सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले केहीबेरमा पदबाट राजीनामा दिने भएका छन् । त्यसअघि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नेछन्। अहिले बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
केहीबेरअघि बसेको नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल भएको थियो । मुख्यमन्त्रीले सदनलाई सम्बोधन गरेर प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने निर्णय बैठकले गरेको कंग्रेसका प्रमुख सचेतक सरस्वती खड्काले जानकारी दिइन् ।
शाह गत ३१ असारदेखि अल्पमतको सरकार चलाइरहेका छन् । बजेट भागबन्डाका विषयमा कांग्रेस र एमालेबिच विवाद चर्किएपछि मुख्यमन्त्रीले एमालेका चार मन्त्रीलाई ३१ असारमा बर्खास्त गरेका थिए । एमालेले त्यही दिन समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने वा पदबाट राजीनामा दिने आज अन्तिम दिन हो ।
मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । सुदूरपश्चिममा नेकपा र एमालेको संयुक्त सरकार गठन हुनेछ । नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।