अल्पमतको सुदूरपश्चिम सरकारले जाँदाजाँदै कर्मचारी सरुवाको निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचौँदेखि दसाैँ तहका ५२ जना कर्मचारीको सरुवा बिहीबार गरेको हो। कार्यालयका सूचना अधिकारी उपसचिव शेरबहादुर बस्नेतले मुख्यसचिवस्तरीय निर्णयका आधारमा कर्मचारी सरुवा गरिएको जानकारी दिए।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सरुवा नियमित प्रक्रिया भए पनि मुख्यमन्त्री कमलबहादुर शाहको चाहनामा सरुवाको निर्णय भएको हो। निकट केही कर्मचारीलाई रोजेको ठाउँमा ल्याउन जाँदाजाँदै सरुवाको निर्णय भएको बताइएको छ। एक महिनादेखि अल्पमतको सरकार चलाइरहेका मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत लिने वा पदबाट राजीनामा दिने विकल्पमा जाने आज अन्तिम दिन हो।
एमालेले समर्थन फिर्ता लिएपछि गत ३१ असारमा शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अन्तिम समय सीमा आज सकिँदै छ।
सत्ता सहकार्यको सहमति गरेका नेकपा र एमालेको प्रदेश सभामा स्पष्ट बहुमत रहेकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना देखिँदैन। यद्यपि, विश्वासको मत लिने प्रयोजनका लागि बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री शाहले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने बताइएको छ, तर विश्वासको मत लिनेबारे पनि छलफल भइरहेको कांग्रेसका एक सांसदले बताए।