यही २४ अगस्टमा ‘अल्टालेना’ जहाजको भग्नावशेष फेला परेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु तेल अभिभको समुद्री किनारमा रहेको एक संग्रहालयबाहिर उभिएका थिए । दक्षिणपन्थी जियोनिस्ट अर्धसैनिक संगठन ‘एट्जेल’को स्वामित्वमा रहेको उक्त जहाजमाथि सन् १९४८ मा भर्खरै गठन भएको इजरायली सेनाले गोलाबारी गरेको थियो । नेतन्याहुले जहाजको भग्नावशेषलाई समुद्रको पिँधबाट बाहिर निकालेर भावी पुस्ताका लागि एउटा प्रतीकका रूपमा स्थापित गर्ने वाचा गरे, जसको मुख्य सन्देश हुनेछ : ‘गृहयुद्ध, अब कहिल्यै होइन ।’
‘इर्गुन’ नामले समेत चिनिने ‘एट्जेल’ले यहुदीको अति राष्ट्रवादी दृष्टिकोणलाई अघि बढायो र यहुदी सैन्य श्रेष्ठताको वकालत ग¥यो । इजरायल स्थापना हुनुअघि यो एक स्वतन्त्र सशस्त्र संगठनका रूपमा सञ्चालित थियो र यसले नयाँ राज्यसमक्ष आफ्ना हतियार तथा स्वायत्तता सुम्पिन अस्वीकार गरेको थियो । सन् १९४८ को जुन महिनामा जब यस संगठनलाई नवगठित इजरायली सेनामा गाभ्ने प्रक्रिया चलिरहेको थियो, ‘अल्टालेना’ नामक जहाज ९०० भन्दा बढी आप्रवासी, चिकित्सा सामग्री र ठुलो परिमाणमा हतियार बोकेर आइपुग्यो ।
इजरायली सरकारको मुख्य उद्देश्य यहुदीको अस्तित्व रक्षा गर्नु हो र यो कार्य विशेष गरी प्यालेस्टिनीमाथि आफ्नो वर्चस्व कायम गरेर पूरा गर्न खोजिन्छ
हतियार नियन्त्रणका विषयमा इर्गुन र सरकारबिच सहमति हुन सकेन र विवादले झडपको रूप लियो । तेलअभिभको उत्तरमा भएको प्रारम्भिक मुठभेडपछि उक्त जहाज दक्षिणी सहरतर्फ अघि बढ्यो । वामपन्थी प्रधानमन्त्री डेभिड बेन–गुरियनले इजरायली सेनालाई तेलअभिभनजिकै उक्त जहाजमाथि गोलाबारी गर्न आदेश दिए । जहाजमै सवार एट्जेलका नेता मेनाचेम बेगिनले आफ्ना समर्थकहरूलाई प्रतिशोध नसाध्न आग्रह गरे र गृहयुद्ध निम्तिन सक्ने चेतावनी दिए ।
इजरायली दक्षिणपन्थीहरूका लागि अल्टालेना आफ्नो राजनीतिक अधिकार लागू गर्न यहुदीविरुद्ध प्रयोग भयो । यो घटना ऐतिहासिक गुनासोको रूपमा रह्यो, तर यो कहिल्यै इजरायली राजनीतिक जीवनको निरन्तर विशेषता बन्न सकेन । दसकौँसम्म, यो धेरै हदसम्म प्रतीकात्मक कथा नै रह्यो (बिस्तारै ऐतिहासिक स्मृतिमा हराउनुअघि) । चुनावी अभियानको बिचमा यसको पुनः खोजले अचानक त्यो प्रतीकात्मकतालाई पुनर्जीवित गरेको छ ।
गृहयुद्धविरुद्ध बिगिनको चेतावनीको आह्वान गर्दै दक्षिणपन्थीहरूको सबैभन्दा पुरानो गुनासोमध्ये एकलाई पुनरुत्थान गरेर, नेतन्याहु केवल एकताका लागि आह्वान गरिरहेका थिएनन् । उनले धम्की पनि जारी गरिरहेका थिए ः हामीलाई तपाईँले के गर्नुभयो भन्ने हामीलाई राम्रै हेक्का छ । आवश्यक परेमा, हामी तपाईँका लागि त्यसरी नै आउनेछौँ जसरी तपाईँ हाम्रा लागि आउनुभएको थियो । तैपनि, के इजरायल साँच्चै गृहयुद्धतर्फ अघि बढिरहेको छ ? यस्तो हुने सम्भावना निकै कम देखिन्छ ।
यसको कारण सरल छ– इजरायलीहरू अन्ततः एकअर्कासँग सहमत छन् । इजरायली जनमतमा कुनै गहिरो वैचारिक विभाजन छैन । बरु त्यहाँ व्यापक र गहिरो सहमति पाइन्छ । सुरक्षा इजरायली सार्वजनिक जीवन र पहिचानको आधारस्तम्भ हो, जसले अन्य सबै विषयलाई ओझेलमा पार्छ । इजरायली राज्यको मुख्य उद्देश्य यहुदीको अस्तित्व रक्षा गर्नु हो र यो कार्य विशेष गरी आफ्ना छिमेकीमाथि, अझ मुख्यतया प्यालेस्टिनीमाथि आफ्नो वर्चस्व कायम गरेर पूरा गर्न खोजिन्छ । सुरक्षालाई ‘राजनीतिभन्दा माथिको’ विषय मानिन्छ । ७ अक्टोबर २०२३ को आक्रमणले इजरायलको सुरक्षा नीतिलाई लगभग रातारात परिवर्तन गरिदियो ।
शान्ति वा सम्बन्ध सामान्यीकरणजस्ता धारणा अब यहुदीको सुरक्षा सुनिश्चित गर्ने कुरामा केन्द्रित सुरक्षा नीतिको मर्मसँग मेल खान सकेनन् । इजरायललाई आफूले उपयुक्त ठानेको समय, स्थान र तरिकाले लड्न सक्ने क्षमताको आवश्यकता थियो । उसलाई आफ्नो पहिलेदेखि नै अभूतपूर्व रहेको ‘दण्डहीनता’ (कारबाहीबाट उन्मुक्ति) अझ बढाउन र आफ्ना आक्रामक नीति अघि बढाउने क्रममा पूर्ण तजबिजको अधिकार प्रयोग गर्ने अनुमति सुनिश्चित गर्नुपर्ने थियो । यस विषयमा सबै यहुदी राजनीतिक दलहरू सहमत थिए, यद्यपि यसको दायरा वा विस्तारबारे उनीहरूबिच मतभेद थियो ।
यहाँ ‘जायोनिस्ट’ शब्दले व्यावहारिक रूपमा ‘यहुदी’ भन्ने अर्थ बोकेको छ । तर अहिलेको अवस्थामा यो शब्दले इजरायलमा यहुदीहरूको वर्चस्व सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय न्यायालयले गैरकानुनी ठहर गरेको ‘कब्जा’ (गाजा क्षेत्रका भूभागमा इजरायली सेनाको नियन्त्रण) अन्त्यबारे विचारसमेत नगर्ने र ‘शत्रु जहाँसुकै भए पनि उसैको भूमिमा पुगेर लड्ने’ कार्यलाई जायज ठहर्याउने ‘अनन्त युद्ध’ जारी राख्ने भन्ने अर्थ लाग्छ ।
व्यावहारिक राजनीतिक परिप्रेक्ष्यमा यसको अर्थ के हो भने इजरायली जनताले नेतन्याहुको व्यक्तिगत आचरण र व्यवहारको स्तरलाई घृणा गर्न सक्छन् । तर, पनि ठुलो बहुमत उनको नीतिसँग सहमत छ । हिब्रु भाषाका सञ्चारमाध्यम र सामाजिक सञ्जाल हेर्दा यो बुझ्न गाह्रो छैन कि (बढीमा केही हजार मानिसहरूलाई छोडेर)इजरायली यहुदीहरू यो तनावका साथ बाँच्न र इजरायलको नरसंहारकारी नीतिलाई समर्थन गर्न तयार छन्, जसको कुनै अन्त्य देखिँदैन । यो सहमति पुराना र काम नलाग्ने अवशेषहरूलाई लिएर खेलिने प्रतीकात्मक खेलहरूभन्दा धेरै गहिरो र शक्तिशाली छ ।
प्यालेस्टिनीलाई उनीहरूको घरबाट लखेट्ने प्रयास गर्ने बस्तीवासीमाथि इजरायली सेनाले कहिल्यै गोली चलाउनेछैन । इजरायली सेना आफैँमा इजरायल हो : यो त्यही थलो हो जहाँ इजरायली राष्ट्रवादको निर्माण भएको छ । जबसम्म यहुदी श्रेष्ठता इजरायली सेना र इजरायली राज्यको आधारस्तम्भ रहिरहन्छ, तबसम्म त्यहाँ गृहयुद्ध हुनेछैन ।
कन्भर्सेसनबाट