काठमाडाैं- कप्तान सन्दीप लामिछानेले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगर किंग्स चार विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा सन्दीपले उत्कृष्ट बलिङ स्पेल गरेपछि पहिलो ब्याटिङ गरेको पोखरा एभेन्जर्स १७.५ ओभरमा १३२ रनमा समेटियो । प्रत्युत्तरमा विराटनगरले संघर्ष गर्दै १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो । प्लेअफ आशा जीवित बनाउन विराटनगरलाई खेल जित्नुपर्ने थियो ।
निर्णायक खेलमा जित निकालेपछि विराटनगरले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । विराटनगरले ६ खेलमा समान तीन जित र हार निकाली ६ अंक जोडेको छ । सन्दीपले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको जित मुख्य रहेको बताएका छन् । ‘ह्याट्रिक वा ६ विकेटको प्रदर्शनभन्दा महत्वपूर्ण पक्ष टोलीको जित भएको छ,’ सन्दीपले भने, ‘अघिल्लो खेलमा राम्रो बलिङ गर्दा पनि विकेट आएको थिएन, तर आज निकाल्न सफल भएँ ।’ उनले पोखराविरुद्ध २७ रन खर्चेर ६ विकेट लिएका हुन् । यसै प्रदर्शनका कारण उनी म्याच अफ दी म्याच भए ।
१५औँ ओभरमा ह्याट्रिक
पोखराविरुद्ध सन्दीपले पहिलो तथा दोस्रो स्पेलमा तीन विकेट लिइसकेका थिए । उनले इनिङ्सको ६.२ ओभरमा अर्जुन घर्तीको विकेट लिए । १०औँ ओभरमा उनले दुई बलको अन्तरमा दुई विकेट हात हात पारे । १०.२ ओभरमा सनी विक र १०.४ ओभरमा रमेश मेन्डिसको विकेट लिँदै खेलमा तीन विकेट संख्या पुर्याए ।
त्यसपछि उनी इनिङ्सको १५औँ ओभरमा बलिङ गर्न आए । पहिलो तीन बलमा विकेट लिएनन् । इनिङ््सको १४.३ ओभरमा फर्ममा रहेका क्यानडाका ब्याट्सम्यान युवराज सिंह सम्रालाई आउट गराए । सन्दीपले यस ओभरमा विकेट लिनुअघि समान एक छक्का र चौका सामना गरेका थिए । १४.४ ओभरमा उनले पोखराका कप्तान चमिका करुणारत्नेलाई एलबिडब्लू आउट गरे । १४.५ ओभरमा सन्दीपले किरण ठगुन्नालाई एलबिडब्लूको धरापमा राख्दै ह्याट्रिक पूरा गरे । चालू एनपिएलमा यो नै पहिलो ह्याट्रिक हो ।
सन्दीपलाई ह्याट्रिक ओभर भएको सुरुमा थाहा थिएन् । यसअघि चमिका एलबिडब्लू हुँदा डिएसआर लिइएको थियो । ‘वास्तवमा ह्याट्रिक भएको थाहा थिएन । चमिकाको एलबिडब्लूमा रिभ्यु लिएको थिएँ । रिभ्यु लामो भएका कारण विकेट आएको मात्र भान भयो,’ पोस्ट म्याचमा उनले भने, ‘किरणको विकेटपछि खुसी मनाएँ । यसबिचमा मलाई ह्याट्रिक विकेट भएको जानकारी दिइयो । त्यसपछि म थप खुसी भएँ ।’ प्रतिस्पर्धामा विराटनगरका लागि एन्जेलो म्याथ्युज, चरिथ असलंका र रूपेश सिंहले समान एक विकेट लिए ।
युवराजको एकल प्रयास
पोखराको धरमराएको ब्याटिङमा क्यानडाका युवा ब्याट्सम्यान तथा ओपनर युवराजले इनिङ्सको १४.३ ओभरसम्म ब्याटिङ गरेका थिए । विकेटको अर्को छेउबाट गतिलो साथ नपाउँदा उनलाई पोखरालाई बलियो योगफलसम्म पुर्याउन सकेनन् । आउट हुनुअघि युवराजले ४७ बलमा पाँच छक्का र सात चौका प्रहार गरी सर्वाधिक ८४ रन जोडे । उनको स्ट्राइक रेट १७८.७२ थियो । सो इनिङ्समा श्रीलंकाका धनञ्जय लक्षणले १५ बलमा समान एक चौका र छक्का प्रहा रगरी २२ रन बनाए । सनी विकले ११ बलमा १२ रन जोडे । पोखराको कमजोर ब्याटिङमा चार ब्याट्सम्यान शून्यमा आउट भए । चार खेलाडीले दोहोरो अंकमा रनै बनाएनन् । पोखराको ब्याटिङमा समान सात चौका र छक्का प्रहार भएको थियो । युवराजको विकेटपछि पोखराले १० रन जोड्दा चार विकेट गुमाउनु नै निराशाजनक पक्ष रह्यो ।
ब्याटिङमा विराटनगरको संघर्ष
बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि पोखरालाई हराउन विराटनगरले ब्याटिङमा संघर्ष गरेको थियो । १३३ रनको लक्ष्य पूरा गर्न उसले १९.२ ओभरसम्म ब्याटिङ गर्यो । श्रीलंकाली चरिथ असलंका र प्रतिष जिसी शून्यमा आउट भए । पोखराका बलरले पनि विराटनगरमाथि दबाब राखेका थिए । उनीहरूले सहज रन दिएका थिएनन् । इमरान शेख र लोकश बमले पहिलो विकेटका लागि १.४ ओभरमा ११ रन जोडे । चरिथ आउट हुँदा विराटनगर ३.१ ओभरमा १९ रनको अवस्थामा थियो ।
त्यसपछि फर्ममा रहेका ब्याट्सम्यान लोकेश बम र बसिर अहमदले तेस्रो विकेटका लािग ३७ रनको साझेदारी गरे । लोकेशले २७ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३३ रनको योगदान दिए । श्रीलंकाली अलराउन्डर एन्जेलोले ११ बलमा ८ रन बनाए । बसिर इनिङ्सको १६.५ ओभरमा पेभेलियन फर्के । उनी आउट हुँदा विराटनगर १०५/६ को स्थितिमा थियो । त्यसपछि सेहान जयसुर्या र इसुरु उदानाले अविजित २९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । बलिङमा रमेश मेन्डिसले चार ओभरमा २९ रन खर्चेर दुई विकेट लिए ।
कुशल भुर्तेलले चार ओभरमा एक मेडन राखी २१ रन दिएर दुई विकेट हात पारे । विपिन खत्रीले १८ रनमा एक विकेट लिए ।
सन्दीप भन्छन्–
व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित प्राथमिकता हो । यो खेलमा जितका लागि ब्याटिङ र बलिङ दुवैमा खेलाडीले महत्वपूर्ण योगदान गरेका छन् । लक्ष्य पछ्याउने क्रममा बासिर अहमद, सेहान जयसुर्या र इसुरु उदानाले कठिन अवस्थाबाट विराटनगरलाई उकासे । आन्द्रे रसेलको स्थानमा आएका इसुरुबाट प्रभावित भएँ । विकेट लिएपछि साथी खेलाडीहरू आएर खुसी साट्ने र सामूहिक रूपमा उत्सव मनाउने गर्छन् । तर, आफूले कति विकेट लिएँ भन्नेभन्दा टोलीले जित्यो कि जितेन भन्ने कुरा महत्वपूर्ण हो । मैले एक विकेट लिउँ वा पाँच विकेट, टोलीले जित्दा त्यसमा उत्तिकै खुसी हुन्छु । बलिङ क्षमताप्रति कुनै शंका छैन ।