- सरकारले परियोजना सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि उनीहरूकै प्राविधिकको सुझावअनुसार सेनाले टर्बाइनबाट प्वाल बनाउँदा भित्रबाट आयो सम्भावित संकेत
सरकारले परियोजनाका सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युत्को सुरुङमा परियोजनाका प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ । पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी प्वाल बनाइएकामा बिहीबार उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले बताए ।
बाढी गएको आठौँ दिन अर्थात् मंगलबारदेखि परियोजनाका प्राविधिकको सहयोगमा सेनाले उद्धार अघि बढाएको थियो । बुधबार प्वाल बनाउँदा भित्रबाट केही गन्ध आएकाले श्रमिकहरू फसेको ठाउँ पहिचान भएको निष्कर्षमा पुगिएको भट्टराईले बताए । सरकारले सुरुमै परियोजनाका प्राविधिकलाई साथ नलिँदा ढिला गरी हुने उद्धारको नतिजा कस्तो आउँछ भन्न नसकिने उनको भनाइ छ ।
‘सेनाले सुरुमै हामीसँग सहकार्य गर्नुपर्ने थियो । किनकि, सुरुङ कस्तो थियो र कसरी उद्धार गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्राविधिक ज्ञान हाम्रा प्राविधिकसँग थियो,’ उनले भने, ‘ढिला गरी हामीलाई उद्धारमा सहभागी गराएपछि बुधबार श्रमिकहरू फसेको क्षेत्र पत्ता लगाउन सफल भएका छौँ । अब भोलि भित्र छिरेपछि यकिन अवस्था के छ थाहा होला ।’
यस सम्बन्धमा सेनाले औपचारिक जानकारी गराएको छैन । सेनाको सूचनामा उद्धार जारी रहेको मात्रै उल्लेख छ । ‘हामीले उद्धारलाई मिसनकै रूपमा अघि बढाएका छौँ, उद्धार कार्य जारी रहन्छ,’ सेनाका प्रवक्ता राजाराम बस्नेतले भने । परियोजनाका ४१ जना सम्पर्कविहीन भएकामा सोमबार एउटा शव भेटिएको थियो । लाङटाङ परियोजनामा १५० मिटर लामो ‘एक्सिस’ सुरुङ छ ।
माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट आयो ४४ जनाको टोली
तीन सयभन्दा धेरै सुरुङमा फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट ४४ जनाको टोली बुधबार आइपुगेको छ । सम्भवतः टोली बिहीबारदेखि उद्धारमा खटिनेछ । कोरियाकै लगानीमा निर्माणाधीन यो परियोजनामा ९ कोरियाली नागरिक बेपत्ता छन् ।
मंगलबार हाकुस्थित बाँधबाट प्रवेश गरेको नेपाली सेनाको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । त्यस्तै हाकुबेँसीमा विदेशीसहितको संयुक्त उद्धार टोली २६० मिटर भित्रसम्म पुगेर खोजी गर्दा केही फेला नपरेको नेपाली सेनाले जनाएको छ । बुधबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ । मुख्य सुरुङमा २५ मिटर, एक्सेस टनेल १ बाट करिब १५० मिटर र एक्सेस टनेल २ बाट करिब २० मिटर गएपछि पानी भएको डिसेन्टर बेसिनसम्म पुगेको थियो । १० किमि लामो सुरुङ रहेको यो परियोजनामा सुरुङभित्र अनुमानित ३०० सहित कुल ५५७ श्रमिक कर्मचारी सम्पर्कविहीन छन् ।
कठिन बन्दै माथिल्लो त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को उद्धार
अन्य परियोजनाको तुलनामा माथिल्लो त्रिशूली ३ ‘ए’मा उद्धारको मिहिनेत बढी भएको देखिन्छ । तर, विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन । मंगलबार इनलेट टनेलमा बनाइएको होलबाट भित्र छिर्न असम्भव भएपछि आउटलेटबाट अर्को होल बनाउन लागिएको थियो । तर, आउटलेटमा पनि लेदो भरिएको भेटिएपछि पन्छाउने काम भइरहेको छ ।
‘त्रिशूली ३ ‘ए’मा नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ एक्स्काभेटर र एउटा ‘बबकाट’बाट माटो पन्छाएर कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङपछि टनेलको आउटलेटमा लेदो भरिएको हुँदा बबकाटद्वारा माटो फाल्ने कार्य गरी अगाडि रहेको चट्टान ब्लास्टिङको कार्य भइरहेको छ,’ सेनाले भनेको छ । यो परियोजनामा ४२ जना सम्पर्कविहीन भएकामा सुरुङभित्र ३५ जना फसेका छन् ।
त्यस्तै, २१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा पनि प्रगति देखिएको छैन । मंगलबार आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकामा बुधबार त्यसक्षेत्रमै खोजी भएको सेनाले जनाएको छ । ‘त्रिशूली ३ बीमा नेपाली सेनाका ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बबकाटसहित अफिस र क्याम्प एरिया पहिचान तथा खोजी गरिरहेको छ,’ सेनाले भनेको छ । बुधबार काठमाडौंबाट थप दुई एक्स्काभेटर पठाइएकामा बिहीबारदेखि परिचालन गरिनेछ ।
चिलिमेको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ सुरु
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ सुरु गरिएको छ । मंगलबार परियोजनाको सुरुङ पूर्ण रूपमा भरिएको भेटिएपछि बुधबार साउन्ड डिटेक्टरबाट मनिटरिङ थालेको हो । ‘चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगी टनेल बन्द भएको अवस्थामा फेला परेको र साउन्ड डिटेक्टरबाट मोनिटर गर्ने कार्य भएको छ,’ सेनाले भनेको छ । ८ जना सुरुङमा फसेको अनुमान गरिएको यहाँको खोजीमा भारतीयसहित २६ जनाको टोली छ । निरन्तरको वर्षाले नदीमा पानीको सतह बढिरहेकाले उद्धारमा सोचेअनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनले जानकारी दिए ।
रसुवागढीलगायतमा पनि छैन प्रगति
गत सोमबार सुरुङको २५० मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत्गृहतर्फ खोजी थालिएको छ । मंगलबार एक्स्काभेटर झिकाइए पनि भोटेकोशीमा पानीको बहाब बढेर निरन्तर कटान गरिरहेकाले विद्युत्गृह रहेको स्थानमा एक्स्काभेटर बोकेको हेलिकोप्टर ल्यान्ड नै हुन नसकेको इन्जिनियर भरत गुरागाईंले जानकारी दिए । ९३ जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनियाँ टोली पनि छ ।
त्यस्तै, मैलुङ खोला हाइड्रोमा मंगलबार रेकी भए पनि बुधबार कुनै काम हुन सकेन । यहाँ सातजना सम्पर्कविहीन छन् । रसुवा भोटेकोशी जलविद्युत्का चार, त्रिशूली जलविद्युत्का तीन, देवीघाट जलविद्युत्का एक र मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । त्यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । उनीहरूको खोजी हुन सकेको छैन ।