प्रेरक प्रसंग : खुसीको खबर

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

अर्जेन्टिनी गल्फर रोबर्टो डी भिन्सेन्जो आफ्नो समयका सफल र चर्चित गल्फ खेलाडी थिए । उनले आफ्नो खेल करिअरभरमा संसारभरका दुई सय ३० भन्दा बढी प्रतियोगितामा विजय हासिल गरेका थिए । उनी आफ्नो सानदार खेलका लागि मात्र नभई सकारात्मक सोचका लागि पनि त्यत्तिकै चर्चित थिए । 

एकपटक रोबर्टोले कुनै एक प्रतियोगितामा जित हासिल गरे । पुरस्कारमा पाएको चेक लिएर उनी ड्रेसिङ रुममा प्रवेश गरे । उनले त्यहाँ लामो समय बिताए । जब उनी बाहिर निस्किए, त्यतिखेरसम्ममा सबै मानिस गइसकेका थिए । उनी बिस्तारै पार्किङ स्थलमा पुगेर आफ्नो कारमा बस्नै लागेका थिए, एक महिला उनको नजिक आइन् र भनिन्– सर मसँग कुनै जागिर छैन । मेरी छोरी निकै बिरामी छिन् । उनी जीवन–मरणको दोसाँधमा छिन् । तर, मसँग उनलाई अस्पताल लाने खर्चसमेत छैन । 

ती महिलाको दुःख सम्झेर रोबर्टोको मन पग्लियो । उनले तुरुन्तै आफूले पुरस्कारका रूपमा पाएको चेक ‘इन्डोर्स’ गरेर ती महिलालाई दिए । अर्को साता उनी कन्ट्री क्लब पुगे । त्यहाँ एक परिचितले भने– सर, तपाईंमाथि ठुलो धोका भएको छ । तपाईंले जुन महिलालाई चेक दिनुभएको थियो, ती त ठग रहिछिन् । उनकी कुनै छोरी छैनन् । यहाँसम्म कि तिनको अहिलेसम्म बिहेसमेत भएको छैन । 

गुनासो सुनेपछि खुसी हुँदै रोबर्टोले भने– तिम्रो भनाइको मतलब, त्यहाँ कुनै बच्ची बिरामी थिइनन् ? ती परिचितले ‘हो’ भन्ने संकेतमा टाउको हल्लाउँदै भने– हो सर ! रोबर्टो थप खुसी भए र भने– आहा ! यस्तो खुसीको खबरका लागि तिमीलाई लाखलाख धन्यवाद । कुनै बच्ची बिरामी छैनन् भन्ने खबर मेरा लागि यस वर्षभरिकै सबैभन्दा खुसीको खबर हो । किनकि, पैसा त मैले उनलाई दिइसकेकै थिएँ । उनले त्यो जेमा जसरी खर्च गरे पनि के नै फरक भयो र ? कम्तीमा एउटी बच्ची बिरामी छैन भन्ने थाहा पाउनुजति खुसीको खबर अर्को के नै हुन सक्छ र, होइन त ?

सुझावित समाचार