सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशका आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूबिच ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट अचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रदेश (०८३/८४)’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बिहीबार काठमाडौंमा आयोजना गरिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीसहित सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।
कार्यक्रममा गत आर्थिक वर्षको व्यावसायिक प्रगतिको समीक्षा गर्दै चालू आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो। साथै केन्द्रीय व्यवस्थापन र प्रदेशस्तरीय संरचनाबिच सहकार्य थप सुदृढ गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो।
बैंकका अनुसार आर्थिक वर्ष ०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर दुई खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा भने ६३.०५ प्रतिशतले वृद्धि भई दुई अर्ब नाै करोड ८६ लाख रुपैयाँ पुगेको जनाइएको छ।
बैंकले पछिल्लो समय डिजिटल तथा नयाँ बैंकिङ सेवामा पनि विस्तार गरेको जनाएको छ। बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजिबैंक सेवा’ सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एपमार्फत अनलाइन सेयर आवेदन तथा सिआरएन नम्बरसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
सुदूरपश्चिम प्रदेशका सात जिल्लामा बैंकका १० वटा शाखा सञ्चालनमा रहेका छन्। बैंकका अनुसार देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटिएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकले यसअघि पनि बागमती, कोशी र मधेशलगायत प्रदेशमा नेतृत्व तथा व्यावसायिक कार्यसम्पादनकेन्द्रित यस्ता कार्यक्रम आयोजना गरेको जनाएको छ।