१० भदौको भोटेकोशी बाढीअघि अर्थात् चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो महिना साउनमा मुलुकको मुद्रास्फीति (महँगी दर) ५.९६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको साउन महिनाको प्रतिवेदनले यस्तो देखाएको हो । जबकि, सरकारले यो वर्ष मुद्रास्फीतिलाई ५.५ प्रतिशत हाराहारीमा सीमित राख्ने लक्ष्य राखेको थियो ।
मुख्यतः इरान र अमेरिकाबिचको युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले नेपालमा महँगी बढाएको छ । यसअघि चैतमा ५.०४ प्रतिशत, वैशाखमा ५.०४ प्रतिशत, जेठमा ५.२२ प्रतिशत र असारमा ५.१४ प्रतिशतको मूल्यवृद्धि रहेको राष्ट्र बैंकको तथ्यांक छ । साउनमा त्यो थप बढेको हो । अघिल्लो आवभरकै औसत मुद्रास्फीति भने ३.८५ प्रतिशत थियो भने साउनमा मात्रै मुद्रास्फीति १.६८ प्रतिशतमा सीमित थियो ।
भोटेकोशी बाढीपछि १४ भदौमा आएको पहिरोले कृष्णभिरस्थित सडक भासिएपछि काठमाडौंमा ग्यास, इन्धन तथा खाद्यान्न ढुवानीलगायतका अत्यावश्यक वस्तु आयात प्रभावित भएको थियो । त्यसले काठमाडौंलगायतका सहरमा महँगी बढाएको छ । त्यो अवस्थामा भदौमा महँगी थप उच्च हुने देखिन्छ । तर, बाढीअघि नै मुलुकको महँगीदर करिब ६ प्रतिशत पुगेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.९५ प्रतिशत रहेको थियो ।
महिनामै दुई खर्ब १६ अर्ब रेमिट्यान्स
साउनमा नेपालमा दुई खर्ब १५ अर्ब पाँच करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आवको साउन महिनाको तुलनामा २१.२ प्रतिशतले बढी हो । गत आवको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्स भित्रिएको थियो । गत आवभर भने २३ खर्ब ६३ अर्ब १३ करोड रेमिट्यान्स आएको थियो । विदेशमा नेपाली कामदारको संख्या र आम्दानी बढ्दै गएपछि रेमिट्यान्स पनि बढ्दो छ ।
साढे ३९ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
साउन मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । ‘असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेर साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड पुगेको छ ।’ यो सञ्चितिले २१.८ महिनाको वस्तु र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ ।
९०.३४ अर्बले बचतमा शोधनान्तर स्थिति
साउनमा मुलुकबाट भित्रिने र बाहिरिने रकमबिचको अन्तर अर्थात् शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा छ । गत आवको साउनमा यस्तो बचत ८९ अर्ब ३० करोड थियो । ‘समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा ५९ करोडले बचतमा छ ।’ बढ्दो रेमिट्यान्सले विदेशी सञ्चिति, शोधनान्तर बचत बढाउन सहयोग पुगेको छ । यस्तै, समीक्षा महिना चालू खाता ९४ अर्ब ५९ करोडले बचतमा छ । गत आवको साउनमा चालू खाता ७८ अर्ब २९ करोडले बचतमा थियो ।
भ्रमण आय पाँच अर्ब ४३ करोड, घट्यो भ्रमण व्यय
समीक्षा अवधिमा विदेशी पर्यटकबाट हुने भ्रमण आय पाँच अर्ब ४३ करोड रुपैयाँ रहेको छ । गत आवको साउनमा भने यस्तो आय पाँच अर्ब ४१ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा भ्रमण व्यय २६.६ प्रतिशतले घटेर १५ अर्ब ९२ करोडमा सीमित भएको छ । यसमध्ये शिक्षातर्फको व्यय १० अर्ब ८० करोड रहेको छ । गत आवको साउनमा भ्रमण व्यय २१ अर्ब ७० करोड रहेकोमा शिक्षातर्फको व्यय १४ अर्ब ३१ करोड रहेको थियो ।