बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ प्रिमियरको एक करोड आर्थिक सहयोग 
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सो रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।  

चेम्बर स्वास्थ्य समितिद्वारा ५० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले नेपाल चेम्बर अफ कमर्सलाई औषधि, प्राथमिक उपचार सामग्री तथा विभिन्न स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री उपलब्ध गराएको छ । विपत् प्रभावित नागरिकहरूको स्वास्थ्य उपचार तथा राहतका लागि करिब ५० लाख रुपैयाँबराबरका सामग्री उपलब्ध गराइएको हो ।

राहत सामग्रीमा ज्वरो, रुघाखोकी, झाडापखाला तथा विभिन्न रोगका लागि आवश्यक औषधि, ओआरएस, घाउमा प्रयोग हुने पोभिडोन आयोडिन झोल, टिस्यु पेपर, सर्जिकल सामग्री, स्यानेटरी नेप्किन, तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री छन् । 

स्वास्थ्य तथा सामाजिक समिति सभापति मृगेन्द्रमेहर श्रेष्ठले चेम्बरको विपत् व्यवस्थापन परिषद्का उपसभापति कृष्णमान श्रेष्ठलाई उक्त औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उक्त सामग्री विपत्बाट प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा सरकारी निकायसँग समन्वय गरी वितरण गरिने चेम्बरले जनाएको छ । 

उद्धार कोषमा मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग
मञ्जुश्री फाइनान्सले भोटेकोशीमा आएको प्राकृतिक विपत् घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग हस्तान्तरण गरेको छ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जनधनको क्षति हुनुका साथै ठुलो संख्यामा नागरिक प्रभावित भएको परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन फाइनान्सले ऐक्यबद्धता जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकद्वारा बाढी प्रभावितलाई २५ लाख सहयोग
राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन, अभिलेख संरक्षण तथा संस्थागत पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूले समेत एक दिनबराबरको बैठक भत्ता योगदान गर्ने भएका छन् । यस्तै, सञ्चालक समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरिने भएको छ ।

बैंकका अनुसार सम्बन्धित जिल्ला सहकारी संघहरूसँगको समन्वय तथा बैंकको सञ्चालक समितिबाट स्वीकृत मापदण्डका आधारमा २० लाख रुपैयाँ प्रभावित सहकारी संस्थालाई वितरण गरिनेछ ।

प्रभु बैंकको २.११ करोड सहयोग 
प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमबराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बैंकका तर्फबाट अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो ।  

यती पेन्ट्सद्वारा ११ लाखभन्दा बढी सहयोग प्रदान
यती पेन्ट्स नेपालले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठुलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिक र समुदायको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको कम्पनीका अध्यक्ष झलकबहादुर केसीले जानकारी दिए ।
 

See More On

सुझावित समाचार