ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- अहिले रातो रङमा मात्रै उपलब्ध भइरहेको ग्यास सिलिन्डर निलो रङमा समेत प्रचलनमा ल्याउने र मूल्यसमेत फरक गर्ने गृहकार्यमा सरकार जुटेको छ । निलो रङको सिलिन्डर व्यावसायिक प्रयोजनका लागि मात्रै उपलब्ध गराउने र लागत मूल्यमा बिक्री गर्ने सरकारी योजना छ ।

व्यावसायिक प्रयोजनमा खपत हुने निलो रङको सिलिन्डर लागत मूल्यमा बिक्री गर्दा आयल निगमले हाल खेपिरहेको घाटा कम हुने र कुन क्षेत्रमा कति ग्यास खपत भएको छ भन्ने तथ्यांकसमेत संकलन गर्न सजिलो हुने आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । ‘ग्यासको दीर्घकालीन समाधानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत काम भइरहेको छ,’ उनले भने, ‘घरायसी र व्यावसायिक प्रयोजनका लागि छुटाछुट्टै सिलिन्डर प्रयोगमा ल्याउने गरी मूल्यसमेत फरक गर्ने कुरामा मन्त्रालयबाटै काम भइरहेको छ ।’ उनका अनुसार अहिले ग्यासमा प्रतिसिलिन्डर ६ सय ४० रुपैयाँ नोक्सान छ । यो हिसाबले मासिक दुई अर्ब २४ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सान रहेको उनले जानकारी दिए । ‘ग्यासमा नियमित रूपले ठुलो नोक्सानी छ, ग्यासको नोक्सानीको असर पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य निर्धारण प्रणालीमा पनि पर्दै आएको छ,’ ठाकुरले भने, ‘त्यसैले, लागत मूल्यमा व्यावसायिक प्रयोजनतर्फ खपत हुने ग्यास बिक्री गर्ने नीति लागू गर्न सकियो भने निगमको घाटा कम गर्न सकिन्छ भने अन्य पेट्रोलियम पदार्थको मूल्यमा पनि केही सहुलियत हुन सक्छ ।’

मन्त्रालयका आपूर्ति महाशाखा प्रमुखसमेत रहेका सहसचिव नमराज घिमिरेसहित आयल निगमका अधिकारीले गत शुक्रबार ग्यास उद्योगीसँग बैठक बसेर दुई थरी सिलिन्डर र दुई थरी मूल्य कायम गर्ने विषयमा छलफल गरिसकेका छन् । आयल निगमले ३० प्रतिशत सिलिन्डरमा निलो रङ लगाएर लागत मूल्यमा बिक्री गर्ने योजना बनाए पनि उद्योगीले भने बढीमा १२ प्रतिशत सिलिन्डर मात्रै व्यावसायिक क्षेत्रमा खपत हुने तथ्यांक पेस गरेका छन् । त्यसैले, तत्काल १२ प्रतिशत सिलिन्डरमा निलो रङ लगाएर बजारमा पठाउन तयार गरेको ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले जानकारी दिए ।

‘व्यावसायिक प्रयोजनमा खपत हुने ग्यासका लागि निलो रङ लगाएर बजार पठाउन तयार छौँ । मूल्य आयल निगमले तोकिएको खण्डमा सोहीअनुसार बिक्री गर्न हामी तयार छौँ,’ उनले भने । ठुला होटेल, रेस्टुरेन्टलगायतमा उद्योगबाट सोझै ग्यास बिक्री हुने गरेको छ । त्यस्तै, केही ठुला डिलरहरूले पनि होटेल, रेस्टुरेन्टमा ग्यास बिक्री गर्दै आएका छन् । दुई थरी मूल्यमा ग्यास बिक्री गर्न कुनै समस्या नहुने अध्यक्ष चन्दले बताए । 

व्यावसायिक ग्यासको प्रत्येक महिना मूल्य हेरफेर
निलो सिलिन्डर बजारमा ल्याएर लागतअनुसार मूल्य निर्धारण भए प्रत्येक महिना मूल्य हेरफेर हुनेछ । किनभने, इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक अंग्रेजी महिनाको १ तारिखमा ग्यासको नयाँ मूल्य पठाउने गर्छ । अहिलेसम्म पेट्रोलियम पदार्थको मूल्य आयल निगमको नियन्त्रणमा रहेकाले नयाँ खरिददर आउँदैपिच्छे भाउ निर्धारण हुने गरेको छैन । तर, व्यावसायिक क्षेत्रको ग्यासको मूल्य भने लागतअनुसार निर्धारण गर्ने प्रणाली विकास भए प्रत्येक महिना परिवर्तन हुनेछ । भारतमा पनि आइओसीले व्यावसायिक क्षेत्रको ग्यासको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार प्रत्येक महिना परिवर्तन गर्ने गरेको छ भने घरेलु ग्यासमा भने अनुदान उपलब्ध गराएर भाउ नियन्त्रण गर्ने गरेको छ ।

सुझावित समाचार