बलात्कार आरोपमा ठमेलबाट पक्राउ परेका सेनाका मेजर जेल चलान

बिहिबार, १९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बलात्कार आरोपमा पक्राउ परेका नेपाली सेनाका मेजर कारागार चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले मेजर अनिलबहादुर बस्नेतलाई गत साता पुर्पक्षका लागि थुनामा पठाएको हो।  

घटना गत ३ असोजमा एक महिलालाई ठमेलको होटेलमा बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई एक सातापछि पक्राउ गरेको थियो। प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो। 

 प्रहरी स्रोतका अनुसार ठमेलको एक रेस्टुरेन्टमा राति अबेरसम्म युवक–युवती बसेका थिए। दुवैजना करिब तीन बजे ठमेलको ज्याठास्थित एक होटेलमा गएको देखिन्छ। युवक बिहान ६ बजे निस्किएकामा युवती भने दिउँसो मात्र निस्किएकी थिइन्। सोही बिहान आफूमाथि बलात्कार भएको युवतीको जाहेरी छ।  

प्रहरी स्रोतका अनुसार घटनाको तीन दिनपछि युवतीले जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले पक्राउ पुर्जी लिई बस्नेतलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा केही दिनअघि मात्र युवक र युवतीबिच चिनजान भएको देखिन्छ। रेस्टुरेन्टमै भएको चिनजानपछि उनीहरू होटेलमा पुगेका थिए। पीडित युवती अमेरिकी नागरिक हुन्। मेजर बस्नेतले भने इन्कारी बयान दिएका थिए। 
 

सुझावित समाचार