१० भदौमा लाङटाङ लिरुङ हिमालको एउटा हिमशृंखलाबाट हिमचट्टान ल्हेन्दे खोलामा खस्दा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा डेढ सय किलोमिटरसम्म आकस्मिक बाढी आयो । तीव्र गतिको बाढीले रसुवाको रसुवागढी भन्सार नाका, रसुवागढी र टिमुरे बजार मात्र बगाएन, रसुवा र नुवाकोटको वेत्रावती तथा नुवाकोटको त्रिशूलीसहितका बजार र धादिङ हुँदै गोरखा र चितवनसम्मका तटीय क्षेत्रमा समेत क्षति पुर्यायो ।
हरितगृह ग्यासको बढ्दो उत्सर्जन र तापक्रम वृद्धिका कारण हिउँ–बरफ तीव्र गतिमा पग्लिँदा हिमनदीको आकार घट्नुका साथै हिमतालको संख्या र आकार बढिरहेको र यसले हिमाली क्षेत्रबाट बहने नदीमा बाढीको जोखिम बढाइरहेको विश्लेषण नयाँ होइन । तर, हिमाली क्षेत्रमा हुने जोखिमको आकलन गर्दा हिमचट्टान खस्दा बरफ, चट्टान र पानीसहित विनाशकारी बाढी आउन सक्ने जोखिमलाई राज्य तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत निकायले पर्याप्त रूपमा समेटेको देखिँदैन ।
नेपालमा हिमचट्टान खसेर विनाशकारी बाढी निम्तिएको घटना भोटेकोशीमा मात्र भएको होइन । १४ वर्षअघि २३ वैशाख ०६९ मा पोखराको सेती नदीमा आएको हिमबाढीको शृंखला पनि यस्तै उच्च हिमाली जोखिमको उदाहरण थियो । त्यतिवेला अन्नपूर्ण हिमालको चौथो चुचुरोभन्दा करिब डेढ किलोमिटर दक्षिणमा रहेको दक्षिणी डाँडाको करिब ३२ हजार वर्गमिटर क्षेत्रफलको हिमचट्टान सेती नदीको मुहान (साब्चे सर्क) क्षेत्रमा खस्दा ठुलो बाढी आएको थियो । उक्त घटनामा ७२ जना हताहती (मृत्यु र बेपत्ता) भएका थिए । करिब ६ हजार ८५० मिटरको उचाइबाट चार हजार पाँच सय मिटरआसपाससम्म खसेको हिमपहिरोपछि आएको बाढीले २० भन्दा बढी घर तथा गोठ, दुईवटा मन्दिर, सामुदायिक भवन, पुल र सडक बगाएको थियो । साढे नौ हेक्टर धानखेत बालुवाले पुरिएको थियो । गृह मन्त्रालयको तथ्यांकअनुसार सेती बाढीबाट सार्वजनिक तथा निजी गरी करिब आठ करोड २० लाख रुपैयाँबराबरको धनमाल क्षति भएको थियो ।
यसपटक १० भदौमा समुद्र सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालबाट करिब १४ करोड २० लाख घनमिटर बरफ र चट्टानको विशाल हिमपहिरो ल्हेन्देमा खसेको थियो । विनाशकारी बाढीले नदीकिनारका बस्ती, पुल र जलविद्युत् आयोजना लगेको छ । घटनाले एक हजार ४५३ मानिसको ज्यान लिइसकेको छ भने पाँच हजार ५५० अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आकलनअनुसार पुनर्निर्माणमा सात खर्ब २३ अर्ब २१ करोड चाहिन्छ ।
सेती हिमबाढीको अध्ययन गरेका भूगर्भविद् श्रीकमल द्विवेदी अहिले भोटेकोशीमा आएको हिमबाढी सेतीको शृंखला मान्न सकिने बताउँछन् । ‘यी दुवै हिमसुनामीका प्रकृति एउटै हुन्, ग्लेसियरसहितको चट्टान भत्किएका छन् । फरक भनेको भोटेकोशी बाढीमा हिमचट्टान सिधै खोलामा खसेको देखिन्छ । तर, सेतीमा भने नदीमा नभई भित्तामा ठोक्किएको थियो । जसले गर्दा भोटेकोशीको तुलनामा कम क्षति भयो,’ उनी भन्छन् ।
सेती बाढीको घटनाका क्रममा बिहान ९ः९ बजे ३.८ म्याग्निच्युडबराबरको भूकम्पीय कम्पन रेकर्ड भएको थियो । भोटेकोशी हिमबाढीमा पनि उच्च हिमाली क्षेत्रमा हिमचट्टान खस्दा १० भदौ बिहान ८ः३७ मा कम्पन रेकर्ड भएको छ । ल्हेन्दे क्षेत्रमा हिमचट्टान खस्दा उत्पन्न कम्पनको परिमाण ५.१ म्याग्निच्युड मापन छ ।
भोटेकोशी हिमबाढीको अध्ययन गरिरहेका काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक, हिमनदी विशेषज्ञ डा मोहनबहादुर चन्द समुद्र सतहबाट पाँच हजार दुई सय मिटरमाथिबाट तीन हजार आठ सय मिटरमा हिमपहिरो खस्दै बाटोमा रहेको हिउँ र चट्टान सोहोरेर लगेको देखिएको बताउँछन् । ‘१२ करोड नौ लाख ६० हजार घनमिटर बरफ, हिउँ र चट्टान एक हजार एक सय मिटरको ठाडो दूरीबाट खसेर तल्लो भागको लेदोले हिमनदीलाई कटान गर्यो,’ चन्दको नेतृत्वमा भएको प्रारम्भिक अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘तल्लो क्षेत्रबाट करिब ६ करोड ७० लाख घनमिटर बरफ ल्हेन्देमा मिसियो । ल्हेन्दे र दोभोनमा जम्मा भएको हिउँ, बरफ र चट्टानले केही मिनेटका लागि नदी थुनेर पछि तीव्र गतिमा बगेको अनुमान छ ।’
पछिल्ला वर्षमा नेपालमा ग्लेसियरसहित हिमचट्टान भत्किएर विनाशकारी बाढी निम्त्याएका यी दुई ठुला घटना हुन् । हिन्दुकुश हिमशृंखलाअन्तर्गत नै भारतको उत्तराखण्डको चमोलीमा सन् २०२१ मा आएको बाढी पनि भोटेकोशी बाढीसँग मिल्न जान्छ ।
हुन त भोटेकोशीमा गत वर्ष २३ असार ०८२ मा मात्र ठुलो बाढी गएको थियो । तर, त्यतिखेर माथिल्लो हिमतालको पानी छचल्किएर तल्लो हिमतालमा मिसिँदा फुटेर ल्हेन्दे खोलामा गएको थियो । र, भोटेकोशीमा बाढी आएको थियो ।
सेती बाढीका वेला आकाशमा उडिरहेका अल्ट्रालाइट पाइलट क्याप्टेन अलेक्जेन्डर म्याक्सिमोभले असामान्य दृश्य देखेपछि पोखरा विमानस्थलको टावरमा खबर गरेका थिए । त्यसपछि सुरक्षा निकाय र एफएम रेडियोमार्फत सूचना प्रवाह भएको थियो । यसपटक भने रसुवागढी क्षेत्रमा सात मिनेटमै बाढी पुगेको थियो । बाढी रसुवागढी पुगेपछि त्रिशूली तटीय क्षेत्रमा माइकिङ र एसएमएस पठाइएको थियो, जुन क्षति कम गराउन पर्याप्त हुन सकेन ।
हिमाली क्षेत्रमा बदलिँदै छ जोखिमको प्रकृति, तीनथरी जोखिम
हिमाली क्षेत्रमा विशेषगरी तीनथरी जोखिम देखिन्छन् । हिमताल विस्फोट भएर, हिमनदी टुक्रिएर वा हिमचट्टान खसेर बाढी र हिउँ पर्नुपर्ने ठाउँमा पानी परेर । ३२ साउन ०८१ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५, थामे गाउँमा भीषण बाढी आयो । दुधकोशीको सहायक नदी थामेमा बाढी आउनुको कारण थियो, थाङबो क्षेत्रका सुप्रा ग्लेसियर ताल (हिमनदीको माथिल्लो भागमा बरफ बनेको ताल) फुट्नु । उच्च तापक्रमका कारण हिमनदी र सुप्रा ग्लेसियर तीव्र गतिमा पग्लिँदा बाढी आएको थियो । ठुलो वर्षा भएकै वेला त्यस क्षेत्रमा आएको बाढीले २० घर, होटेल, लज, स्वास्थ्यचौकी र विद्यालयमा क्षति गरेको थियो । खुम्बु क्षेत्रमा मात्र ८२ करोडको क्षति भएको थियो । त्यसअघि १ असार ०७८ मा सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीमा भीषण बाढी जाँदा मेलम्ची बजार बगाएको थियो भने काठमाडौं उपत्यकामा आपूर्ति हुने मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त गरेको थियो । यो बाढीले ५८ अर्ब ६८ करोड क्षति भएको थियो । त्यतिखेर दैनिक तापक्रम तीव्र रूपमा बढ्नुका साथै वर्षा पनि भएपछि हिउँ र हिमनदी पग्लिएर भीमाथाङमा पहिरो खसेको थियो । पहिरो खस्दा मेलम्ची खोला थुनिएर फुटेको थियो ।
महाकालीको बाढीले २ असार ०७० मा दार्चुला सदरमुकाम खलंगाका डेढ सयभन्दा बढी घर बगाएको थियो । बाढीको कारण थियो, महाकाली नदीको माथिल्लो तटीय क्षेत्र (हिमाली क्षेत्र)मा क्लाउड ब्रस्ट हुनु । अत्यधिक वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएको थियो भने द्यौलीगंगा जलविद्युत्को बाँधसमेत भत्किएपछि महाकालीमा भीषण बाढी आएको थियो ।
हिमाली क्षेत्रमा वर्षाका कारण बाढीका घटना पछिल्लोपटक हुम्लामा बढिरहेका छन् । गत वर्ष{ २ जेठमा हुम्लाको नाम्खा गाउँपालिका– ६, तिलगाउँमा हिमबाढी गएको थियो । हिउँभित्रको ताल पग्लिएर आएको बाढीबाट १८ घरपरिवार विस्थापित भएका थिए । पछिल्लो हिमताल विस्फोटबाट ठुलो बाढी गएको घटना संखुवासभामा वरुण नदी र सिन्धुपाल्चोकको भोटेकोशीमा छ । २१ असार ०७३ मा मितेरी पुलदेखि २० किलोमिटर उत्तर रहेको जाङजाम्बो हिमतालनजिकै रहेको सानो हिमताल फुटेको थियो । जसकारण तातोपानी–बाह्रबिसे सडक भत्काउनुका साथै मध्यभोटेकोशी जलविद्युत् आयोजनामा क्षति गरेको थियो । घर र पसल पनि बगेका थिए । त्यसपछि ७ वैशाख ०७४ मा लाङमाले हिमताल फुट्दा वरुण नदीमा बाढी आएको थियो । बरुण बजारका चार घर भत्किएका थिए । १७ कात्तिक ०८२ दोलखाको रोल्वालिङ हिमशृंखलाअन्तर्गतको यलुङ री हिमालमा हिमपहिरो जाँदा १५ जना हताहती (मृत्यु र बेपत्ता) भएका थिए ।
नेपालमा हरेक वर्ष हिमबाढी, सरकारी बेवास्ता
नेपालमा हिमबाढी नयाँ घटना होइनन् । पहिले ५० वर्ष, सय वर्षमा आउँथे । तर, पछिल्लो दशक हरेक वर्षजसो हिमबाढी दोहोरिरहेका छन् । अनि आर्थिक र गैरआर्थिक क्षति ठुलो छ । तर, बाढीको घटना सेलाएपछि सरकारी निकाय पनि वास्ता गर्द{ैनन् । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण विभागमा कार्यरत छँदा श्रीकमल द्विवेदी र योजना न्यौपानेले सेती बाढीको संयुक्त अध्ययनबाट मानवबस्ती, कार्यस्थल र पर्यटकीय स्थलमा कार्यमूलक पूर्वसूचना प्रणाली जडान गर्न सिफारिस गरेका थिए । ‘सेती बाढीको अनुभवले यस तीव्रताको ठुलो विपत्लाई रोक्न नसकिने देखाएको छ, त्यसैले मानवबस्ती र मनोरञ्जनका लागि मानिस भेला हुने स्थानमा प्रभावकारी पूर्वसूचना प्रणाली जडान गरिनुपर्छ,’ अध्ययनको सिफारिस खण्डमा भनिएको छ, ‘अन्नपूर्ण क्षेत्रबाट उद्गम हुने नदीकिनारका बस्तीहरूमा विपत् सूचना प्रवाहको सख्त आवश्यकता छ । जोखिमपूर्ण क्षेत्रहरूमा उद्धार मार्ग सार्वजनिक स्थलमा स्पष्ट देखिने गरी जोखिम नक्सा तयार पारिनुपर्छ ।’ तर, १४ वर्षको यो अवधिमा सेतीको तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गरिएको देखिँदैन ।
किन आयो हिमाललाई ज्वरो ?
हिन्दुकुश हिमालमा हिमनदी घटिरहेका छन् । हिमताल बढिरहेका छन् । हिन्दुकुश हिमाल क्षेत्रको जलवायु परिवर्तनको विश्लेषण गर्दै आएका हिमनदी एवं वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ हिमनदी घट्ने, हिमताल बढ्ने र हिउँ पग्लिने क्रम बढ्दै गएको र यसले यहाँको मात्रै नभई विश्वकै स्वास्थ्यलाई संकेत गरेको बताउँछन् । उनी भन्छन्, ‘मान्छेको नाडी छामेर शरीरलाई ठिक छ कि छैन भन्ने आकलन गरेजस्तै हिन्दुकुश हिमालयमा के भइरहेको छ भनेर यहाँको परिवर्तनले देखाउने संकेतले संसारभरिकै परिवर्तनको इन्डिकेट गर्छ । यहाँ सुरुमा प्रभाव पर्यो, अब बिस्तारै अन्त पनि प्रभाव पर्न सक्छ भन्ने देखाएको छ । हाम्रो हिमालमा जुन भइरहेको छ, अन्त पनि जलवायु परिवर्तनले प्रभाव पारेको छ । अहिले हिन्दुकुश बिरामी छ, केही गडबड छ, बिरामी छ भन्नुपर्ला ।’ यसरी हिउँ पग्लिने दर बढ्दै जाँदा कृषि, जलविद्युत्मा पनि प्रभाव पार्न सक्छ ।
सन् २०१५ मा भएको पेरिस सम्झौताले औद्योगिक युगयताको विश्वव्यापी तापक्रम वृद्धि दरलाई १.५ डिग्री सेल्सियसमा राख्ने भनेको थियो । तर, हरितगृह ग्यास उत्सर्जन, औद्योगिकीकरणका कारण लक्ष्यभन्दा नियन्त्रणबाहिर छ । तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा रोकिए पनि २१०० सम्म हिन्दकुशका एकतिहाइ हिमनदी समाप्त हुने वैज्ञानिकहरूको चेतावनी छ ।
सन् २००० पछि हिन्दुकुशमा हिमनदी र हिउँ पग्लिने दर त्यसअघिका दशकका तुलनामा दोब्बर पुगेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को हिन्दुकुश हिमाललाई असिसमेन्ट रिपोर्टमा उल्लेख छ । सन् २०१० देखि २०१९ को दशकको तथ्यांक हेर्ने हो भने त्यसअघिका दशकका तुलनामा हिमनदी ६५ प्रतिशत तीव्र रूपमा पग्लिएका छन् । १९९० देखि २०२० को अवधिमा यस क्षेत्रका हिमनदीले आफ्नो कुल क्षेत्रफलको १२ प्रतिशत र हिउँको भण्डार करिब नौ प्रतिशत गुमाइसकेका छन् ।
हिमाली क्षेत्रमा जोखिम घटाउन के गर्ने ?
जलवायु परिवर्तनका प्रभावका कारण बढेको जोखिमका प्रभाव घटाउँदै हामी बचेर यहाँ जीविकोपार्जन, विकास आदिका क्रियाकलाप गनुपर्छ । जोखिमको अध्ययन गरी सीमांकन गर्ने र सीमांकन क्षेत्रमा भू–उपयोगका योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । प्रकृतिमा आधारित उपायमा जानुपर्छ ।
जलवायु परिवर्तनका प्रभाव हुन नदिन सकभर उपाय गर्नुपर्छ । हाम्रो क्षेत्रमा तत्काललाई गर्न सक्ने ब्ल्याक कार्बनको न्यूनीकरण हो । ब्ल्याक कार्बन बढ्नुमा स्थानीय र क्षेत्रीय उत्सर्जन पनि एउटा हिस्सा छ । त्यसलाई घटाउन सकियो भने अलिकति राहत मिल्न सक्छ । यसले दीर्घकाललाई काम गर्दैन ।
यसबाहेक हामले जोखिमयुक्त हिमताल पहिचान गर्ने र पानी घटाउने गर्नुपर्छ । नेपालमा मात्र २१ जोखिमयुक्त हिमताल पहिचान भएका छन् । हानि–नोक्सानीका कुरा हामीले गरेर मात्र हुँदैन, अन्तर्राष्ट्रिय समुदायले नै गर्नुपर्छ ।
हिमालबारे विशेषगरी चीनसँग अलि बढी सहकार्य गर्नुपर्ने देखिन्छ । हिमपात चीनतर्फ छन् त्यही भएर हामीलाई चीनसँग बढी सरोकार छ । हामीले भारतलाई सूचना दिनुपर्छ भने चीनबाट हामीले प्राप्त गर्न सक्नुपर्यो ।
पूर्वाधार र जलविद्युत् आयोजनाका डिजाइनमै जलवायु जोखिम समेट्नुपर्छ
बाढीपहिरोलाई सामान्य प्राकृतिक घटनाका रूपमा मात्रै हेरेर अब जलविद्युत् तथा अन्य पूर्वाधार निर्माण गर्न सकिँदैन । जलविद्युत् आयोजना मात्र नभई नदी करिडोरमा निर्माण हुने सडक, पुल, सिँचाइ तथा अन्य संरचनामा पनि यस्तै जोखिमलाई ध्यान दिनुपर्छ ।
जलविद्युत् आयोजना निर्माणमा ‘क्लाइमेट रेजिलिएन्ट हाइड्रोपावर डिजाइन’लाई अनिवार्य विषयका रूपमा समेट्नुपर्छ । जलवायु र तापक्रम वृद्धिका विषय सम्बोधन गर्दै के–के हुन सकिन्छ भनेर समेट्नुपर्छ । विशेषगरी जलविद्युत आयोजनाका हाइड्रोलिक संरचना, सिँचाइका संरचना तथा पुलमा समान रूपमा जोखिमअनुकूल डिजाइन आवश्यक छ । नेपालका ठुला नदीमा सामान्यभन्दा ठुलो बाढी आउँदा पनि पुल टिक्ने गरी डिजाइन हुनुपर्छ । साना र ठुला पुलका लागि एउटै रिटर्न पिरियडको मापदण्ड प्रयोग हुने गरेको छ, यसमा पुनर्विचार आवश्यक छ । परियोजनाको संरचना सुरक्षित बनाउने र विपत्पछि सकेसम्म छिटो सञ्चालनमा ल्याउन सकिने उपाय डिजाइनमै समेटिनुपर्छ ।
अहिलेका घटना हामीले विगतमा परिकल्पना गरेकाभन्दा फरक प्रकृतिका हुन् । विगतमा सामान्य पहिरो, त्यसबाट नदी थुनिने र पछि ठुलो बाढी हुने अवस्थाबारे बढी चर्चा हुने गरेको थियो । तर, यसपटकको घटना त्यसभन्दा जटिल भएको छ ।
सामान्य सावधानी र डिजाइनमै गरिने सानो अतिरिक्त लगानीले ठुलो क्षति रोक्न सकिन्छ । यो घटनालाई सिकाइका रूपमा लिएर गाइडलाइन, डिजाइनमा संशोधन गर्ने र त्यसपछि माथि क्याचमेन्टमा हुन सक्ने खालका कतिपय ठाउँमा सुधार हुन्छन् । नेपालका नदी प्रणालीमा पहिरो, ड्याम र आउटबर्स्ट बाढीको जोखिम भएका धेरै क्षेत्र छन् । त्यसैले भोटेकोशीको घटना कुनै एक परियोजना वा एक नदीको मात्र समस्या होइन । मैले डिजाइन गाइडलाइनसम्बन्धी काम गर्दा सिन्धुपाल्चोकको भोटेकोशीको एउटा आयोजनाको घटनाबाट पनि महŒवपूर्ण पाठ सिकेको छु । त्यहाँको घटनामा अलिकति मात्रै प्रिकसन लिन सकेको भएदेखि त्यो लेभलको फ्लडले ड्यामेज गर्दैनथ्यो ।
जलविद्युत् आयोजनाको आम्दानी संरचना नै सञ्चालनमा आधारित हुने भएकाले संरचना क्षति भएपछि मात्र होइन, उत्पादन क्षमतामा आउने गिरावटलाई पनि आर्थिक क्षतिको रूपमा हेर्नुपर्छ । सुनकोशीमा आएको बाढीमा धेरै पुल क्षतिग्रस्त भए, ती डिजाइन कमजोरीसँग जोडिन्छन् । त्यत्तिको बाढीमा पुल जानु हुँदैनथ्यो । ठुला नदीमा ठुलो बाढी आउँदा पनि थेग्ने खालका पुल बनाउनुपर्छ ।
(जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमलाई सम्बोधन गर्ने गरी हाइड्रोपावर डिजाइन गाइडलाइन निर्माणसम्बन्धी अनुसन्धानमा संलग्न छन्)
हिमाली क्षेत्रमा टाढैबाट नदी निगरानी गर्न सकिन्छ
अहिलेसम्मको पूर्वसूचना प्रणाली नदीमा स्टाफ गेज राख्ने, पानीको सतह नाप्ने र निश्चित तहमा पुगेपछि सतर्क गराउने परम्परागत प्रणालीमा आधारित छ । त्यो बिस्तारै बग्ने सम्मुख खोलामा बढी उपयुक्त हो ।
यो प्रणाली हिमाली तथा तीव्र गतिमा बग्ने नदीका लागि पर्याप्त छैन । प्रविधिको विकाससँगै नदी, पहिरो र हिमाली क्षेत्रमा हुने जोखिमको निगरानी तथा पूर्वसूचनाको प्रणालीलाई पनि नयाँ ढंगले विकास गर्नुपर्छ । पछिल्ला वर्षमा सर्वेलेन्स क्यामेरा, दूरसञ्चार र रिमोट मोनिटरिङ प्रविधि विकास भएका छन् । टेलिकम्युनिकेसनले रियल टाइममा कहीँ पनि बसेर हेर्न सकिन्छ । हिमाली क्षेत्रमा सुरक्षित स्थानमा निगरानी उपकरण राखेर टाढैबाट हिमनदी वा जुनसुकैको अवस्था हेर्न सकिन्छ ।
स्याटेलाइट प्रविधिको चर्चा हुन्छ । एउटैमा भर पर्नुहुँदैन । जमिनमा राखिने उपकरण र अन्य प्रविधिलाई मिश्रण गरेर प्रभावकारी निगरानी प्रणाली बनाउन सकिन्छ । नेपालजस्तो देशमा हरेक हिमखण्ड, हरेक दरार र हिमनदीको प्रत्येक भाग निरन्तर निगरानी गर्न सम्भव नभए पनि मानवबस्तीभन्दा धेरै माथि निगरानी प्रणाली स्थापना गर्न सकिन्छ । देशको क्षमताले हरेक हिउँको पाटो, त्यो दरार अथवा हिमनदीको हरेक खण्ड हामीले अनुगमन गर्न सक्दैनौँ । तर, जोखिमको सम्भावित क्षेत्रमा बस्तीभन्दा माथि क्यामेरा र भाइब्रेसन सेन्सर राखेर स्वचालित निगरानी गर्न सकिन्छ । त्योभन्दा केही तल, मानवबस्तीभन्दा धेरै माथि सर्वेलेन्स क्यामरा, भाइब्रेसन सेन्सरहरू राखेर त्यसलाई अटोमेटाइज गर्न सकिन्छ । अहिले प्रविधिहरू एकदमै पावरफुल आएका छन् ।
एसएमएस मात्रै होइन, सेल ब्रोडकास्टिङ र साइरन आवश्यक
फेसबुक वा सामान्य एसएमएस पठाएर मात्रै विपत्को सूचना प्रभावकारी रूपमा पुर्याउन सकिँदैन । उन्नत प्रविधि लागू गर्नुपर्यो । मोबाइलमा ‘सेल ब्रोडकास्टिङ’ प्रणाली प्रयोग गर्न सकिन्छ, जसले सामान्य एसएमएसभन्दा फरक ढंगले प्रयोगकर्ताको ध्यान तान्छ ।
सेल ब्रोडकास्टिङ भनेको सूचना सिधै मोबाइल स्क्रिनमा आउँछ, ब्यालेन्स नभएको फोनमा पनि आउँछ । यस्तो प्रणालीमा आवाज र भाइब्रेसनसहितको अलार्म आउने भएकाले मानिसले बेवास्ता गर्न सक्दैनन् । यसमा पिकुलियर साउन्डसहितको अलार्म आउँछ, भाइब्रेसन आउँछ । अनि तपाईंको फोन सेट अन छ भने ब्यालेन्स नभए पनि स्क्रिनमै देखिने गरेर मेसेज आउँछ । त्यो नेपालीमा पनि लेख्न सकिन्छ, अंग्रेजीमा पनि लेख्न सकिन्छ । विदेशी नागरिकलाई समेत सूचना पुर्याउन रोमिङ आवश्यक नपर्ने गरी प्रणाली विकास गर्न सकिन्छ ।
बाढीको आवाज र कम्पन पनि पूर्वसूचनाको आधार बन्न सक्छ
भोटेकोशी बाढीले नदी, पहिरो र जमिनको कम्पनलाई समेत पूर्वसूचना प्रणालीमा जोड्न सकिने सम्भावना देखाएको छ । लाङटाङमा हिमपहिरो गएपछि ठुलो भाइब्रेसन आयो, जसलाई अब सर्फेस भाइब्रेसन, भूकम्पजस्तो ठानेर रेकर्ड गर्यो । ठुलो पहिरो जाँदा वा नदीमा असामान्य घटना हुँदा जमिनमा ठुलो कम्पन उत्पन्न हुने भएकाले त्यसलाई छुट्टै संकेतका रूपमा प्रयोग गर्न सकिन्छ ।
मानिसले आवाजलाई सामान्य रूपमा सीमित श्रेणीमा मात्रै बुझ्न सक्ने भए पनि कम्प्युटरले आवाज र कम्पनलाई धेरै तहमा विश्लेषण गर्न सक्छ । हाम्रो आवाजलाई उसले कति धेरै, उसमा चर्को, मसिनो सबै स्केलिङ गर्न सक्छ । त्यस्तै, अहिले सामान्य तवरले नदी बग्दाखेरि हुने र ठुलो बाढी आउँदा हुने फरक पर्छ । त्यसैले भाइब्रेसन, अडियो र भिजुअल प्रणालीलाई एकीकृत गरेर जमिनमै आधारित पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ ।
(समुदायकेन्द्रित जलवायु परिवर्तन अनुकूलन, बाढीपहिरोका लागि पूर्वसूचना प्रणाली विकासको अनुसन्धानमा सक्रिय)