हालको खाडी युद्ध अन्य युद्धभन्दा भिन्न देखिन्छ । द्वन्द्वहरू, चाहे छोटो अवधिका हुन् वा लामो समयसम्म चल्ने, सामान्यतया दुईमध्ये कुनै एक तरिकाले टुंगिन्छन् । पहिलो अवस्थामा, एउटा पक्षले अर्को पक्षमाथि निर्णायक विजय हासिल गर्छ । यसपछि प्रायः आत्मसमर्पण सम्झौतामा हस्ताक्षर गरिन्छ र पराजित पक्षमाथि विजयी पक्षका सर्त लादिन्छन्, जस्तो कि पहिलो र दोस्रो विश्वयुद्धमा भएको थियो, जुन दुवैमा मित्रराष्ट्रहरूको विजय भएको थियो ।
दोस्रो अवस्थामा, यस्ता युद्ध ‘न कोही विजयी, न कोही पराजित’ भन्ने सिद्धान्तमा आधारित सम्झौतामार्फत टुंगिन्छन् । यस्तोमा दुवै पक्षले एक–अर्काविरुद्धको लडाइँमा आफ्नो सम्पूर्ण सैन्य क्षमता प्रयोग गरिसकेका हुन्छन् । कुनै निर्णायक नतिजा ननिस्किँदै दुवै पक्ष शिथिल भइसकेका हुन्छन् र त्यस बिन्दुमा उनीहरू लडाइँ अन्त्य गरी आफ्ना हितलाई समेट्ने खालको सम्झौतामा पुग्ने प्रयास गर्छन् । त्यसपछि, युद्धका कारण भएको मानवीय तथा भौतिक क्षतिलाई छाडेर हेर्दा युद्ध यसरी समाप्त हुन्छ, मानौँ त्यो कहिल्यै सुरु नै भएको थिएन ।
यसको एउटा उदाहरण इरान–इराक युद्ध हो, जुन आठ वर्षसम्म चल्यो, तर यसमा न त इरानले न त इराकले नै आफ्ना उद्देश्य हासिल गर्न सके । इराकले ‘अरबस्तान’लाई मुक्त गर्न सकेन भने इरानले इराकको बाथ पार्टीको शासनसत्ता ढाल्न पनि सफलता पाएन ।
अमेरिकाले आधुनिक समयमा लडेका प्राय कुनै पनि युद्ध जितेको छैन । उसले हार नव्यहोरेको हुन सक्छ, तर ती युद्ध जुन उद्देश्यका लागि लडिएका थिए, तिनमा भने ऊ सफल भएन । साइगनबाट हेलिकोप्टरमार्फत गरिएको उद्धारको दृश्य अझै पनि स्पष्ट रूपमा सम्झनामा ताजै छ । त्यस्तै काबुल विमानस्थलको त्यो ऐतिहासिक दृश्यमा अमेरिकाका सहयोगीहरूले बाँच्ने अन्तिम सहाराका रूपमा विमानमा झुन्डिन निकै प्रयास गरे, तापनि अन्ततः त्यो व्यर्थ साबित भयो ।
युद्धभूमिमा, अमेरिकी आक्रमणको जवाफमा इरानी प्रहार हुने गरेको छ, चाहे इरानी जवाफको प्रभाव कम नै किन नहोस् । तर, यसको अर्थ यो हो कि इरानीहरूले आत्मसमर्पण गरेका छैनन्, उनीहरूको दृढ संकल्प कमजोर भएको छैन र अझै पनि आफ्ना विरोधीको सामना गर्ने सापेक्षिक क्षमता कायम छ ।
भियतनाम युद्धमा अमेरिकाले आफ्ना करिब ६० हजार सैनिक गुमायो । परिणामस्वरूप पेरिसमा युद्ध अन्त्य गर्ने र अमेरिकालाई त्यहाँबाट बाहिरिने बाटो दिने सम्झौता भयो, जबकि भियतनामको जित स्पष्ट भइसकेको थियो । अमेरिकी सेना भियतनामबाट फिर्ता भयो र अन्ततः भियतनाम आफ्नै सर्तमा एकीकृत भयो ।
अफगानिस्तानमा अमेरिकाले लडेको युद्धको हकमा पनि यस्तै भएको थियो । उक्त देशमा हजारौँ टन बम खसालिए, तर अन्ततः अमेरिकाले हतारमा र अस्तव्यस्त ढंगले त्यहाँबाट फिर्ता हुनुपर्यो । ती दृश्य कुनै विपत्तिबाट ज्यान बचाएर भागेजस्तै देखिन्थे । त्यसपछि इराकमा अमेरिकी आक्रमण भयो, जहाँको युद्ध हेर्दा यस्तो लाग्थ्यो कि त्यो वास्तवमा इरानकै पक्षमा लडिएको थियो । आठ वर्ष लामो युद्धमा तेहरानले जे हासिल गर्न सकेको थिएन, अमेरिकाले इराकलाई इरानको जिम्मा लगाइदिएर उसैका लागि त्यो काम गरिदियो । अमेरिका युद्धमा हार्न सक्छ, तर अर्को युद्ध सुरु गर्नुअघि ती हारबाट पाठ भने सिक्दैन ।
आज चलिरहेको खाडी युद्ध अनौठो छ र यो पहिले देखिएका ती दुवै परिचित ढाँचाभन्दा भिन्न छ । गत वर्ष, इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने उद्देश्यले अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गर्दा हामी आश्चर्यचकित भएका थियौँ । उक्त युद्ध दुई हप्ताभन्दा कम समयसम्म चल्यो । तर, अचानक त्यो रोकियो । अमेरिकी राष्ट्रपतिले गरेको निर्णयपछि अमेरिकी युद्धपोत फर्किए र इजरायली विमानले कुनै बम नखसालीकनै तेहरानको आकाश छोडे । युद्धको उद्देश्य पूरा नभए पनि दुवै पक्षले आफ्नो जित भएको दाबी गरे ।
युद्ध अचानक पुनः सुरु हुनुअघि महिनौँसम्म अवस्था जस्ताको त्यस्तै रह्यो । त्यस समयमा, अमेरिका र इरान ओमानको मध्यस्थतामा वार्ता गरिरहेका थिए । ठुलो स्तरको सैन्य कारबाही (जसमा अमेरिकी युद्धपोतबाट लगातार बमबारी र इरानी सहरमाथि चौबीसै घण्टा इजरायली विमानको उडान समावेश थियो) सुरु भएको ठिक एक दिनपछि नै दुई पक्षबिच वार्ता पुनः सुरु हुने तय भएको थियो ।
दोस्रो आश्चर्यको कुरा के थियो भने यो युद्ध पनि कुनै पूर्वसूचनाविना नै रोकियो । तर, यसले पुनः लडाइँ सुरु हुन सक्ने धम्कीपूर्ण स्थितिको सुरुवात गर्यो, अमेरिका र इजरायलका धम्कीको जवाफमा इरानका धम्की आउन थाले, साथै यस्तो अन्तर–अन्तरमा हुने द्वन्द्व चल्यो, जसमा अमेरिकी प्रहारको जवाफ इरानी प्रहारले दिइन्थ्यो र यो क्रम चलिरह्यो । यसैबिच, कब्जा जमाउने राष्ट्रका रूपमा रहेको इजरायललाई भने इच्छाशक्तिको यो प्रतिस्पर्धाबाट बाहिर राखिएको छ । तसर्थ, यो अन्य युद्धजस्तो सामान्य युद्ध होइन । यो त भालेको जुधाइजस्तो देखिन्छ । साथै, यो ‘न कोही विजेता, न कोही पराजित’ हुने सिद्धान्तका आधारमा पनि लडिएको छैन । दुवै पक्षले आफूसँग लड्ने इच्छाशक्ति र क्षमता रहेको दाबी गरिरहेका छन् ।
युद्धभूमिमा, अमेरिकी प्रहारको जवाफमा इरानी प्रहार हुने गरेको छ, चाहे इरानी जवाफको प्रभाव कम नै किन नहोस् । तर, यसको अर्थ यो हो कि इरानीहरूले आत्मसमर्पण गरेका छैनन्, उनीहरूको दृढ संकल्प कमजोर भएको छैन र उनीहरूमा अझै पनि आफ्ना विरोधीको सामना गर्ने सापेक्षिक क्षमता कायम छ । इरानमाथि नाकाबन्दी कायम राख्ने तथा आफूले ‘विनाशकारी’ र ‘अभूतपूर्व’ भनेर वर्णन गरेका आर्थिक प्रतिबन्धलाई अझ कडा बनाउने राष्ट्रपति ट्रम्पको निर्णयतर्फ हेर्दा यो कुरा सम्झनु सान्दर्भिक हुन्छ कि इरानमाथि ४० वर्षभन्दा बढी समयदेखि प्रतिबन्ध लगाइँदै आएका छन् ।
यसले कुवेतमाथि आक्रमण गरेपछि इराकमाथि लगाइएका प्रतिबन्ध र नाकाबन्दीसँग तुलना गर्ने अवसर दिन्छ, ती कदमले खाद्य तथा औषधि अभावमा लाखौँ मानिसको ज्यान गयो र इराकीहरू यतिसम्म गरिब भए कि उनीहरूले दैनिक जीवन धान्नकै लागि आफ्ना बहुमूल्य सम्पत्ति बेच्नुपर्ने अवस्था आयो ।
तसर्थ, नाकाबन्दी र प्रतिबन्धले इराकीहरूको जीवनमा ठुलो प्रभाव परेको थियो । तर, के इरानको अवस्था इराकको जस्तै छ ? मलाई लाग्छ, यो पूर्णतया भिन्न छ र यस्तो तुलना गर्नु गलत हो । इरानको आकार इराकभन्दा कैयौँ गुणा ठुलो छ । इराक आफ्नो राजनीतिक शासन व्यवस्थाप्रति शत्रुतापूर्ण व्यवहार राख्ने देशहरू (जस्तै इरान र सिरिया) बाट घेरिएको थियो । यसको एक मात्र जीवनरेखा जोर्डन थियो, तर नाकाबन्दीको उल्लंघन रोक्नका लागि जोर्डन आफैँ पनि अकाबा बन्दरगाहमा सीमित थियो ।
इरानको अवस्था भने फरक छ । यसका पाकिस्तान, अफगानिस्तान, तुर्कमेनिस्तान, अजरबैजान र इराकलगायत धेरै देशसँग लामो सीमा जोडिएको छ । इरान र यी देशबिच त्यस्तो कुनै स्पष्ट शत्रुता छैन, जसले गर्दा उनीहरूले नाकाबन्दी कडा बनाऊन् वा अमेरिकी प्रतिबन्धको कडाइका साथ पालना गरून् । वास्तवमा, इराकतर्फको सीमा खुला छ, जसको माध्यमबाट इरानले आफूलाई आवश्यक पर्ने जुनसुकै कुरा प्राप्त गर्न सक्छ ।
अझ महत्वपूर्ण कुरा त के हो भने क्यास्पियन सागरमा इरानको करिब ७०० किलोमिटर लामो तटीय क्षेत्र पर्छ । यो सागरले विभिन्न देशसँग पहुँच जोड्छ, जसमा विशेषगरी रुस पर्छ । रुसले इरानसँग यो सागर साझा गर्छ र तेहरानसँग राम्रो सम्बन्ध कायम राखेको छ । यसैकारणले गर्दा मलाई लाग्दैन कि नाकाबन्दी र प्रतिबन्ध जतिसुकै कडा भए पनि तिनले इरानीलाई पछि हट्न वा आत्मसमर्पण गर्न बाध्य पार्नेछन् ।
मेरो विचारमा यदि इरानीलाई आत्मसमर्पण गर्ने वा अर्को युद्ध लड्नेमध्ये कुनै एक रोज्ने विकल्प दिइयो भने उनीहरूले युद्ध रोज्न सक्छन् । उनीहरूसँग अझै पनि केही हदसम्म शक्ति र सायद आफ्ना क्षमता पुनः निर्माण गर्ने सामथ्र्य पनि रहेको देखिन्छ ।
निष्कर्षमा भन्नुपर्दा इरानविरुद्धको यस अमेरिकी–इजरायली युद्धका उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्ने, यसको क्षेप्यास्त्र प्रणाली नष्ट गर्ने वा कम्तीमा त्यसको मारक क्षमताको दायरा सीमित गर्ने, र त्यहाँको शासनसत्ता ढाल्ने थिए । यी तीनमध्ये कुनै पनि उद्देश्य पूरा भएको छैन । यो सत्य हो कि सर्वोच्च नेता र धेरै इरानी नेता मारिएका छन्, देशको पूर्वाधारको ठुलो हिस्सा ध्वस्त भएको छ र इरानको सैन्य क्षमता कमजोर भएको छ । यी सबैका बाबजुद वर्तमान इरानी नेतृत्व आफ्ना पूर्ववर्तीको तुलनामा अझ बढी कठोर अडान लिने खालको बनेको छ ।
हर्मुज जलसन्धि भएर हुने स्वतन्त्र आवागमनको विषय निकै महत्वपूर्ण छ । यो युद्ध सुरु हुनुको प्रत्यक्ष कारण नभए पनि युद्धको एउटा परिणामका रूपमा भने यो देखा परेको छ । अवस्था यस्तो देखिन्छ कि मानौँ अमेरिका र इजरायलले युद्धमार्फत राखेका उद्देश्य पूरा भइसकेका छन्, यद्यपि त्यसो भएको छैन ।
विश्वभर तेलको मूल्यमा हुने वृद्धि रोक्न तथा विश्वव्यापी मन्दी एवं वित्तीय र आर्थिक संकट टार्नका लागि उक्त जलसन्धिमा स्वतन्त्र आवागमनको व्यवस्था पुनस्र्थापना गर्नु अहिलेको अत्यावश्यक प्राथमिकता बनेको छ । फलस्वरूप, अहिले सम्पूर्ण प्रयास यसै विषयमा केन्द्रित भएका छन्, जबकि युद्धका मूल कारणबारेको चर्चा भने ओझेलमा परेको छ ।
अन्त्यमा, मध्यस्थताका प्रयासलाई अझ तीव्र बनाउनु आवश्यक छ । यसका लागि पाकिस्तान, ओमान र कतारले गरिरहेका प्रशंसनीय प्रयासमा युरोप र चीनजस्ता अन्य प्रभावशाली शक्ति पनि सामेल हुनुपर्छ । उनीहरूको संलग्नताले मध्यस्थताको प्रयासलाई थप बलियो बनाउन सक्छ, यसले द्वन्द्वरत पक्षलाई प्रभाव पार्दै सबैको हितको रक्षा गर्ने, हर्मुज जलसन्धि पुनः खुला गर्ने, विश्वलाई वित्तीय तथा आर्थिक संकटबाट जोगाउने र युद्धमा प्रत्यक्ष संलग्न नभएका भए पनि अरब राष्ट्रलाई बमबारी तथा उनीहरूको सुरक्षा र राष्ट्रिय सार्वभौमिकताको उल्लंघनबाट बचाउने खालको सम्झौताको दिशामा अघि बढ्न प्रेरित गर्न सक्छ ।
(लेखक जोर्डनका राजनीतिज्ञ तथा पूर्वगृहमन्त्री हुन् ।)अलजजिराबाट