प्रेरक प्रसंग : काम नलाग्ने बहुमूल्य वस्तु

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

भारतको एक राज्यमा उहिल्यै एक नबाब थिए । उनको राजधानीमा एकपटक कतैबाट एक फिरन्ते फकिर आइपुगे । उनी एक सार्वजनिक स्थानमा कुटी बनाएर बस्न थाले । उनको विद्वताको चर्चा बिस्तारै बढ्दै गयो । उनको आश्रममा उनीसित भेटघाट गर्न आउने सर्वसाधारणको भिडभाड बढ्दै गयो ।

फकिरको चर्चा नबाबसम्म पनि पुग्यो । नबाबलाई पनि फकिरसित भेटघाट गर्न मन लाग्यो । उनी पूरै नबाबी ठाँटबाटसहित सुन, चाँदी, हिरा, जवाहरत आदि बहुमूल्य वस्तुले भरिएको किस्ती सेवकलाई बोकाएर फकिरको आश्रममा पुगे । उनी आश्रममा पुग्दा फकिर सर्वसाधारणसित कुराकानी गर्दै थिए । फकिरले नबाबलाई खासै महत्व नदिई एकछिन प्रतीक्षा गर्न संकेत गरे । नबाबको पालो आएपछि फकिरले उनलाई बोलाए ।

फकिरसित भेट्नासाथ नबाबले बहुमूल्य वस्तुले भरिएको किस्ती भेटका रूपमा फकिरलाई दिए । फकिरले किस्तीलाई छुँदा पनि छोएनन् । किस्तीको बदलामा फकिरले नबाबलाई एउटा सुक्खा रोटी दिए र त्यसलाई खान अनुरोध गरे । रोटी निकै चाम्रो थियो । त्यसैले, नबाबले त्यसलाई चपाउन सकेनन् । फकिरले नबाबतिर हेर्दै भने– जसरी मैले दिएको रोटी तपाईंको काम लागेन, त्यसैगरी तपाईंले दिएका बहुमूल्य वस्तु मलाई काम लाग्दैनन् । वास्तवमा हामीले त्यही वस्तु स्वीकार गर्नुपर्छ, जुन हाम्रा लागि उपयोगयोग्य हुन्छ । 

फकिरका कुरा सुनेर नबाब निकै प्रभावित भए । केहीबेरको भलाकुसारीपछि नबाब आश्रमबाट फर्किए । फर्किंदा फकिर उनलाई बिदा गर्न आश्रमको मूलढोकासम्म पुगे । नबाबले सोधे– म आउँदा तपाईंले खासै वास्तासमेत गर्नुभएन । तर, अहिले फर्किंदा भने बिदा गर्न ढोकासम्मै आउनुभयो । यसको कुनै कारण छ कि ?

फकिरले भने– यहाँ आउँदा तपाईंको साथमा अहंकार थियो । तर, अब फर्किंदा भने त्यो चोला त्यागेर तपाईं सच्चा मनुष्य बन्नुभएको छ । म जहिल्यै मानवताको सम्मान गर्छु । फकिरको भनाइ सुनेर नबाब थप नतमस्तक भए ।

सुझावित समाचार