प्रहरीमा पढ्नेहरू माथि जाने, तर फिल्डमा काम गर्नेहरू पछि पर्ने भन्ने तर्कका आधारमा पाठ्यक्रम तथा कार्यक्रम परिमार्जनको गृहकार्य
नेपाल प्रहरीले नेतृत्व विकास र अधिकृतको वृत्ति विकासका लागि डेढ वर्षअघि सुरु पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (स्टाफ कलेज) पहिलो ब्याचसमेत पासआउट नहुँदै पुनरवलोकन गृहकार्य सुरु भएको छ । पाठ्यक्रम तथा कार्यक्रम परिमार्जनका लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिआइजी विश्व अधिकारीको अध्यक्षतामा समिति गठन गरेका छन् ।
प्रहरीमा पढ्नेहरू माथि जाने, तर फिल्डमा काम गर्नेहरू पछि पर्ने भन्ने तर्कका आधारमा पाठ्यक्रम तथा कार्यक्रम परिमार्जनको गृहकार्य भएको हो । कुनै पनि कार्यक्रम सुरु भएको कम्तीमा पाँच वर्षमा त्यसको समीक्षा हुन्छ । तर, यो कार्यक्रम पहिलो ब्याचसमेत पासआउट नहुँदै प्रहरी नेतृत्वले कार्यक्रमको समीक्षा गर्ने नाममा हेरफेर गर्न लागेको हो । स्टाफ कलेज नेपाल प्रहरीको महत्वाकांक्षी योजना हो ।
प्रवेश परीक्षामा न्यून अधिकृत मात्र उत्तीर्ण हुनु, स्टाफ कलेजका कारण प्रहरी अधिकृत फिल्डमा खटिन अनिच्छुक देखिनु तथा अध्ययनमा सहभागी कतिपय अधिकृतमा असन्तुष्टि बढेको गुनासोपछि प्रहरी नेतृत्वले पाठ्यक्रम र कार्यक्रममै पुनरवलोकन गर्न अध्ययन समिति गठन गरिएको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी गत १७ भदौमा अध्ययन समिति बनेको हो । ‘स्टाफ कलेजका विषयमा धेरै गुनासो आए,’ उनी भन्छन्, ‘संगठनलाई अझै हित हुने गरी यसलाई अघि बढाउन सकिन्छ भनेर समिति बनेको हो । समितिको सिफारिसका आधारमा थप निर्णय हुन्छ ।’
नेतृत्व क्षमता विकास गर्ने र स्टाफ कलेज उत्तीर्णलाई मात्र डिआइजीभन्दा माथिल्लो तहमा बढुवा गर्ने नीतिसहित प्रहरीमा कार्यक्रम सुरु भएको हो । कोर्सको प्रवेश परीक्षामा अनुत्तीर्ण भएका तथा यसको विपक्षमा रहेका केही प्रहरी अधिकारी नै स्टाफ कलेज हटाउने प्रयासमा रहेको स्रोत बताउँछ । यसैअनुसार अहिले केही प्रहरी अधिकारीकै लबिङका आधारमा अध्ययन समिति बनाइएको स्रोतको भनाइ छ ।
२१ वैशाख ०८२ बाट प्रहरीमा स्टाफ कलेज सुरु भएको थियो । पहिलो ब्याचका १७ अधिकृतले पढाइ सके पनि थेसिसको नतिजा नआएकाले पासआउट भएका छैनन् । हाल स्टाफ कलेजमा दोस्रो ब्याचका अधिकृतहरू अध्ययन गरिरहेका छन् । यो वर्ष तेस्रो ब्याचका लागि प्रवेश परीक्षाको तयारी भइरहेको छ ।
हरेक वर्ष धेरै प्रहरी स्टाफ कलेजको प्रवेश परीक्षामा सहभागी हुनुपर्ने भन्दै फिल्डमा खटिन नमान्ने र खटिए पनि लामो समय बिदामा बस्ने तथा परीक्षामा असफल भएकाहरूमा निराशा देखिने गरेको केही प्रहरी अधिकारी बताउँछन् । यस्तो प्रवृत्तिले संगठनमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ । ‘अहिले केही प्रहरीलाई बाढीग्रस्त क्षेत्रमा खटाउँदा स्टाफ कलेजको प्रवेश परीक्षाको तयारीमा लाग्नुपर्ने भन्दै जान मान्दैनन्,’ एक अधिकारीले भने, ‘प्रवेश परीक्षामा पनि मागको आधासमेत उत्तीर्ण नभएकाले यस विषयमा पनि अध्ययन गर्न लागेका हौँ ।’
पूर्वएआइजी टेकप्रसाद राई स्टाफ कलेज प्रहरी अधिकृतको गुणात्मक विकासका लागि निकै महत्वपूर्ण रहेको र यसलाई न्यायोचित बनाउन सकिने बताउँछन् । ‘प्रहरीको नेतृत्व विकासका लागि यो धेरै महत्वपूर्ण छ । नेतृत्व तहमा पुग्ने प्रहरी बौद्धिक रूपमा पनि सक्षम हुनुपर्छ । प्रहरी अधिकृतले इन्टरनेसनल एक्सपोजर पनि पाउँछन् । यो कोर्सले नेतृत्व क्षमताको विकास गर्ने भएकाले यसलाई कार्यान्वयन गर्नुपर्छ,’ उनको सुझाव छ, ‘यद्यपि, कतिपय अप्रेसनमा राम्रो काम गर्ने अधिकृतलाई अन्याय हुन्छ भन्ने लाग्छ भने उनीहरूलाई पनि समेट्ने गरी नीति बनाउनुपर्छ ।’
त्यसो त सुरुदेखि नै यो कार्यक्रम रोक्न केही प्रहरी अधिकारीले प्रयास गरेका थिए । उनीहरूले कानुनी आधारविनै कोर्स सञ्चालन गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए । तर, सर्वोच्चले योग्यता प्रणालीमा आधारित भएर कर्मचारीको वृत्ति विकास योजना बनाउनु सार्वजनिक प्रशासनको सुन्दर पक्ष भएको भन्दै कोर्स सञ्चालनकै पक्षमा फैसला गरेको थियो । यद्यपि, सर्वोच्चले कानुन नबनेसम्म कोर्सबापतको नम्बर बढुवा प्रणालीमा नराख्न आदेश दिएको थियो । हालसम्म यससम्बन्धी छुट्टै कानुन भने बनेको छैन ।
सर्वोच्चको फैसलापछि त्यसलाई समेत आधार बनाएर नेपाल प्रहरी प्रधान कार्यालयले नियमावली संशोधनको प्रक्रिया अघि बढाएको थियो । तर, हालसम्म नियमावली संशोधन हुन सकेको छैन ।नेपाली सेनामा ३५ ब्याचले यस्तो कोर्स पूरा गरिसकेका छन् भने सशस्त्र प्रहरीमा पनि ११ ब्याचले कोर्स गरिसकेका छन् । कोर्स गरेका सशस्त्र प्रहरी अधिकृतहरू कमान्डमा समेत सफल भएका उदाहरण छन् ।
स्टाफ कलेजको प्रवेश परीक्षा नै कठिन हुने भएकाले पनि धेरै प्रहरी अधिकारी यसप्रति असन्तुष्ट छन् । स्टाफ कलेजको पहिलो ब्याचमा एक सय ३१ जना प्रवेश परीक्षामा सहभागी भएकामा १७ जना प्रहरी अधिकृत मात्रै उत्तीर्ण भएका थिए । दोस्रो ब्याचमा १६ जना उत्तीर्ण भएका छन् ।
०७० चैतमा भर्ना प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको थियो । ४० जनासम्मको कोर्स गराउन सक्ने लक्ष्य भए पनि न्यून उत्तीर्ण भएका छन् । एक ब्याचका अधिकृतले बढीमा तीनपटकसम्म प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् । यो कोर्स १४ महिनाको छ । त्यसमध्ये १२ महिना आवासीय र दुई महिना थेसिसका लागि छुट्याइएको छ ।