भोटेकोशीले तहसनहस पारेको सडक सञ्जाल पुनर्निर्माणमा बेलिब्रिज अभाव, करिब ६० बेलिब्रिज आवश्यक पर्ने अनुमान

सडक विभागसँग ८ र सेनासँग १ बेलिब्रिज, दाताले दिने प्रतिबद्धता गरे तर पठाएनन्, ५० मिटरका ७ र ७० मिटरका २ बेलिब्रिज किन्न टेन्डर आह्वान

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण
भोटेकोशीले तहसनहस पारेको सडक सञ्जाल पुनर्निर्माणमा बेलिब्रिज अभाव, करिब ६० बेलिब्रिज आवश्यक पर्ने अनुमान

देवीघाटमा जडान गरिएको बेलिब्रिज । यो पुल २५ भदौदेखि सञ्चालनमा आएको थियो । १०–१२ दिनभित्र सञ्चालनमा ल्याउने गरी शुक्रबारदेखि वेत्रावतीमा पनि बेलिब्रिज जडान सुरु भएको छ । त्यसपछि रसुवा केन्द्रीय सडक सञ्जालमा जोडिनेछ ।

  • भारतले सहयोग गरेको ७० मिटर लम्बाइको बेलिब्रिज त्रिशूलीबजारमा जडान गरिने, थप २२ बेलिब्रिज पठाउने भारतको प्रतिबद्धता
  • चीनले १०० मिटरका दुई बेलिब्रिज पठाएको छ, जुन कोरोला नाका आइपुगेका छन् । तर, यी पुल प्रयोगमा ल्याउन बिचमा ‘सपोर्ट’ आवश्यक पर्ने हुनाले भोटेकोशी/त्रिशूली करिडोरमा तत्काल प्रयोग गर्न नसकिने देखिन्छ । चीनले पनि थप बेलिब्रिज पठाउने जनाएको छ ।
  • सेनासँग रहेको एउटा बेलिब्रिज स्याफ्रुबेँसीमा प्रयोग गरिने, रसुवागढी नाकासम्म सडक खुलाउन तत्काल ७० मिटरमाथिका ६ बेलिब्रिज चाहिने


गत १० भदौमा ल्हेन्दे तथा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ध्वस्त बनाएको सडक सञ्जाल पुनर्स्थापना गर्न बेलिब्रिज अभाव देखिएको छ । 

पुल बगाएका क्षेत्रमा ६० बेलिब्रिज आवश्यक पर्ने भए पनि सडक विभागसँग आठ र नेपाली सेनासँग एउटा गरी नौवटा बेलीब्रिज मात्र उपलब्ध छन् ।

धुन्चे र पश्चिम रसुवातर्फ सडक सम्पर्क पुनर्स्थापित गर्ने काम अघि बढे पनि स्याफ्रुबेँसीभन्दा माथि रसुवागढी र टिमुरे नाकासम्म तत्कालै केन्द्रीय सडक सञ्जाल जोडिने अवस्था छैन । बाढीले क्षति पुर्याएको उक्त क्षेत्रमा सडक संरचना पुनर्निर्माणसँगै पुलको अभाव मुख्य चुनौती बनेको छ । 

सरकारी अधिकारीहरूका अनुसार स्याफ्रुबेँसीबाहेक टिमुरेस्थित चिनियाँ नाकासम्म पुग्न ६ ठाउँमा पुल राख्नुपर्ने देखिएको छ । बाढीले त्यो खण्डमा भएको ६ वटा पुल बगाएको छ । त्यसअनुसार टिमुरे नाकासम्म सडक खुलाउन नयाँ ट्र्याक निर्माणसँगै मितेरी, रोंगा, रोंगा चिलिमे, फेलुङ, कुलुङ र घट्टेखोलामा पुल राख्नुपर्नेछ ।

अहिले स्याफ्रुबेसीमा जडान गर्न मिल्ने ७३ मिटरको बेलीब्रिज छ । बाँकी भने लम्बाइअनुसारका बेलीब्रिज नभएको सडक विभागको एक अधिकारीले बताए । अहिले विभागसँग ८ र सेनासँग १ बेलीबृज स्टक छन् । ‘स्याफ्रुबेसीमा राख्नेबाहेक सडक विभागसँग ५० र १०० मिटरका पुल छन्,’ ती अधिकारीले भने ।

केही समयअघि विदेशी दाताले नेपाललाई बेलिब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए । तर, हालसम्म भारतले एक र चीनबाट दुईवटा मात्रै बेलिब्रिज प्राप्त भएका छन् । तीबाहेक थप बेलिब्रिज आइनपुगेकाले बाढीले क्षति पुर्याएको सडक पुनः सञ्चालनमा चुनौती देखिएको छ ।

चीनले सय मिटर लम्बाइका दुईवटा बेलिब्रिज पठाए पनि त्रिशूली करिडोरमा ती पुल तत्काल प्रयोगमा नआउने सडक विभागका एक अधिकारीले बताए । उनका अनुसार भारतले पठाएका बेलिब्रिज भने प्रयोग गर्न सकिने अवस्थामा छन् ।

चीनले थप बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतले पनि थप २२ वटा बेलिब्रिज पठाउने बताएको छ । स्रोतका अनुसार भारतले बेलिब्रिज निर्माणका लागि आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै ढिलाइ भएको जानकारी दिएको छ ।

सडक विभाग आफैँ पनि थप बेलिब्रिज किन्ने योजनामा छ । विभागको पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार ५० मिटरको सात र ७० मिटरको दुई गरेर नौ बेलिब्रिज किन्ने गरी टेन्डर आह्वान गरिएको छ । थप विश्व बैंकको सहयोगअन्तर्गतका थप बेलिब्रिज किन्न प्रक्रिया अघि बढाउने तयारी भएको पनि उनले बताए । 

१० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवागढीदेखि मलेखुसम्म ४१ वटा मोटरेबल पुल बगाएको थियो । मुख्यतः चिनियाँ नाकासँग जोडिने गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकका अधिकांश पुल बाढीले क्षतिग्रस्त भएका छन् । यसबाहेक आसपासका अन्य सडकका पुलमा समेत ठुलो क्षति पुगेको छ ।

सडक विभागको तथ्यांकअनुसार रसुवामा मात्रै २२ वटा मोटरेबल पुल बगेका छन् । तीमध्ये रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलसमेत छ । रसुवा र नुवाकोट जोड्ने तीनवटा पुल पनि बाढीले बगाएको छ । नुवाकोटमा मात्रै १२ वटा पुलमा क्षति पुगेको छ भने धादिङमा चारवटा पुल बगेका छन् ।

तथ्यांकअनुसार रसुवागढी नाकादेखि मुग्लिनसम्मका ६३ मोटरेबल पुलमध्ये ४१ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । थप चारवटा पुलमा क्षति पुगे पनि मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छन् । बाढीले नदीकिनारका बस्ती, सडक, अन्य पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत ठुलो क्षति पुर्याएको थियो ।

ठुलो संख्यामा मोटरेबल पुल बगे पनि सरकारले तत्कालका लागि नुवाकोटको देवीघाटमा मात्रै बेलिब्रिज जडान गरेको छ । सडक विभागको प्राविधिक सहयोगमा नेपाली सेनाले जडान गरेको उक्त बेलिब्रिज २५ भदौदेखि सञ्चालनमा छ ।

देवीघाटमा बेलिब्रिज जडान भएपछि त्यसबाट वेत्रावतीसम्म सडक सम्पर्क स्थापित गर्न सहज भएको थियो । बिहीबार वेत्रावतीसम्म सडकको ट्र्याक खुलेपछि अब त्यहाँ पनि बेलिब्रिज जडान गर्ने तयारी भएको छ । त्यसपछि सडकलाई थप अगाडि बढाउँदै तेस्रो चरणमा स्याफ्रुबेँसीमा बेलिब्रिज राख्ने विभागको योजना छ ।

बाढीबाट क्षतिग्रस्त सडक र पुल तत्काल सञ्चालनमा ल्याउन ठुलो संख्यामा बेलिब्रिज आवश्यक पर्ने विभागको प्रारम्भिक आकलन छ । विभागका अनुसार करिब ६० वटा बेलिब्रिज आवश्यक पर्ने अनुमान गरिएको छ ।

सडक विभागको प्रारम्भिक आकलनअनुसार बाढीले पुलतर्फ मात्रै करिब १५ अर्ब रुपैयाँको क्षति पुर्याएको छ । सडक र पुल दुवैको पुनर्निर्माणमा करिब ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सडक विभागले बाढी प्रभावित क्षेत्रमा बेलिब्रिजलाई तत्कालीन समाधानका रूपमा प्रयोग गर्ने जनाएको छ । बेलिब्रिज जडान गरेर यातायात तत्काल सञ्चालनमा ल्याउने र त्यससँगै स्थायी पुल निर्माणको काम अघि बढाउने विभागको योजना छ । 
 

सुझावित समाचार