- फ्लाई दुबईमार्फत आउने वा जाने पर्यटक कम्तीमा एक रात पोखरामा बस्ने गरेका छन्, पर्यटक ल्याउने मात्र होइन, आगामी दिनमा कार्यतालिका बनाएर दुबई जाने योजनामा छन् पोखराका व्यवसायी
७ असोजबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित उडान थालेपछि व्यवसायी उत्साहित भएका छन् । पोखरा विमानस्थल सञ्चालनमा आएको ४५ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।
पोखराका मेयर धनराज आचार्यले लामो समयको पहल, प्रयास र निरन्तर संवादपछि उडान सुरु भएकाले दीर्घकालसम्म नियमित हुनुपर्ने बताए । उडान सुरुसँगै पोखरालाई थप चलायमान बनाउने काम गरेकाले समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर रहेको बताए । उडानले पोखरालाई दुबई हुँदै विश्वका विभिन्न अन्तर्राष्ट्रिय सहरमा एउटै टिकटमार्फत यात्रा गर्न र फर्किन सकिने सुविधा उपलब्ध गराएकाले देश–विदेशमा रहेका सबै नेपाली तथा भ्रमणका लागि आउने विदेशी पर्यटकलाई पोखरा विमानस्थल प्रयोग गर्ने दर बढाउनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले एउटा मात्रै अन्तर्राष्ट्रिय उडानले पनि पोखरामा चहलपहल बढाएको बताए । उडानपछि थपिएको चहलपहलले पोखरा र आसपासका क्षेत्रलाई तताउने कामसमेत गरेको उनको भनाइ छ । उडानमार्फत करिब तीन सय विदेशी पर्यटक पोखरा आएकाले व्यापार बढेको, थप रोजगारीका अवसर सिर्जना भएको र आर्थिक क्षेत्रलाई चलायमान बनाउने काम गरेको उनले बताए ।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन व्यवसायीको लामो पहललाई उडानले सार्थक बनाउने काम गरेको बताए । ‘यो उडान मात्र नभएर पोखराका लागि अवसर रहेकाले उडानमार्फत आउने संख्या राम्रो छ,’ उनले भने, ‘उडान हुनु भनेको स्वदेशी, विदेशी पर्यटक आउनु हो, यसले समग्रमा सम्पूर्ण पर्यटन व्यवसायीसँगै यातायात व्यवसायी र अन्य सरोकारवालालाई फाइदा पुगेको छ ।’ उडानले आर्थिक रूपमा राम्रो छनक देखाएकाले आगामी दिनमा दिगो बनाउन सबै पक्ष एक भएर अघि बढ्न आवश्यक रहेको उनले बताए । पोखरामा पर्यटक ल्याउने मात्र होइन, पालो मिलाएर पोखराका पर्यटन व्यवसायीसमेत दुबई जाने गरी योजना बनाएको उनले सुनाए ।
पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले झट्ट हेर्दा पर्यटन क्षेत्रलाई मात्र फाइदा भएको देखिए पनि समग्रमा सम्पूर्ण व्यापार–व्यवसायलाई फाइदा पुगेको बताइन् । ‘पर्यटन क्षेत्र मात्र नभएर कपडा पसलदेखि साना चिया पसलमा समेत यसले फाइदा पुगेको छ,’ उनले भनिन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकीका अध्यक्ष संगीता पौडेलले फ्लाई दुबईको उडानयता व्यवसायले राम्रो पिक अप लिएको बताइन् । उडानका कारण संसारका दुई सय ५० देशसँग पोखरा सिधै जोडिएकाले पोखरालाई चलायमान बनाएको उनले बताइन् । ११ जिल्लामा उडानको प्रवर्द्धन गर्ने गरी पर्यटन व्यवसायीले प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्ने तयारी भइरहेको उनले सुनाइन् । फ्लाई दुबईको उडानबाट आउने अधिकांश पर्यटक कम्तीमा पनि एक रात पोखरा बसेकाले समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाएको उनले बताइन् । पर्यटकलाई लक्षित गरी व्यवसायीले १० देखि २५ प्रतिशतसम्म छुट प्याकेज लागू गरिरहेका छन् ।
यसो भन्छन् सरोकारवाला
धनराज आचार्य, मेयर, पोखरा
लामो समयको पहल, प्रयास र निरन्तर संवादपछि उडान सुरु भएकाले दीर्घकालसम्म नियमित बनाउनुपर्छ । उडान सुरुसँगै पोखरालाई थप चलायमान बनाउने काम गरेकाले समग्र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर हो । उडानले पोखरालाई दुबई हुँदै विश्वका विभिन्न अन्तर्राष्ट्रिय सहरमा एउटै टिकटमार्फत यात्रा गर्न र फर्किन सकिने सुविधा उपलब्ध गराएकाले देश–विदेशमा रहेका सबै नेपाली तथा भ्रमणका लागि आउने विदेशी पर्यटकलाई पोखरा विमानस्थल प्रयोग गर्ने दर बढाउनुपर्छ ।
लक्ष्मण सुवेदी, अध्यक्ष, होटेल संघ, पोखरा
पर्यटन व्यवसायीको लामो पहललाई उडानले सार्थक बनाउने काम गरेको छ । यो उडान मात्र नभएर पोखराका लागि अवसर रहेकाले उडानमार्फत आउने संख्या राम्रो छ । उडान हुनु भनेको स्वदेशी, विदेशी पर्यटक आउनु हो, यसले समग्रमा सम्पूर्ण पर्यटन व्यवसायीसँगै यातायात व्यवसायी र अन्य सरोकारवालालाई फाइदा पुगेको छ । उडानले आर्थिक रूपमा राम्रो छनक देखाएकाले आगामी दिनमा दिगो बनाउन सबै पक्ष एक भएर अघि बढ्न आवश्यक रहेको छ ।
एक सातामा नौ सय आए, ६ सय गए
फ्लाई दुबईले एक सय ६६ सिटे बोइङ ७३७ म्याक्स विमानमार्फत दैनिक उडान गरिरहेको छ । पहिलो दिनको उडानमा दुबईबाट एक सय सातजना लिएर आउँदा पोखराबाट एक सय ५१ जना लिएर गएको थियो । बिहीबारसम्म नौ सयभन्दा बढी यात्रु दुबईबाट ल्याएको र करिब ६ सय यात्रु पोखराबाट लिएर गएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । फ्लाई दुबईमा १५ प्रतिशत विदेशी र ८५ प्रतिशत नेपाली नागरिकले उडान गर्ने गरेका छन् । गत जेठमा फ्लाइ दुबईले पोखराबाट उडान गर्ने अनुमति पाएको थियो । सुरुमा एक महिना (२३ असोजदेखि ७ कात्तिकसम्म)का लागि अनुमति लिए पनि कम्पनीले ६ महिनासम्मका लागि टिकट बुकिङ जारी गरेको छ । जसकारण प्राधिकरणबाट नियमित उडानको अनुमति पाउने सम्भावना बलियो छ । पोखरा–दुबईबिचको हवाई दूरी करिब पाँच घण्टा रहेको छ ।