काठमाडौंको सामना गर्दै सुदूरपश्चिम

शुक्रबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सले महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • काठमाडौंले पछिल्ला चार र सुदूरपश्चिमले तीन खेलमा जित निकालेका छन्, प्रतिस्पर्धामा विजयी टोली प्लेअफमा पुग्नेछ

काठमाडाैं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सले महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छन् । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे हुने खेलमा दुवै टोलीले जितका साथ प्लेअफमा पुग्ने योजना बनाएका छन् । साबिक विजेता लुम्बिनी प्लेअफमा पुगिसक्दा काठमाडौं र सुदूरपश्चिम त्यही पथमा छन् । दुवै टोली पछिल्ला खेलमा अपराजित छन् ।

काठमाडौंले लगातार चार खेलमा जित निकाली दोस्रो स्थान रक्षा गरेको छ । लिगको पहिलो खेलमै काठमाडौं पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबाट आठ विकेटले पराजित भएको थियो । अस्ट्रेलियन आक्रामक ब्याट्सम्यान डेभिड वार्नरको आगमनमा काठमाडौंको ब्याटिङमा व्यापक सुधार भयो । त्यसपछि काठमाडौंले कर्णालीलाई चार विकेटले हरायो । विराटनगरविरुद्ध नौ विकेटको जित निकालेको काठमाडौंले लुम्बिनीलाई ३६ तथा चितवन राइनोजलाई १० रनले निराश बनाएको थियो । काठमाडौंले लुम्बिनीको विजयी यात्रालाई ब्रेक लगाएको थियो ।

काठमाडौंसँग स्तब्ध हुनुअघि लुम्बिनीले दोस्रो संस्करणदेखि लगातार नौ खेलमा जित निकालेको थियो । काठमाडौंले आफ्नो दोस्रो तथा तेस्रो खेलमा ब्याटिङको प्रदर्शनमा जित हात पारेको थियो । त्यसपछि दुई खेलमा काठमाडौंले उत्कृष्ट बलिङ गर्दै महत्वपूर्ण ४ अंक जोड्यो । दुईपटकको उपविजेता सुदूरपश्चिम पनि पछिल्ला तीन खेलमा फर्ममा देखिन्छ । लुम्बिनी र विराटनगरसँग पराजित सुदूरपश्चिम चितवनलाई पाँच विकेटले हराउँदै लयमा फर्किएको हो ।

उसले आफ्नो पाँचौँ खेलमा कर्णालीलाई ३९ तथा छैटौँ खेलमा जनकपुरलाई २७ रनले हरायो । सुदूरपश्चिमले अब एक तथा काठमाडौंले दुई खेल खेल्न बाँकी छ । प्रतिस्पर्धामा काठमाडौंको तुलनामा सुदूरपश्चिम दबाबमा हुनेछ । अन्तिम खेलमा हार सामना गर्दा सुदूरपश्चिमको प्लेअफमा पुग्ने योजनामा धक्का लाग्न सक्छ । यस्तो अवस्थामा सुदूरपश्चिमले अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । काठमाडौंले सुदूरपश्चिमसँग खेल गुमाउँदा पनि थप एक खेलमा अवसर पाउनेछ । जितले काठमाडौं १० अंकका साथ प्लेअफमा पुग्नेछ ।

अस्ट्रेलियन वार्नर घर फर्किसकेका छन् । उनको अनुपस्थितिमा काठमाडौंले ब्याटिङ पक्ष कमजोर नहुने विश्वास लिएको छ । विशेषगरी मध्यक्रमका ब्याट्सम्यानले आफ्नो भूमिकालाई न्याय दिएका छन् । सुदूरपश्चिमले भने बलिङमा दरिलो प्रदर्शन गरिरहेको छ । पछिल्लो खेलमा स्कट कुगेलिजिनले घातक प्रदर्शन गरेका थिए ।

उनले जनकपुरसँगको खेलमा १३ रन खर्चेर तीन विकेट लिएका थिए । ब्याटिङमा सुदूरपश्चिमले सुधारिएको प्रदर्शन गर्नुपर्ने जरुरी छ । सुदूरपश्चिमले ब्याटिङमा एकरूपता प्रदर्शन गर्न सकेको छैन । ओपनरले गतिलो पार्टनरसिप गर्न नसक्दा सुदूरपश्चिमको टाउको दुखेको छ ।

सुझावित समाचार