संखुवासभा/ संखुवासभाको दुर्गममा रहेको सिलिचोङ गाउँपालिकालाई छिमेकी मित्र राष्ट्र चीन सरकारले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । सिन्धुपाल्चोकको तातोपानीस्थित मितेरी पुलमा बुधबार एक कार्यक्रमबिच चीन सरकारले औपचारिक रूपमा सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेबाहाङलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
गत सन् २०२३ नोभेम्बरमा मित्र राष्ट्र चीन सरकार र सिलिचोङ गाउँपालिका बीच समझदारी भएको थियो। चीनको तिब्बत स्वशासित क्षेत्रअन्तर्गत डिङ्जी काउन्टी तथा रिकाजे सहरमार्फत एम्बुलेन्स उपलब्ध गराएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेबाहाङले बताए । यसअघि पनि चीन सरकारले गाउँपालिकालाई विभिन्न स्वास्थ्यसम्बन्धी सामग्री र उपकरणहरू सहयोग गरेको अध्यक्ष मेबाहाङले बताए ।
उक्त एम्बुलेन्स लिन सिलिचोङ गाउँपालिकाका अध्यक्ष मेबाहाङको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत प्रवीण राईसहितको टोली तातोपानी नाका पुगेर एम्बुलेन्स बुझिलिएको गाउँपालिकाले जनाएको छ। प्राप्त एम्बुलेन्सलाई आवश्यक भन्सार तथा कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।
चीन सरकारले उपलब्ध गराएको एम्बुलेन्सको लागि सिन्धुपाल्चोक भन्सार कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गरिने गाउँपालिकाको भनाइ छ। नेपाल सरकारको सवारी नीति नियम र कानुनअनुसार सञ्चालन गर्न कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको जनाएको छ ।
चीन सरकारले सिलिचोङ गाउँपालिकालाई करिब पाँच महिनाअघि पनि पोर्टेबल डिजिटल एक्स–रे मेसिनलगायत महत्त्वपूर्ण स्वास्थ्य उपकरण सहयोग गरेको थियो। ती उपकरणमार्फत गाउँपालिकामा स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ।
एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा तथा बिरामीलाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा लैजान सहज हुने अपेक्षा गरिएको छ। चीन सरकारको यस सहयोगले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न थप योगदान पुर्याउने विश्वास गरिएको गाउँपालिकाको भनाइ छ।