कृष्णभिरमा नयाँ ट्रयाक खोलियो, साताभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा आउने

आइतबार, २१ भदौ, २०८३
डिजिटल संस्करण
कृष्णभिरमा नयाँ ट्रयाक खोलियो, साताभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा आउने

शुक्रबारदेखि एक्स्काभेटरले खन्न थालिएको कृष्णभिरको नयाँ ट्रयाक जोडिएको छ ।

  • सडक सम्याउने, आवश्यक मर्मत तथा ग्राभेल पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने
  • सुरुमा एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न तथा इन्धनलगायत अत्यावश्यक सवारीसाधनलाई प्राथमिकता

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ स्थित कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्रयाक जोडिएको छ । दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको हो ।

ट्रयाक जोडिएसँगै अब सडकलाई आवश्यक उचाइ र स्तरमा ल्याउन सम्याउने काम भइरहेको छ । सडक सम्याउने, आवश्यक मर्मत कार्य तथा ग्राभेल पूरा भएपछि राजमार्गमा यातायात सञ्चालन खुला गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक सञ्चालनमा आएपछि एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न तथा इन्धनलगायत अत्यावश्यक सवारीसाधनका लागि पहिलो प्राथमिकता राखिने उनले जानकारी दिइन् । ‘सडक चौडा गर्ने र ग्राभेलको काम भएपछि ठुला तथा मालवाहक सवारीलाई खुला गरिनेछ,’ उनले भनिन्, ‘देशकै लाइफलाइन मानिने मुख्य राजमार्ग भएकाले पनि सकेसम्म चाँडै खुलाउन लागिपरेका छौँ । दीर्घकालीन समाधानका लागि भने यसैलाई निरन्तरता दिन सकिन्छ वा विकल्प खोज्नुपर्छ, छलफल भइरहेको छ ।’

त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्ग (मुग्लिन–काठमाडौं सडक) पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरातर्फको आवतजावत प्रभावित भएको छ । यात्रुले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम भन्छिन्– 
शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको छ । अब त्यसलाई चौडा बनाउने तथा सम्याउने काम गरिन्छ । त्यसपछि ग्राभेल गरेर सडक सुचारु गर्ने हो । हामीले भएजति उपकरण र प्राविधिक सबैको अधिकतम प्रयोगबाट राजमार्ग सञ्चालन गर्न प्रयास गरिरहेका छौँ । आगामी दिनमा थप अवरोध आएन भने एक साताभित्रमा सहज रूपमा अवरुद्ध राजमार्ग खुला हुनेछ । एक साताभन्दा अगाडि नै पनि हुन सक्छ ।

सुझावित समाचार