जुलाईपछि पहिलोपटक तेलको मूल्य प्रतिब्यारेल सय डलरभन्दा माथि

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

 मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने सम्भावना बढेसँगै विश्वव्यापी तेल आपूर्तिमा अवरोध बढ्न सक्ने खतराका कारण जुलाईपछि पहिलोपटक तेलको मूल्य प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ । अमेरिका र इरानबिचको पछिल्लो मिसाइल आदानप्रदानपछि खाडीमा तनाव बढेको छ । योसँगै कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ‘ब्रेन्ट क्रुड’ तीन प्रतिशतले बढेर १००.८ डलरभन्दा माथि पुगेको छ ।

तेहरानले अमेरिकी नौसेनाको युद्धपोतमा ब्यालेस्टिक क्षेप्यास्त्र हान्ने प्रयास गरेपछि अमेरिकी सेनाले केही इरानी ट्यांकरलाई ‘ध्वस्त’ पारेको बताएको छ । त्यसबाहेक अलग घटनामा इरान समर्थित हुथीहरूले अघिल्लो रात साउदी अरेबियाका चार सहरमा आक्रमण गरेर ७० भन्दा बढी व्यक्ति घाइते बनाएको छ । त्यस्तै हुथीहरूले हानेको मिसाइलका कारण केही साउदी तेल संयन्त्रमा आगजनी भएको छ । 

६ महिनादेखि चलिरहेको युद्धको स्थायी समाधानको आशा कमजोर हुँदै जाँदा र फेरि लडाइँ चर्किन थालेसँगै अगस्टको सुरुवातदेखि तेलको मूल्य एकचौथाइले बढिसक्यो । सन् २०२६ मा मात्रै अहिलेसम्म तीनपटक तेलको मूल्य सय डलरभन्दा माथि पुगेको छ । विश्वको सबैभन्दा ठुलो कच्चा तेल आयातकर्ता मुलुकले आफ्नो रणनीति रिजर्भ प्रयोगमा ल्याएका कारण तेलको मूल्य उलेख्य बढ्न रोकिएको थियो । चीनले अहिले विगतमा प्रयोग गरेको भण्डारण भर्न पछिल्लो समय खरिद बढाएको छ । 

चिनियाँ कच्चा तेल आयात अगस्टमा प्रतिदिन लगभग ९० लाख ब्यारेलमा तेल खरिद ग¥यो । तथापि, फेब्रुअरीमा युद्ध सुरु हुनुअघि चीनले प्रतिदिन एक करोड २६ लाख ब्यारेल खरिदको तुलनामा अझै पनि आयात कम नै हो ।द्वन्द्वको समयमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च अप्रिलमा १२६ डलरसम्म पुगेको थियो । त्यसपछि युद्धविरामको आशामा मूल्य घट्न थालेको थियो । तर, अहिले अमेरिका र इरानबिचको समझदारी पत्र टुटेपछि र शत्रुता पुनः सुरु भएपछि मूल्य फेरि बढ्न थालेको हो । 

सुझावित समाचार