विनोद दास बने मलेसिया क्रिकेटका सिइओ

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनका चिफ अपरेटिङ अफिसर (सिइओ) बनेका छन् । मलेसिया क्रिकेट संघले एक महिनाअघि सिइओको आवेदन खुला गरेको थियो ।

दासले पनि आवेदन दिएका थिए । मलेसियालाई नेपाली क्रिकेटकै अनुभवी खेलाडी तथा प्रशासनिकमा चुस्त व्यक्तित्वका रूपमा दासलाई छनोट गरेको जनाएको छ । 

दास यसअघि नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट अपरेसन म्यानेजरको रूपमा कार्यरत थिए । उनले यस पदबाट अलग भएको क्यानलाई जानकारी गराइसकेका छन् । दासको कप्तानीमा नेपालले पहिलोपटक आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्लेट च्याम्पियनसिप फाइनल खेलेको थियो । 

दासले यू–१९ देखि सिनियर टोलीसम्म कप्तानी गरेका थिए । उनले प्रशिक्षकका रूपमा यू–१९ पुरुष र महिला सिनियर टोलीको जिम्मेवारी भूमिका निर्वाह गरेका थिए । दुई दशकदेखि नेपाली क्रिकेटसँग नजिक भएर काम गरेका उनी क्यानको क्रिकेट म्यानेजरकै लागि उपयुक्तका रूपमा थिए । 

उनले सन् १९९७ मा हङकङमा भएको युथ एसिया कपमा उमेर समूहमा डेब्यु गरेका थिए । सन् २००० मा उनले राष्ट्रिय टोलीबाट एसिसी ट्रफीमा डेब्यु गरे । सन् २००२ को यू–१९ विश्वकपमा उनको कप्तानीमा रहेको नेपालले दुई टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो । 

सुझावित समाचार