मंगलबारका खेलमा पनि नेपालको कमजोर सुरुवात

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

२०औँ एसियाली खेलकुदमा नेपालले आज कबड्डी, बक्सिङ, पौडी, कराँतेमा प्रतिस्पर्धा गर्दै छ । मंगलबार टोक्यो, नागोया–आइचीमा  बिहान केही खेल सम्पन्न हुँदै छन् भने केही हुने चरणमा छन्। 

कबड्डी
कबड्डीमा  पुरुषतर्फको खेलमा नेपाल लगातार दोस्रो हार व्यहोर्न पुग्यो । टोकाई सिटिजन जिम्नेसियममा भएको समूह ‘बी’को खेलमा नेपाल पाकिस्तानसँग ५८–४३ ले पराजित भयो । पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि परेको हो । नेपालले रेड र ट्याकलबाट २८, बोनसबाट ११, अलआउट र सुपर ट्याकलबाट समान दुई अंक जोड्यो । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । नेपालले आजै इरानसँग खेल्नेछ ।

बक्सिङ 
आजै बक्सिङकाे ५१ केजी प्रतिस्पर्धामा नेपालकी रमिशा श्रेष्ठ भियतनामकी एनगुएन थी टामसँग ५–० ले पराजित भइन् । नागोयाको निशो जिम्यानिउममा रमिशा सहजै पराजित भएकी थिइन् । आजै चन्द्रबहादुर थापाले सोही स्थानमा भारतका मन्देन्गबाम जादुमानी सिंहसँग ५५ केजीमा प्रतिस्पर्धा गर्दै छन् । अब बक्सिङमा रवीन नेपाल (९० केजी), खगेन्द्र रोकामगर (६० केजी), चन्द्रबहादुर थापा (५५ केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी)ले प्रतिस्पर्धा गर्न बाँकी छ ।

पौडी
महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै आउट भइन् । मंगलबार टोक्यो एक्वाटिक सेन्टरमा भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । ३५ खेलाडी सहभागी स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् । 

यसअघि सोमबार आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७औँ स्थानमा रहेकी थिइन् । सोमबार डुबाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए । अब एसियाड २०२६ मा पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुबानाले १०० मिटर ब्रेस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाई तथा जादेनले ५० मिटर ब्रेस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

कराँते काता
कराँते कातामा नेपाल एसियाली खेलकुदमा पदकविहीन भएकाे छ । मंगलबार तोयोहासी जिम्नाजियमको काताको कांस्य पदकका लागि भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग ५–० ले पराजित भयो । त्यसअघि क्वार्टरफाइनलमा पनि नेपाल भियतनामसँग ५–० ले नै पराजित भएको थियो । सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बूले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए । यसअघि एकल कातामा सानुमाया कोरियन खेलाडी चोई हेउनसँग ५–० ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

उसु
७५ केजीमुनि आज नेपालका सञ्जीव महर्जनले कजाखस्तानका अब्दुलायेभ अब्दुरासिहदसँग प्रतिस्पर्धा गर्दै छन् । आइची प्रेफेन्चर मार्टसआर्ट हलमा हुने क्वार्टरफाइनल खेल स्थानीय समयअनुसार राति १०:३० बजे सुरु हुनेछ । 

सुझावित समाचार