित निकालेको यही खेल थियो ।

अंकतालिकामा काठमाडौंले पाँच खेलमा चार जित र एक हार नतिजाबाट ८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको काठमाडौंको रनरेट सुदूरपश्चिमको भन्दा राम्रो छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमको पनि ८ अंक छ । सुदूरपश्चिमले ६ खेलमा चार जित र दुई हार सामना गरेको छ ।

डार्सीको अलराउन्ड प्रदर्शन
लो स्कोर पछ्याउँदा लुम्बिनीका अस्ट्रेलियाका डार्सी सर्टले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा महत्वपूर्ण ४६ रन बनाउन ३४ बलको सामना गरेका थिए । डार्सीले ६ चौका र एक छक्का प्रहार गरे । बलिङका क्रममा उनले कसिलो प्रदर्शन गरे । उनले चार ओभरको स्पेलमा १३ रन खर्चेर दुई विकेट लिएका थिए ।

डार्सीले ८.१ ओभरमा सोमपाल र १२.१ ओभरमा पवन सर्राफको विकेट हात पारेका थिए । लक्ष्य पछ्याउँदा लुम्बिनीले निरन्तर विकेट गुमाएको थियो । ओपनर डार्सीले लगातार १३.३ ओभरसम्म ब्याटिङ गरे । उनी आउट हुँदा लुम्बिनी ७९/५ को स्थितिमा थियो । लुम्बिनीको मध्यक्रम सम्हालेका डार्सी आक्रामक रूपमा प्रस्तुत भएका थिए । लुम्बिनीको ब्याटिङमा निरोसन डिकवेलाले १३ बलमा १६ रन बनाए । यसैगरी दिलीप नाथले २७ बलमा २८ रनको महŒपपूर्ण योगदान गरे ।

सो इनिङ्समा आसिफ शेख (१), कप्तान रोहित पौडेल (१), सन्दीप जोरा (४) र रुबेल ट्रम्पेलम्यान (५) रनमा आउट भएका थिए । कर्णालीको बलिङमा मार्क वाटले सर्वाधिक चार विकेट हात पार्दै एक समय लुम्बिनीमाथि दबाब राखेका थिए । वाटले एक मेडन राखी १२ रन खर्चे । पाकिस्तानका हुसेन र पवनले समान एक विकेट लिए ।

चलेन कर्णालीको ब्याटिङ
कर्णालीले लगातार तीन खेलमा हार सामना गरेपछि बिहीबारको प्रतिस्पर्धामा कप्तान परिवर्तन गरेको थियो । दक्षिण अफ्रिकाका मिलरलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । उनले पनि टोलीलाई जित दिलाउन सकेन ।

लुम्बिनीको कसिलो बलिङमा निरीह बनेको कर्णाली इनिङ्सको ४.३ ओभरमा १५/४ को दयनीय अवस्थामा रह्यो । सो इनिङ्समा सोमपालले १८ बलमा सर्वाधिक २८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । उनी डार्सीको ओभरमा आसिफ शेखबाट क्याच भए । डार्सीले १२ रनमा खेलिरहेका पवनलाई बोल्ड गरेका थिए ।

पहिलोपटक अवसर पाएका ओपनर दीपेन्द्र रावत डकआउट भए । कप्तान मिलर ५ रन बनाएर पेभिलियन फर्किए । अर्का विदेशी खेलाडी मार्क वाट पनि २ रनमा आउट भए ।

दबाबमा पनि खेलाडीले राम्रो साझेदारी गरे : रोहितकुमार पौडेल, कप्तान, लुम्बिनी
कर्णालीले दिएको लक्ष्य त्यति ठुलो थिएन । पिचमा बलर हाबी भइरहँदा ब्याटिङ गर्न गाह्रो भइरहेको थियो । तर, खेलाडीहरूले आवश्यक परेका वेला राम्रो साझेदारी गर्दै टोलीलाई जितनजिक पुर्याए । प्रत्येक खेलमा ब्याटिङ युनिटमा विजयी भइरहेका छौँ । कर्णालीविरुद्ध पनि यस्तै ब्याटिङ युनिटका कारण जित सम्भव भएको हो । विशेषतः डार्सीले आफ्नो अनुभव प्रयोग गर्दै कठिन अवस्थाबाट लुम्बिनीलाई सुदृढ अवस्थामा राखे । पछिल्लो समयमा अभिषेकले सुधार गरिरहेका छन् ।

लुम्बिनीको फिल्डिङ र ब्याटिङ राम्रो थियो : डेभिड मिलर, कप्तान, कर्णाली
हामीले यो खेल गुमाउनु हुँदैनथ्यो । तर, महत्वपूर्ण खेलमा पराजित भएपछि सबै निराश बनेका छन् । ब्याटिङका क्रममा धेरै अनावश्यक रूपमा विकेट गुमायौँ । लुम्बिनीले फिल्डिङका क्रममा उत्कृष्ट प्रदर्शन गरेको थियो । केही समय उनीहरूलाई लक्ष्य पछ्याउँदा दबाबमा राख्यौँ । उनीहरूको ब्याटिङ राम्रो पाएँ । सबै खेलाडीले कर्णालीलाई प्लेअफमा पुर्याउने लक्ष्य राखेका थिए । हाम्रो प्रयास असफल भयो । 

सुझावित समाचार