प्रदेश सभामा मुख्यमन्त्री शाहले गरे राजीनामाको घोषणा

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहले प्रदेश प्रमुखकहाँ गएर राजीनामा दिन लागेको जानकारी गराएका हुन्।

‘अब बन्ने सरकारलाई सफलताको शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य मान्यता, नेपालको संविधानप्रति दृढ रही यही रोस्ट्रमबाट मुख्यमन्त्री पदबाट राजीनामाका लागि प्रदेश प्रमुखकहाँ जाँदै छु भन्ने कुराको जानकारी गराउन चाहन्छु,’ सम्बोधनका क्रममा उनले भने।

प्रदेश सभालाई सम्बोधन गरेर मुख्यमन्त्री शाह राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय प्रस्थान गरेका छन्। एमालेले समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकारमा गत ३१ असारमा अल्पमतमा परेको थियो। सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार शाह अल्पमतमा परेको ३० दिनसम्म पदमा रहे।

संवैधानिक व्यवस्थाअनुसार एक महिनाअघि अल्पमतमा परेका मुख्यमन्त्री शाहले विश्वासको मत लिने वा पदबाट राजीनामा दिने आज अन्तिम दिन थियो। उनको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।

सुझावित समाचार