महिलाले सञ्चालन गरेकोअब्बल सहकारी

शनिबार, १७ असोज, २०८३
प्रिन्ट संस्करण

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका–३, जमदह गाउँ । उदयपुर जिल्लाको कटारीसँग जोडिएको चुरे जंगल काखको गाउँका निम्न र निम्नमध्यम आर्थिक अवस्थाका सीमान्तकृत समुदायका महिलाको करिब तीन दशकअघिसम्म आफ्नै सीमितता र बाध्यता थिए । आफ्नो हातमा सिप र जाँगर भए पनि आर्थिक स्रोतको अभाव झेल्दै आएका थिए । त्यही अप्ठ्यारो छिचोल्दै २०५५ साल असारमा जमदह र तेतरिया गाउँका ३८ जना महिलाले २३ हजार रुपैयाँ जम्मा गरेर ‘कोपिला महिला बचत तथा ऋण सहकारी संस्था’ खोले । अहिले २८ वर्षको अवधिमा कोषको आकार वृद्धि मात्र गरेको छैन, एक हजार पाँच सयभन्दा बढी महिलालाई सहकारीको सञ्जालमा आबद्ध गरेर आर्थिक उपार्जनको काममा समेत जोडेको छ ।

सशस्त्र द्वन्द्वका वेला गाउँघरमा सानातिना भेला, छलफल गर्न पनि त्यति सहज थिएन । सहकारीको जन्मदेखि अहिलेसम्म नेतृत्व गर्दै आएकी अध्यक्ष ७७ वर्षीया भगवती पाख्रिन भन्छिन्, ‘शिक्षा, रोजगारी र अवसरमा पछाडि पारिएका ग्रामीण महिलालाई संगठित गर्दै सहकारीमार्फत आर्थिक सशक्तीकरणको अभियानमा जोड्नु पक्कै सजिलो थिएन ।’ त्यतिवेला गाउँका केही अगुवा महिलाले जनही पाँच सय रुपैयाँ सेयर पुँजी संकलन गरी संस्था खडा गरेका थिए ।

‘सहकारीले २८ वर्षको अवधिमा स्थानीय उत्पादन, कृषि, पशुपालन, खुद्रा तथा साना व्यापारमा सदस्य महिलालाई जोडेर नियमित बचत, ऋण, आयआर्जनसँगै स्थानीय आर्थिक समृद्धिको अभियान नगरपालिकाको चार वडासम्म विस्तार गरेको छ,’ अध्यक्ष पाख्रिनले भनिन् । ‘लैंगिक विभेद, आर्थिक परनिर्भरतामा बाँचिरहेका महिलाको आर्थिक सशक्तीकरण र निर्णयमा सहभागिता बढाउनु पक्कै सजिलो थिएन,’ उनले भनिन् । 

नियमित बचत, आर्थिक समृद्धिको यात्रा 
सानातिना आर्थिक उपार्जनमा महिलाको सहभागिता भए पनि खर्च गर्न भने प्रायः पुरुषको नियन्त्रण रहेको समाजमा महिलाले नियमित बचत गर्नु त्यति सजिलो नभएको सहकारीकी कोषाध्यक्ष प्रमिला थापा मगरले सुनाइन् । वैदेशिक रोजगारीका लागि एकाध लाख रुपैयाँ जरुरी हुँदा स्थानीय साहु–महाजनबाट चर्को ब्याजमा ऋण लिन बाध्य महिला पछिल्लो समय आफ्नै सहकारीबाट दुई लाख रुपैयाँसम्म चलाउन सक्ने भएको सहकारीकी व्यवस्थापक प्रज्ञा पुलामी मगरले बताइन् । उनका अनुसार ७ असोजसम्मको अद्यावधिक तथ्यांकअनुसार सहकारीको सेयर पुँजी एक करोड २१ लाख १४ हजार २७६ रुपैयाँ पुगेको छ ।

nullबढ्दो महिला सहभागिता 
सहकारीको कारण ग्रामीण क्षेत्रका महिलाको सामाजिक सहभागिता पनि क्रमशः बढ्दै गएको गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाले सुनाए । ‘पुरुषहरूको नेतृत्वमा रहेको सहकारी जोखिममा परेको घटना सार्वजनिक भइरहेका वेला ग्रामीण क्षेत्रका महिलाको नेतृत्वमा सञ्चालित सहकारीले करिब तीन दशकको यात्रा पार गर्नु महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरण हो,’ उनले भने, ‘थोरै पुँजीबाट महिलाको नेतृत्वमा खोलिएको सहकारी करिब तीन दशकसम्म निरन्तर नाफामा रहनु चानचुने कुरा होइन ।’

अध्यक्ष लामाका अनुसार आर्थिक रूपले प्रायः पुरुषमा निर्भर रहने ग्रामीण क्षेत्रका महिलामा थोरै भए पनि जोगाएर नियमित बचत गर्ने बानीको विकास, थोरै पुँजीमा सञ्चालन गर्न सकिने साना व्यवसायमार्फत आयआर्जन गरी आर्थिक रूपले आत्मनिर्भर बन्न सहकारीले सघाएको मात्र छैन, घरपरिवारको आर्थिक निर्णयमा महिलाको सहभागितासमेत बढाएको छ ।

महिलाको नेतृत्वमा अब्बल सहकारी
गोलबजार नगरपालिकाको नगर प्रोफाइलअनुसार नगर क्षेत्रमा क्रियाशील ३१ सहकारीमध्ये महिलाले चलाएका दुई बचत तथा ऋण सहकारी संस्था मात्र छन् । विभिन्न जिल्लामा सहकारी सञ्चालकबाट ठगिएको, सञ्चालकहरू फरार भएका घटना सार्वजनिक भइरहँदा ग्रामीण भेगका महिलाले चलाएको सहकारी निरन्तर चल्नुमा महिलाको अनुशासन, लगनशीलता र मिहिनेत मुख्य कारण रहेको जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. सिरहाले जनाएको छ । संघका जिल्ला कार्यालय व्यवस्थापक शिवदयाल महतोका अनुसार महिलाको नेतृत्वमा सहकारी नियमित रूपले चलिरहेका छन् । उनले भने, ‘त्यसो हुनुमा महिलाको इमान्दारिता र लगनशीलता मुख्य कारण हो ।’ प्रारम्भिक चरणमा बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लास्थित इन्द्रेणी सेवा समाज, भवानी एकीकृत विकास केन्द्र, सिर्जना सामुदायिक विकास केन्द्र, जनज्योति युवा क्लबजस्ता सामाजिक संस्थाको सहजीकरणमा ग्रामीण महिलाका लागि चलाइएको प्रौढ साक्षरता कक्षा र मासिक रूपमा एक रुपैयाँ बचत गर्ने बानीको विकास नै महिला सहकारी जन्मको पहिलो आधार रहेको उनले सुनाए । 

‘मासिक रूपमा पाँच रुपैयाँ भए पनि बचत गरी संस्थाले नै बिउपुँजीका लागि पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो,’ उनले भने, ‘त्यही रकम परिचालन गरी सानातिना आयआर्जनसम्बन्धी काम गरिरहेका ग्रामीण महिला समूह मर्ज गरेर तत्कालीन गाविस तहको सहकारीमा रूपान्तरण गरिएको हो ।’ उनका अनुसार त्यसरी जन्मिएका महिला सहकारीमध्ये जिल्लामा पछिल्लो समय कोपिला, बुद्ध, देवीजस्ता महिला बचत तथा ऋण सहकारी संस्था अब्बल मानिन्छन्, जसले वार्षिक करोडौँको आर्थिक कारोबार मात्र गरेका छैनन्, महिलालाई आर्थिक रूपमा सशक्त पनि बनाइरहेका छन् । 

सहकारीकी सेयर सदस्यसमेत रहेकी गोलबजार–३ जमदहकी संगीता लामाको अनुभवमा आफूहरूले सहकारी सञ्चालन थालेदेखि दैनिक घर व्यवहारको काममा चाहिने थोरैतिनो रकम खोज्न भौतारिनुपर्ने बाध्यता अन्त्य भएको छ । ‘विगतमा दुई–चार हजार रुपैयाँका लागि पनि गाउँघरमा ऋण सापटी खोज्न दौडिनुपर्थ्यो,’ उनले भनिन्, ‘अहिले दुई लाख रुपैयाँसम्म सहकारीले नै उपलब्ध गराउँछ ।’ सहकारीबाट लिएको ऋणले बाख्रापालन गरेको सुनाउँदै उनले त्यही बाख्राले ब्याएको पाठापाठी बेचेर घरखर्च, छोराछोरीको पढाइ खर्चसँगै नियमित रूपमा बचत र ऋणको सावाँ–ब्याज पनि तिरिरहेको बताइन् । 

सुझावित समाचार