सहरमा कुस्ती प्रतियोगिता हुँदै थियो । अघिल्ला वर्षझैँ यस वर्ष पनि टाढाटाढाबाट नाम चलेका पहलमान आएका थिए । तीमध्ये एक यस्ता पहलमान थिए, जसले हरेक वर्ष प्रतियोगिता जित्दै आएका थिए । उनलाई पराजित गर्न लगभग असम्भव थियो भन्दा पनि हुन्छ ।
आयोजकले यस वर्षको प्रतियोगितामा विजयी हुनेले पाँच लाख नगद पुरस्कार जित्ने घोषणा गरेका थिए । पुरस्कार राशि ठुलो भएको हुनाले सबै पहलमानले जित हात पार्न सक्दो प्रयास गरे । तर, अघिल्ला वर्षका विजेता पहलमानसामु उनीहरूको कुनै दाउपेच चलेन । सबैलाई परास्त गरिसकेपछि ती पहलमानले दर्शकतिर फर्किएर भने– मसँग प्रतिस्पर्धा गर्ने हिम्मत भएको कोही बाँकी छ भने मैदानमा आए हुन्छ । म तयार छु ।
पहलमानको चुनौती सुनेर एक दुब्लोपातलो युवक उनीसामु उभिए र आफूले चुनौती स्वीकार गरेको बताए । उनलाई देखेर पहलमान जोडले हाँस्न थाले । उनले हाँस्दै प्रश्न गरे– बाबु ! तिमी होसमा त छौ नि, होइन ? ती दुब्लापातला युवकले पहलमाननजिक गएर उनको कानमा भने– पहलमानज्यू, म कहाँ तपाईंको अगाडि टिक्न सक्छु र ? तर, मसँग यो कुस्ती हार्नुभयो भने तपाईंलाई प्रतियोगिताको पाँच लाख नगद पुरस्कार त दिन्छु नै, साथमा मेरा तर्फबाट पाँच लाख थपेर पनि दिनेछु । आज हार्नुहोस् र भोलि मेरो घरमा आएर पूरै १० लाख लिएर जानुहोस् ।
आखिर एकपटक हार्दैमा तपाईंको ख्यातिमा कमी आउने होइन क्यार ! कुस्ती सुरु भयो । पहलमानले केहीबेर जमेर लडेकोजस्तो गरे । तर, पछि बिस्तारै उनी कमजोर देखिँदै गए र अन्त्यमा उनको हार भयो ।
प्रतियोगिताको दोस्रो दिन पहलमान सर्तअनुसारको पैसा लिन युवकको घर पुगे र १० लाख रुपैयाँ दिन माग गरे । युवकले प्रश्न गरे– हैन, तपाईं केको पैसा माग्दै हुनुहुन्छ पहलमानजी ? पहलमानले छक्क पर्दै भने– उही क्या, तिमीले मैदानमा खेल हारेबापत १० लाख दिन्छु भनेका थियौ नि ! हो, त्यही पैसा । युवकले हाँस्दै भने– त्यो त मैदानको कुरा थियो । तपाईं आफ्ना दाउपेच लगाइरहनुभएको थियो र म आफ्नो । यसपटक मेरो दाउपेच सफल भयो र मैले कुस्ती जितेँ ।