एमाले अध्यक्ष केपी ओलीले आफूलाई जनताले नै सहयोग नगरेको दुःखेसो पोखेका छन् । एमाले सम्पर्क विशेष संगठन कमिटीद्वारा आइतबार आयोजित मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलामा करिब एक घण्टा बोलेका उनले ‘बहादुरी कमाएका’ नेपालीले ‘घर–सम्पत्ति जलाउनेलाई साथ दिएको’ आरोप लगाउँदै घटियासमेत भन्न भ्याए ।
ओलीले पार्टीभित्र र बाहिर, देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दी गरिएको आरोप लगाउँदै बैरीविरुद्ध नझुक्ने बताए । उनले महाभारतका पात्र भीष्मपितामहसँग आफूलाई पुनः तुलना गरे ।
उनले पार्टीमा पुस्तान्तरण हतारमा नभएर सिलसिलामा हुने पनि जिकिर गरे । ‘कसैले नेपाली जनतालाई छकाउन सक्दैन भन्ने मैले ठानेको थिएँ । नेपाली जनताले लडेर बलिदान दिएर ल्याएको लोकतन्त्र कसैले खोस्न सक्दैन भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘कसैले कान लग्यो भनिदियो, नेपाली जनतामा काम छाम्ने होइन, कान छैन भनेर कुद्ने चलन रहेछ । देखियो ।’
ओलीले जेन–जी आन्दोलनका वेला २४ भदौ ०८२ लाई लक्षित गर्दै भने, ‘नेपाली जाति यति घटिया ढंगले प्रस्तुत हुन्छ भनेर मैलेचाहिँ कल्पना गर्न सकेको थिइनँ । व्यावसायिक प्रतिष्ठान, सञ्चारमाध्यमका कार्यालयहरू, सञ्चार उपकरण जलाएर कोही लोकप्रिय हुन्छ भन्ने मैले थाहा पाएको थिइनँ । विवेकहीन ढंगले अर्काकोमा बसेर लुटेको छ, सामान बोकेको छ, त्यस्तै मान्छे लोकप्रिय भए, ठहरिए ।’
राज्यको सम्पत्तिमा आगो लगाएर मानिस लोकप्रिय भएको र बनाइएको उनले टिप्पणी गरे । ‘विश्वमा चिनिएको बहादुर जाति अहिले के भयो ? अर्काको घरमा आगो लगाउने, अर्काको सम्पत्ति लुटेर कुद्ने कायरहरू हुन् । कमाएर खान नसक्ने तिनका हातको के काम ? अर्काको सम्पत्ति लुट्ने ? कुनै जीव जनावरले पनि अर्काको घर आगो लगाउँदैन । सम्पत्ति पनि लाँदैन,’ उनले भने ।
ओलीले अहिले लोकतन्त्र हनन भएको र जनताको अधिकार अपहरित भएको आरोप पनि लगाए । ‘अहिले हरेक मान्छे बोल्न डराउँछ । महिलाले बोल्दा चरित्रहत्या हुन्छ । असभ्य जमात आइलाग्छ । माइतीघर मण्डलामा बस्ने महिलाले उजुरी गर्नासाथ पुलिस घर आइपुग्छ,’ ओलीले भने, ‘साइबर ब्युरोका पुलिसहरूले पीडितलाई कागज गराएर आइन्दा यस्तो बोल्दिनँ भनेर पठाउँछन् । पीडितको अन्त जाने ठाउँ छैन । कता जाँदै छ देश ?’
जनताले स्टन्टबाजी नबुझेको भन्दै ओलीले असन्तुष्टि जनाए । ‘स्टन्टबाजी पनि बुझ्दैन नेपाली जनता । जनताले बुझ्नुपर्छ, तपाईं–हाम्रा सन्नतिले यो देशमा बस्नुपर्छ । आतंकको छायामुनि बाँच्नुपर्ने देश बनाउने कि जो–कोही पनि ढुक्कले हिँड्न सक्ने देश बनाउने ?’ उनले प्रश्न गरे ।
ओलीले भूमिको रक्षा मात्र राष्ट्रियता नहुने भन्दै थपे, ‘भूमि छँदै छ नि भनेर मात्र हुँदैन राष्ट्रियतामा । म ज्युँदै छु मात्रै भनेर हुँदैन । ब्वाँसाले खाँदै–खाँदै मार्छ । देश त्यस्तो हुनेवाला छ । अस्थिपञ्जर छँदै छ, बाँचिरहेको छु भन्ने छ । तर, साँप्रा पनि खाइसक्यो, करङ पनि खाइसक्यो, गर्धन पनि खाइसक्यो । प्राण त छँदै छ भनेजस्तो छ ।’