म्यानमारको एउटा गुम्बामा भएको सैन्य हवाई आक्रमणमा परी १४ जना भिक्षुको मृत्यु भएको छ । मृत्यु हुनेहरू सबै वृद्धवृद्धा रहेका विपक्षी लडाकु समूह र स्थानीय उद्धारकर्मीले बताएका छन् । आक्रमणमा केही भिक्षु घाइते भएका छन् । बिबिसी बर्मेली सेवाका अनुसार उक्त स्थानमा दुईपटक आक्रमण गरिएको थियो । म्यानमारको सेनाले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । एएफपी समाचार संस्थाका अनुसार यो आक्रमण मन्डालेभन्दा करिब ७० किलोमिटर पश्चिममा पर्ने मध्यसागाइङ क्षेत्रको म्याउङ टाउनसिपमा भएको थियो ।
बौद्ध धर्मावलम्बीको विशेष धार्मिक अवधि (बुद्धिस्ट लेन्ट)को अवसरमा ध्यान शिविरका लागि सर्वसाधारण त्यहाँ भेला भएका थिए । लोकतन्त्र पक्षधर विद्रोही न्वे ऊ म्याउङले एएफपीलाई बताएअनुसार पीडितहरूमा ११ पुरुष र तीन महिला थिए । मृतकमध्ये पाँचजना एउटै गाउँका थिए भने बाँकी नौजना छिमेकी टाउनसिपका थिए । ‘वृद्धवृद्धा ध्यान केन्द्रमा प्रवेश गरेका थिए,’ म्याउङले थपे । उनले मृतकको उमेर ५० देखि ७० वर्षको बिचमा रहेको बताए ।
नाम नखुलाइएका अर्का एक विपक्षी लडाकुले आफू आक्रमणपछि जीवितहरूको खोजी गर्ने टोलीमा संलग्न रहेको बताए । ‘उद्धार गर्ने प्रयास गरिरहेका वेला विमान दोस्रोपटक बम खसाल्न आइपुग्यो,’ उनले भने । सन् २०२१ मा सेनाले आङ सान सुकीलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेयता म्यानमार गृहयुद्धको चपेटामा परेको छ र त्यहाँ सैनिक शासन लागू छ । सार्वजनिक भवनमा आक्रमण गरेको आरोप बारम्बार खेप्दै आएको सेनाले भने आफूले वैध लक्ष्यमा मात्र आक्रमण गर्ने दाबी गर्दै आएको छ ।