तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयले राज्यमा महिलालक्षित विभिन्न कल्याणकारी योजना घोषणा गरेका छन् । विधानसभामा सोमबार घोषणा गरिएका योजनामा योग्य लाभग्राहीका लागि वर्षमा तीनवटा नि:शुल्क खाना पकाउने ग्यास सिलिन्डर र महिलाका लागि नि:शुल्क बसयात्रा योजनाको विस्तारजस्ता कार्यक्रम समावेश छन् । खाना पकाउने ग्याससम्बन्धी योजनाअन्तर्गत तीनवटा सिलिन्डरको रकम सीधै योग्य लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ ।
अन्नपूर्ण सुपर सिक्स नामको योजनाअन्तर्गत नि:शुल्क ग्यास सिलिन्डर घरको मुख्य व्यक्ति (विशेषगरी महिला) लाई प्रदान गरिनेछ । यस योजनाअन्तर्गत वार्षिक चार हजार करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस सुविधाबाट राज्यका करिब एक करोड ३० लाख परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सरकारले महिलाका लागि राज्यभर नि:शुल्क बसयात्रा कार्यक्रमलाई विस्तार गर्ने मुख्यमन्त्रीले बताए । यस योजनाअन्तर्गत महिलाले महानगर र सहरी क्षेत्रमा सञ्चालित सरकारी ‘एक्सप्रेस’ र ‘डिलक्स’ बसमा नि:शुल्क यात्रा गर्न पाउनेछन् ।