खेलमैदानबाहिर पनि एनपिएलको छुट्टै रौनक, विराटनगरवासीलाई खुला ठाउँमै क्रिकेटको मज्जा

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

 

विराटनगर । विराटनगरको पुरानो गुद्रीमा यतिवेला क्रिकेटको छुट्टै रौनक छ। काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का खेल हेर्न विराटनगरवासीको भिड गुद्रीमा जम्मा हुने गरेको छ। ठुलो स्क्रिनमा प्रत्यक्ष प्रसारण हेर्दै क्रिकेटप्रेमीहरू खेलको मज्जा लिइरहेका छन्।

फिफा रेफ्री किरण गिरी मात्र होइन, विराटनगरका चर्चित खेलाडी, खेलप्रेमी, कर्मचारी, प्रहरीदेखि सर्वसाधारणसम्म एनपिएल हेर्न गुद्री पुग्ने गरेका छन्। खेलका क्रममा ब्याटबाट निस्कने छक्का–चौका र विकेट झर्दाको उत्साहसँगै दर्शकहरूले सामूहिक रूपमा खुसी साट्ने गरेका छन्।

एक्स्ट्रिम इनर्जी ड्रिंक कम्पनीको पहलमा विराटनगरको पुरानो गुद्री बजारस्थित खाली ठाउँमा ठुलो स्क्रिन राखेर एनपिएल हेर्ने व्यवस्था मिलाइएको हो। निःशुल्क रूपमा खेल हेर्न पाउने भएपछि क्रिकेटप्रेमीहरूका लागि यो स्थान आकर्षणको केन्द्र बनेको छ।

यसअघि एनपिएल, आइपिएल तथा विश्वकपका खेल हेर्न कतिपयले घरमै टेलिभिजनको व्यवस्था गर्नुपर्थ्यो भने कतिपय होटेलमा पुग्नुपर्ने बाध्यता थियो। तर, अहिले खुला ठाउँमा ठुलो स्क्रिनमार्फत राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा विराटनगरवासीले फरक अनुभव गरिरहेका छन्।

विराटनगरका खेलप्रेमी उदय घिमिरेका अनुसार खुला ठाउँमा ठुलो स्क्रिनमा देशकै प्रमुख क्रिकेट प्रतियोगिता हेर्न पाउँदा छुट्टै आनन्द मिलेको छ। उनका अनुसार क्रिकेटको मज्जा लिनु मात्रै नभई सामूहिक रूपमा खेल हेर्दा स्थानीय समुदायबिचको आत्मीयता पनि बढ्ने गरेको छ।

कीर्तिपुरको मैदानमा खेलाडीहरू ब्याट र बलसँग प्रतिस्पर्धा गरिरहँदा विराटनगरको पुरानो गुद्रीमा भने सयौँ दर्शकको हुटिङ, ताली र उत्साहले माहोल तताउने गरेको छ। कसैले चौका–छक्का लाग्दा खुसी व्यक्त गर्छन् भने कसैले विकेट झर्दा निराशा जनाउँछन्। खेलमैदानमा देखिने रोमाञ्चकता विराटनगरका दर्शकले पनि सामूहिक रूपमा अनुभव गरिरहेका छन्।

क्रिकेटप्रेमीहरूका अनुसार सामूहिक रूपमा खेल हेर्दा क्रिकेट केवल टेलिभिजनमा हेर्ने खेलमा सीमित रहँदैन। अपरिचित दर्शकहरूबिच पनि कुन टोलीले राम्रो खेल्यो, कुन खेलाडीको प्रदर्शन कस्तो रह्यो र आगामी खेलमा के हुन सक्छ भन्ने विषयमा छलफल हुने गर्छ। यसले खेलप्रतिको चासो र सहभागिता थप बढाएको छ।

खुला ठाउँमा ठुलो स्क्रिन राखेर निःशुल्क खेल देखाउने व्यवस्थाले दिनभरि कामकाजमा व्यस्त हुने सर्वसाधारणलाई पनि साँझ क्रिकेट हेरेर मनोरञ्जन लिने अवसर दिएको छ। खेलको नतिजा जे आए पनि साथीभाइसँग बसेर हुटिङ गर्ने, खेलको विश्लेषण गर्ने र सामूहिक खुसी साट्ने वातावरणले विराटनगरमा एनपिएलको रौनक थप बढाएको छ।

यसरी काठमाडौंको कीर्तिपुरमा भइरहेको एनपिएलले विराटनगरमा पनि छुट्टै उत्साह सिर्जना गरेको छ। क्रिकेट मैदानबाट टाढा रहेर पनि ठुलो स्क्रिनमार्फत प्रत्यक्ष खेल हेर्न पाउने सुविधाले स्थानीय खेलप्रेमीलाई प्रतियोगितासँग जोडेको छ।

सुझावित समाचार