सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे । सेठले एउटा सुगा पालेका थिए । एक दिन सुगाले सेठसित सोध्यो– ‘सेठजी, तपाईंहरू हरेक दिन कहाँ जाने गर्नुहुन्छ ?’ सेठले जवाफ दिए– ‘हामी हरेक दिन साधुमहाराजको सत्संग सुन्न जान्छौँ ।’
सेठजीको जवाफ सुनेपछि सुगाले भन्यो– ‘हजुरहरू सत्संगमा जानुहुन्छ भने कृपया साधुमहाराजसँग म कहिले स्वतन्त्र हुन्छु भनेर पनि सोधिदिनुहोस् न ?’ हुन्छ, भनेर उनीहरू सत्संग सुन्न गए । सत्संग समाप्त भयो । सबै श्रोता बाहिरिएपछि सेठजीले सोधे, ‘साधुमहाराज, मैले एउटा सुगा पालेको छु । त्यसले आज एउटा प्रश्न हजुरसामु राखिदिन अनुरोध गरेको छ । ऊ जान्न चाहन्छ कि ऊ कहिले स्वतन्त्र हुनेछ ?’
प्रश्न सुन्नासाथ साधु महाराज बेहोस भएर ढले । उनलाई सहयोगीले उठाएर आश्रमको भित्री भागमा लगे । सेठ चुपचाप त्यहाँबाट निस्किए । उनी घर पुग्नासाथ सुगाले सोध्यो, ‘सेठजी, मेरो स्वतन्त्रताबारे साधु महाराजले के भन्नुभयो त ?’ सेठले भने, ‘तेरो भाग्य नै खोटो रहेछ । प्रश्न सोध्नासाथ साधु महाराज बेहोस भएर ढल्नुभयो ।’ सेठको जवाफ सुनेपछि सुगाले भन्यो, ‘केही छैन सेठजी, मैले बुझेँ ।’
अर्को दिन बिहान सेठ र उनकी पत्नी सत्संगका लागि निस्किँदै थिए, त्यति नै खेर सुगा पिँजरामा जानाजान छट्पटाउँदै बेहोस भएर ढल्यो । सेठलाई लाग्यो, ला ! सुगा त मर्यो कि क्या हो ! उनले सुगालाई पिँजराबाट बाहिर निकाले । मौका पाउनासाथ सुगा भुर्र उडेर बेपत्ता भयो ।
सत्संगमा पुग्नासाथ साधुले सेठसित सोधे, ‘हिजो तपाईं सुगाका बारेमा केही सोध्दै हुनुहुन्थ्यो, अब ऊ कहाँ छ ?’ सेठले भने, ‘महाराज, आज बिहानै ऊ जानाजान बेहोस भएको नाटक गरेर पिँजरामा लडेको रहेछ । मैले ऊ मरेछ भन्ने ठानेर बाहिर निकाल्नासाथ ऊ उडेर बेपत्ता भयो ।’ सेठको जवाफ सुनेपछि मुसुक्क मुस्कुराउँदै साधुले भने, ‘हेर्नुहोस् त सेठजी, तपाईं यति धेरै दिनदेखि सत्संग सुनेर पनि अझै सांसारिक मायामोहको पिँजरामा फसिरहनुभएको छ, तर त्यो सुगा भने सत्संगमा नआईकनै पनि मेरो एउटा इसारा बुझेर स्वतन्त्र भयो ।’