सन् २०२५ को मे महिनामा भारत र पाकिस्तानबिच चार दिनसम्म भीषण युद्ध भयो । सञ्चारमाध्यममा लडाकु विमान, ड्रोन र क्षेप्यास्त्रको चर्चा बढी भए पनि वास्तवमा दुई देशबिचको सबैभन्दा निर्णायक प्रतिस्पर्धा भने पृथ्वीको सतहबाट केही सय किलोमिटरमाथि अन्तरिक्षको कक्षमा भएको थियो । त्यसैले, भन्न सकिन्छ कि यो आणविक हतियार सम्पन्न दुई राष्ट्रबिच उपग्रह प्रयोगमार्फत निर्णायक रूपमा आकार दिएको पहिलो युद्ध थियो । निकै कम विश्लेषकले मात्र यस तथ्यलाई स्वीकार गरे र यो मौनता अर्थपूर्ण छ । दक्षिण एसिया अहिले यस्तो नयाँ प्रकारको हतियार होडबाजीतर्फ धकेलिँदै छ, जसलाई नियन्त्रण गर्ने कुनै नियम वा मापदण्ड छैन ।
मे ६ को रातले एउटा यस्तो सन्देश दिएको थियो, जसले दुई देशका वायु सेनालाई अस्थिर बनाएको हुनुपर्छ । सानो सेनाका साथ पाकिस्तानले बलियो सञ्जाल भएको युद्ध लड्यो । उसले ग्राउन्ड राडार, डेटा लिंक र स्याटेलाइट नेभिगेसनलाई एउटै ‘किल चेन’मा मिलायो, आक्रमणको योजना बनायो र कार्यान्वयन गर्यो । पाकिस्तानको रणनीति वायु सेनाद्वारा विकसित गरिएको थियो, जसको नेतृत्वले वर्षौंदेखि त्यो सिद्धान्तलाई अभ्यास गर्दै आएको थियो ।
इस्लामाबादले चीनमा निर्मित जे १० सी लडाकु विमानले २०० किलोमिटरभन्दा बढी दूरीमा रहेको भारतीय राफेललाई खसालेको पाकिस्तानी अधिकारीले दाबी गरे । यो दायराभन्दा बाहिरबाट गरिएको आक्रमण थियो, जुन युद्धमा बिरलै देखिन्छ । भारतमा यो विवरणबारे सुरुमा विवाद देखियो । पछि उसका आफ्नै रक्षा प्रमुखले वायुसेनाले त्यस दिन विमान गुमाएको भनी स्वीकार गरे । भारत पुनः समूहबद्ध भयो र त्यसपछिका दिनमा पाकिस्तानविरुद्ध कडा प्रहार गर्यो । प्रत्येक पक्षले आफ्नो राडार, प्रारम्भिक चेतावनी, डेटा लिंकहरू र मिसाइललाई एक प्रणालीमा निकै राम्रो तरिकाले ‘फ्युज’ गर्यो ।
दुई देशबिच एक वर्षअघि भएको टकराबमा इस्लामाबादले चीनमा निर्मित जे १० सी लडाकु विमानमार्फत २०० किलोमिटरभन्दा टाढा दूरीमा रहेको भारतीय लडाकु जेट राफेललाई खसालेको पाकिस्तानी अधिकारीकले दाबी गरेका छन्
यी सबै अन्तरिक्षमा आधारित प्रविधि थियो । आधुनिक आक्रमण उपग्रहमा हुन्छन्, लक्ष्य फेला पार्न उपग्रह तस्बिर, हतियारलाई मार्गदर्शन गर्न नेभिगेसन र यसलाई एकसाथ राख्न लिंकहरू । दुवै पक्षले आफ्नो सीमाभन्दा बाहिर पुग्न तिनीहरूलाई प्रयोग गरे । दिल्ली अमेरिकी व्यावसायिक उपग्रह फर्म म्याक्सार टेक्नोलोजीमा निर्भर थियो भने पाकिस्तान चिनियाँ प्रणालीमा भर परेको थियो । भारतीय उपसेना प्रमुखका अनुसार बेइजिङले पाकिस्तानलाई भारतीय तैनाथीलाई निष्क्रिय पार्न प्रत्यक्ष ‘इनपुट’ प्रदान गर्यो । बिइडोउ उपग्रह नेटवर्कले लडाइँको समयमा तथ्यांक वितरण गरेको अनुसन्धानकर्ताले रिपोर्ट गरेका छन् ।
यहीँनेर चीनमाथि पाकिस्तानको निर्भरतासम्बन्धी प्रचलित धारणालाई सच्याउनु आवश्यक छ । कुनै महाशक्ति राष्ट्रमाथि निर्भर रहनु पाकिस्तानको मात्र विशेषता होइन । अधिकांश देशले आफ्नो अन्तरिक्ष कार्यक्रमको विकास यसैगरी सुरु गर्छन् । भारतले सन् १९७५ मा सोभियत रकेटमार्फत आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो । साथै, सन् १९९१ मा प्राप्त ‘क्रायोजेनिक इन्जिन’ (अत्यधिक चिसो पारिएको तरल इन्धन बालेर भारी उपग्रह प्रक्षेपण गर्ने उच्च दक्षतायुक्त रकेट मोटर) मा आधारित भएर भारतले भारी भार बोक्न सक्ने क्षमता विकास गरेको थियो ।
चीन आफैँले पनि सोभियत क्षेप्यास्त्र (मिसाइल) को डिजाइनबाटै सुरुवात गरेको थियो । संकटको समयमा जुनसुकै वेला सहयोग बन्द हुन सक्ने डरका कारण अमेरिकी प्रणालीमाथिको लामो निर्भरता त्यागेर चीनतर्फ ढल्किनु पाकिस्तानको एक तार्किक निर्णय हो, जसरी कुनै समय भारतले आफ्ना अधिकांश हतियार र पहिलो उपग्रह प्रक्षेपणका लागि पश्चिमा मुलुकको साटो मस्कोलाई रोजेको थियो ।
जोखिम यो हो कि यसले द्विपक्षीय आणविक प्रतिद्वन्द्विताभित्र तेस्रो शक्तिलाई स्थान दिन सक्छ र वासिंटन, मस्को र बेइजिङबिचको व्यापक प्रतिस्पर्धामा क्षेत्रीय झगडालाई जोड्छ । भारतले पाकिस्तान, चीन र हिन्द महासागर हेर्न ५२ सैन्य उपग्रहका लागि ३.२ अर्ब अमेरिकी डलर (२.४ बिलियन पाउन्ड) मूल्यको स्वदेशी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउँदै नयाँ अन्तरिक्ष सिद्धान्त र काउन्टर स्पेस शस्त्रागारलाई पूर्ण रूपमा प्रतिक्रिया दिन छनोट गरेको छ । यसले २०१९ को आफ्नो मिसन शक्ति परीक्षण कक्षमा उपग्रह नष्ट गर्ने क्षमता प्रदर्शन गरिसकेको छ । पाकिस्तानले चीनसँगको आफ्नो साझेदारीलाई गहिरो बनाएर प्रतिक्रिया दिने सम्भावना छ ।
गहिरो खतरा भनेको कक्षमा युद्ध होइन, बरु यी प्रणालीले कसरी संकुचित गर्छन् भन्ने हो । मैले सीमित हवाई युद्धको सिद्धान्तमा लेखेझैँ आणविक छिमेकी बिरलै जानाजानी अगाडि बढ्छन् । तिनीहरू समयको दबाबमा द्वन्द्वमा जान्छन् । उपग्रहहरूले यी राज्यलाई लापरबाह बनाउँदैनन् । तिनीहरूले गलत गणनाका लागि ‘मार्जिन’ कम गर्छन् ।
अनि त्यहाँ कुनै नियम पुस्तिका छैन । सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिले कक्षमा आमविनाशकारी हतियारलाई प्रतिबन्ध लगाएको छ । तर, यो युद्धलाई आकार दिने परम्परागत, इलेक्ट्रोनिक र साइबर उपकरणमा मौन छ । नयाँ मापदण्ड रोकिएका छन् । भारत अन्तरिक्षमा जिम्मेवार व्यवहारसम्बन्धी हालै संयुक्त राष्ट्र संघले जारी गरेका प्रस्तावबाट केही टाढा रहेको देखिन्छ । यसैबिच, पाकिस्तानले अझै लागू गर्न नसक्ने संयमको आग्रह गर्छ । अन्तरिक्षको क्षेत्रमा त्यस्तो केही पनि छैन, यहाँसम्म कि वासिंटन र मस्कोबिचको शीतयुद्धकालीन प्रतिस्पर्धालाई व्यवस्थित गर्ने अपूर्ण हटलाइन र हातहतियार नियन्त्रणसम्बन्धी सन्धिजस्तो संयन्त्र पनि यहाँ उपलब्ध छैन ।
वर्षौंदेखि, अन्तरिक्षमा युद्धका बारेमा बहस अमेरिका, चीन र रुसमा केन्द्रित छ । तैपनि, १९४७ मा विभाजित (त्यसपछि चारवटा युद्ध लडेका) देशबिच संसारले पहिलोपटक आणविक शक्तिबिचको अन्तरिक्ष द्वन्द्व कस्तो देखिन्छ भनेर अनुभूति ग¥यो । अनुसन्धानमा फर्कनुअघि पाकिस्तान वायुसेनामा १७ वर्ष बिताइसकेपछि मलाई लाग्छ कि मे युद्ध पाकिस्तानको चीनमाथिको निर्भरताका बारेमा त्यति कथा होइन, जति दुई आणविक प्रतिद्वन्द्वीहरूले कुनै पनि प्रतिबन्धभन्दा अगाडि एउटै अन्तरिक्षसक्षम प्रविधिमा दौडिरहेका छन् । उपकरणहरू द्रुत गतिमा अगाडि बढिरहेका छन् ।
हैदरले ल्यान्कास्टर विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै छन् । द कन्भर्सेसनबाट