‘सेल्टिक गठबन्धन’ले गर्न सक्छ बेलायतको विघटन

सेल्टिक गठबन्धन स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका राष्ट्रवादी तथा पृथकतावादी नेताहरूको सहकार्यमा गठित एक ऐतिहासिक राजनीतिक अभियान हो

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

गत सेप्टेम्बर १४ को घटनाक्रम ब्रिटिस राजनीतिका लागि एक ऐतिहासिक रह्यो । उक्त दिन बेलायतका चारमध्ये तीन राष्ट्रले संयुक्त रूपमा अलग हुने (वा संघ तोड्ने) विषयमा मतदान गर्ने स्वतन्त्रताको माग गरे । यस्तो पहिले कहिल्यै भएको थिएन । यस घटनाले स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले इंग्ल्यान्डप्रतिको विश्वास गुमाएको देखाउँछ । वेल्सको राजधानी कार्डिफमा भएको भेटघाटपछि तीन नेताले एक घोषणापत्र जारी गर्दै भने– वेस्टमिन्स्टरस्थित युनियनवादी’
(एकतापक्षधर) सरकारको ‘अन्त्य हुँदै छ ।

इतिहास हेर्ने हो भने तीन सेल्टिक राज्यले कहिल्यै पनि न त एडवर्ड प्रथमविरुद्ध, न क्रोमवेलविरुद्ध यस्तो कुनै ‘सेल्टिक गठबन्धन’ घोषणा गरेका थिए । न त ब्रिटिस संसद्मा कहिल्यै सेल्टिक क्षेत्रका सांसदले कहिल्यै गठबन्धन गरेको देखिएको थियो । विगतमा भिक्टोरियन लिबरल पार्टीले ‘सबैका लागि स्वराज्य (‘होम रुल’)को माग गरेको थियो, तर त्यो पनि एकताकै माग थियो, स्वतन्त्रता थिएन । 

विगतमा आयरल्यान्डले विद्रोह गरेको थियो तर त्यसमा ऊ एक्लै थियो । सन् १९२२ मा आइरिस टापुको एक हिस्सा स्वतन्त्र हुँदा, बेलायतले ‘एउटा झन्झटबाट पार पाएको’ भनेको थियो । उसले टापुको उत्तरी भेगमा आफ्नो पकड कायम राख्दै लन्डनमा शक्ति केन्द्रित गरिरह्यो । यस पृष्ठभूमिमा पछिल्लोपटक तीन सेल्टिक राज्यको गठबन्धन आफैमा गम्भीर विषय हो । तैपनि, यो साता लन्डनको राजनीतिले यो घोषणालाई कुनै सामान्य घटनाका रूपमा लियो ।

१४ सेप्टेम्बरमा संयुक्त अधिराज्यका चारमध्ये तीन राष्ट्रले संयुक्त रूपमा अलग हुने विषयमा मतदान गर्न पाउने स्वतन्त्रताको माग गरे । योे प्रक्रियाले अन्ततः बेलायत टुक्र्याउन सक्छ । 

बेलायतमा भौगोलिक रूपमा शक्ति विकेन्द्रीकरणको प्रयास सन् १९९९ मा भएको थियो । त्यति वेला पनि सबै अधिकार हस्तान्तरण गरिएन, खासमा त्यस समय मुख्यतया कल्याणकारी राज्यको सञ्चालन मात्र विकेन्द्रीकृत गरिएको थियो । तथापि, त्यस कदमले स्कटल्यान्ड र वेल्समा पृथकतावादको प्रभाव बढाउन सघायो । अर्थात्, स्वतन्त्रताको मुद्दा मत्थर हुनुको साटो थप बलियो बन्यो । 

यदि बभिया (जर्मनी), प्रोभेन्स (फ्रान्स) वा सिसिली (इटली) का सत्तारुढ दलले अहिले वेल्स, स्कटल्यान्ड र नर्दन आयरल्यान्डका सत्तारुढ दलका नेताले देशबाट स्वतन्त्र हुने निर्णय गरेको भए वा अमेरिकाको क्यालिफोर्निया राज्यले अमेरिकाबाट वाक्क भएर अलग हुने घोषणा गरेको भए अहिले सामान्य रूपमा लिन्थ्यो होला ? निश्चित रूपमा त्यस्तो घोषणाले ती देशमा राजनीतिक विस्फोट हुने थियो ।

कार्डिफको ‘समझदारी पत्र’को वास्तविक अर्थ के हो ? वृहत रूपमा हेर्दा त्यस्तो खासै केही भेटिदैन । त्यहाँ बाल हेरचाह र आर्थिक वृद्धिजस्ता विषयमा नीतिगत सहकार्य बढाउने भनिएको छ । त्यस्तै प्रधानमन्त्री एन्डी बर्नमले वाचा गरेजस्तै थप ‘अधिकार हस्तान्तरण’मा जाने संकेत पनि त्यहाँ भेटिन्छ । ब्रिटिश एकतावादीहरूले चिन्ता गरेजस्तो अहिले नै कुनै नयाँ सेल्टिक राज्य निर्माणको प्रस्ताव गरिएको छैन । वार्ता मुख्यतः आत्मनिर्णयको अधिकारमा केन्द्रित देखिन्छ, जसलाई प्रधानमन्त्री बर्नमले अस्वीकार्य भनेका छन् । 

वास्तवमा संयुक्त अधिराज्यका यी तीन राष्ट्रको इंग्ल्यान्डसँगको सम्बन्ध स्पष्ट रूपमा भिन्न–भिन्न चरित्रको छ । विगतमा कटुतापुर्ण रहेको क्याथोलिक तथा प्रोटेस्टेन्ट समुदायबिचको सम्बन्धमा बिस्तारै सुधार आएसँगै दुई पक्षबिच पुनः एकीकरणको पक्षमा बहुमतको सम्भावना पनि बलियो हुँदै गएको छ । उत्तरी आयरल्यान्डमा एकीकरणको पक्षमा अहिले करिब एकतिहाइ जनसमर्थन छ । आइरिस आत्मनिर्णयको अधिकार प्रधानमन्त्री बर्नमले दिने नभई उत्तरी आयरल्यान्डको संविधानमै लिपिबद्ध छ । पर्यवेक्षक भने दुई आयरल्यान्डबिचको एकीकरण अवश्यंभावी रहेकाले यो भएरै छाड्ने बताउँछन् । 

वेल्समा पनि ३५ वर्षभन्दा कम उमेरका मानिसमाझ स्वतन्त्रताको पक्षमा बहुमत रहेकोजस्तो देखिन्छ । तर, सन् १९९७ मा सामान्य अधिकार हस्तान्तरणको पक्षमा झिनो बहुमत थियो । पूरै जनसंख्यामाझ हेर्ने हो भने स्वतन्त्रताको समर्थन हाल ३२ प्रतिशतको हाराहारीमा छ । विशेषतः कमजोर आर्थिक अवस्थालाई लन्डनको केन्द्रीय कोषले सहयोग गर्नुपर्ने अवस्थाका लागि उनीहरू एक रहिरनुपर्ने आवश्यकता देख्न सक्छन् । यस्तो अवस्थामा वेल्सको स्वतन्त्रता सुदूर कल्पनाजस्तो मात्र देखिन्छ । 

स्कटल्यान्डमा स्वतन्त्रताको मुद्दा केही दशकदेखि निक्कै बलियो बन्दै गएको छ । ५५ लाख जनसंख्या भएको यो अलग भयो भने डेनमार्क, नर्वे, फिनल्यान्ड, अस्ट्रिया र स्विट्जरल्यान्डजस्ता युरोपका मध्यम आकारका देशको हाराहारीमा पर्छ । स्कटल्यान्ड बेलायतमै रहनुपर्ने वकालत गर्नेहरूले सधैँ स्कटल्यान्डको २५ अर्ब पाउन्डको वित्तीय घाटातर्फ औँल्याउँदै अहिले यो घाटा लन्डनको ट्रेजरीले व्यवस्थापन गरिरहेको सम्झना दिलाउने गर्छन् । तर, स्वतन्त्रता भनेको स्थिर नभई गतिशील अवस्था हो ।

सन् १९२२ मा संयुक्त अधिराज्यबाट अलग हुँदा दक्षिणी आयरल्यान्ड (हालको गणतन्त्र आयरल्यान्ड) युरोपका सबैभन्दा गरिब देशमध्ये एक थियो । अझ स्कटल्यान्डभन्दा निकै पछाडि थियो । त्यतिवेला स्वतन्त्र राज्यका रूपमा आयरल्यान्डको आर्थिक आत्मनिर्भरताको सम्भावनाप्रति धेरैले निराशा व्यक्त गरेका थिए ।

स्वतन्त्रताको करिब ३० वर्षसम्म आयरल्यान्डको अर्थतन्त्र दयनीय थियो, बिस्तारै सुधार हुँदै आयरल्यान्डको अर्थतन्त्र सन् १९९० को दशकसम्म आइपुग्दा यो देश बलियो आर्थिक क्षमत प्रदर्शन गर्दे ‘सेल्टिक टाइगर’का रूपमा प्रख्यात बन्यो । निश्चित रूपमा इयूको सदस्यता र कठोर वित्तीय स्वायत्तताको अभ्यासले उसलाई केही भरथेग गरेको थियो । 

अहिले प्रतिव्यक्ति आयका हिसाबले आयरल्यान्ड युरोपको सबैभन्दा धनी राष्ट्रमध्ये एक बनेको छ । यद्यपि यसको केही श्रेय कर्पोरेट कर छली सघाउने यसको ट्याक्स हेभेन हैसियतलाई पनि जान्छ । यदि आयरल्यान्ड बेलायतकै हिस्सा रहिरहेको भए २०औँ शताब्दीको अन्त्यतिर यसको आर्थिक शक्तिको उदय कहिल्यै हुन सक्ने थिएन । आयरल्यान्डको प्रतिव्यक्ति आय अहिले स्कटल्यान्डको भन्दा धेरै अगाडि छ । 

स्कटल्यान्डले लामो समयदेखि इंग्ल्यान्डको प्रभुत्वको कारणले आफू पछाडि परेको महसुस गर्नुका धेरै कारण छन् । बेलायतको बाँकी भागजस्तै यसको अर्थतन्त्र पनि लन्डन र देशको दक्षिण–पूर्वभन्दा तल रहने गरेको छ । यसले लामो समयदेखि आफ्नो समुद्री तेल र ग्यास भण्डारमा ठगिएको महसुस गर्दै आएको छ । बहुसंख्यक स्कटिसले इयूमा रहनुपर्ने पक्षमा मत दिएको ब्रेक्जिटमा इंग्ल्यान्डको बहुमतले बाहिरिने मत दिँदा सबै भाग बाहिरियो । त्यसयता स्टकल्यान्डको व्यापार उलेख्य कमजोर बनेको छ । 

बेलायतमै रहनुपर्ने पक्षधरले बे्रक्जिटपछि लागू ‘बार्नेट सूत्र’अनुरूप स्कटल्यान्डले बर्सेनि पाउँदै आएको ५० अर्ब पाउन्डको अनुदान उचित क्षतिपूर्ति भएको बताउँछन् । तुलनात्मक तथ्यांकअनुसार स्कटल्यान्ड स्वास्थ्य सूचकांकमा आयरल्यान्ड र डेनमार्कभन्दा धेरै पछाडि छ । 

स्कटल्यान्डको आफ्नो अलग व्यक्तित्व र संस्कृति छ, जुन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यसको राजधानी एडिनबर्ग युरोपको उत्कृष्ट सहरमध्ये एक हो । पर्यटन यहाँको आकर्षण हो । यसको ‘सिलिकन ग्लेन’ले युरोपको एआई क्रान्तिको नेतृत्व गरिरहेको हुनुपथ्र्यो । त्यस्तो क्षमता भएको भेग नर्डिक राष्ट्रभन्दा पछाडि पर्नु आफैँमा एक दुःखद कुरा हो । 

स्कटल्यान्डले पनि आयरल्यान्डले जस्तै आत्मनिर्भरतामा कठिन संक्रमण पार गर्नुपर्नेछ । तर, सबैतिरको अनुभव हेर्ने हो भने साना स्वायत्त लोकतन्त्रिक देशले थप प्रदर्शन गर्ने देखाउँछ । चाहे त्यो स्लोभाकिया होस् या स्लोभेनिया, क्रोएसिया या अन्य बाल्टिक राष्ट्रहरू सबैले अलग भएपछि राम्रो प्रदर्शन गरेका छन् । स्वतन्त्र स्कटल्यान्ड अरूभन्दा भिन्न हुनेछ । यसले आफ्नो शाही व्यक्तित्व कायम राखेर कमनवेल्थको सदस्य रहिरहन सक्छ । तथापि, सिमाना टाढा भएकाले इयू र गैरइयू राज्यसँग यसको सम्बन्ध जटिल हुनेछ । त्यो समाधान कूटनीतिले गर्ने कुरा हो । अहिलेका लागि मूल मुद्दा आत्मनिर्णयको हो, सुविधाको होइन ।

बर्नम राजनीतिक शक्तिको विकेन्द्रीकरणप्रति इमानदार देखिने पहिलो बेलायती प्रधानमन्त्री हुन् । उनका ‘महानगरका मेयर’ क्षेत्रीय रूपमा जवाफदेही छन् । मेयरहरू प्रधानमन्त्रीका एजेन्टजस्ता भएर उनका नीति लागू गर्छन् । त्यसैले, बर्नमले ‘स्वतन्त्रता’का लागि कुनै पनि स्कटिस चाहनालाई स्वागत गर्नुपर्छ । त्यसो गरे यो केही शताब्दीमा बेलायतको सबैभन्दा रोमाञ्चक संवैधानिक सुधार हुनेछ । 
जेनकिन्स द गार्जियनका स्तम्भकार हुन् । द गार्जियनबाट

सुझावित समाचार