- दोस्रोपटक कप्तानीको अवसर पाएका सन्दीपमाथि अब एकदिवसीय मान्यताको रक्षा, एसिया कप छनोट र खेलाडीबिचको सम्बन्ध सुमधुर राख्नुपर्ने चुनौती
सन्दीप लामिछानेको कप्तानीमा नेपालले आगामी ३० अगस्टदेखि मलेसियामा हुने एसिसी प्रिमियर कपमा सहभागिता जनाउँदै छ । कप्तानीका रूपमा सन्दीपको यो दोस्रो इनिङ्स हो । चार वर्षअघि बलात्कारको मुद्दामा जेल परेपछि उनले कप्तानी गुमाएका थिए । चार वर्षपछि फेरि उनले नेपाली राष्ट्रिय पुरुष टोलीको जिम्मेवारी पाएका छन् । चार वर्षअघि कप्तान हुँदा सन्दीपले १४ एकदिवसीय खेलमा नेपाललाई चार खेलमा जित दिलाए । उनको नेतृत्वमा नेपालले ९ खेलमा हार र एकमा नतिजाविहीन नतिजा निकालेको थियो । रोहितजस्तै सफल कप्तान बन्न सन्दीपले ठुलै चुनौतीको समाना गर्नुपर्नेछ ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा नेपालको फितलो प्रदर्शन भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अप्रत्याशित रूपमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाएको थियो । अब कप्तानीका रूपमा सन्दीपले आफ्नो दोस्रो इनिङ्सलाई कसरी अगाडि बढाउँछन् भन्ने प्रश्न छ । उनले विश्वकप लिग २ मा कठिन मोडमा रहेको नेपाललाई कम्तीमा एकदिवसीय मान्यता रक्षा गराउनुपर्नेछ ।
विश्वकप लिग २ को शीर्ष चारमा रहँदै एकदिवसीय विश्वकपको ग्लोबल छनोट पुग्ने अवसर नेपालले गुमाइसकेको छ । यस्तोमा नेपालको मुख्य लक्ष्य नै आठ वर्षअघि प्राप्त गरेको एकदिवसीय मान्यता रक्षा गर्नु हो । यसमा सन्दीपको परीक्षा सुरु भएको छ । यो त्यति सहज देखिँदैन ।
नेपालले अब एक सिरिज मात्र खेल्न बाँकी छ । उक्त सिरिजमा शतप्रतिशत जित निकाल्दा नेपालको एकदिवसीय सम्भवतः रक्षा हुनेछ । यसमा पनि खराब प्रदर्शन गर्दा नेपालले एकदिवसीय हैसियत गुमाउनेछ । यसैबिच, नेपाली टोलीले एसिया कप छनोट खेल्दै छ । यो प्रतियोगिता पार गर्न अर्को चुनौती सामना गर्नुपर्नेछ । क्यानले फर्ममा नरहेका खेलाडीलाई नेपालको ‘ए’मा घटुवा गरेको छ । कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामीजस्ता खेलाडी सिनियर टोलीमा रहँदा सन्दीपले युवा खेलाडीको साथमा आफ्नो यात्रा अगाडि बढाउनुपर्ने चुनौती छ । उनलाई सिनियर र युवा खेलाडीबिचको तालमेल मिलाउनुपर्नेछ ।
आफैँ लयमा आउनुपर्ने
सन्दीप करिअरमा पहिलोपटक राष्ट्रिय टोलीबाट एक खेलमा ड्रप भए । नेपाली टोलीमा आबद्ध भएयता उनी पहिलोपटक नेदरल्यान्ड्सको सिरिजमा बाहिरिएका थिए । यस्तो हुनुको पछाडि उनी पछिल्लो विश्वकप लिग २ को सिरिजमा लगातार तीन खेलमा विकेटविहीन भए । जसका कारण मुख्य प्रशिक्षक स्टुवाट लले उनलाई अन्तिम खेलमा बाहिर राखे । नेपाललाई एक निश्चित दिशातर्फ लैजाने जिम्मेवारी पाएका सन्दीप स्वयं पनि फर्ममा अउनुपर्ने चुनौती छ । दुई महिनाअघि त्रिवि क्रिकेट मैदानमा भएको विश्वकप लिगमा नेपालले ओमान, युएई, अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखलामा ८ मध्ये ६ खेल जित्यो ।
जसमा सन्दीपले १९ विकेट लिएका थिए । नेपाली क्रिकेटरले यसबिचमा दुई महिना ब्रेक पाए । ब्रेकपछि सिधै नेदरल्यान्ड्समा पुग्दा अन्य खेलाडीका साथै सन्दीपको फर्मसमेत खस्किएको थियो । अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध उनी प्लेइङ ११ मै पर्न सकेनन् । त्यसैले पनि सन्दीप निकै दबाबमा हुनेछन् ।
एकदिवसीय मान्यता जोगाउनु
सन्दीपले यस्तो अवस्थामा कप्तानी जिम्मेवार पाएका छन्, जुन ओकल्नु कि निल्नुबराबर हो । नेदरल्यान्ड्स भ्रमणमा प्राप्त असफलताका कारण नेपालको ग्लोबल छनोट हुने आधार सबै समाप्त भयो । अब नेपालको चार खेल बाँकी छ । यो सिरिजमा आफूअनुकूल नतिजा निकाल्न सकिएन भने नेपालको एकदिवसीय मान्यता खोसिनेछ । नेपालले आगामी चार वर्षको चक्रमा आइसिसीबाट पाउने आर्थिक सहयोग रोकिनेछ । यस्तै, राष्ट्रिय टोलीले खेल्ने अन्तर्राष्ट्रिय सिरिज खेल संख्या पनि घट्नेछ । विश्वकप लिग २ मा नेपाल २४ अंकसहित सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा ११ जित र १९ मा हार व्यहोरेको छ ।
खेलाडीबिच तालमेल मिलाउनु
अहिले नियमित खेलरहेका पाँच खेलाडी सिनियर टोलीबाट बाहिर छन् । कुशल भुर्तेल, सोमपाल, विनोद भण्डारी, नन्दन यादव र आरिफ शेख बाहिरिए । उनीहरूको स्थानमा देव खनाल, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन् । बाहिर रहेका खेलाडीलाई अन्य प्रतियोगिताका लागि मनोबल खस्कन नदिन र नयाँ खेलाडीलाई उच्च मनोबलका साथ खेल्न आत्मविश्वास बढाउनुपर्ने दबाब सन्दीपमाथि छ । रोहितको साथ पनि सन्दीपलाई आवश्यक रहनेछ । सन्दीपले रोहितको साथमा आफ्नो यात्रालाई सुमधुर रूपमा अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ ।
एसिया कपमा स्थान बनाउनु
सन् २०२३ मा विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानविरुद्ध खेलेसँगै नेपाली क्रिकेटको थप उचाइ बढेको थियो । भारत र पाकिस्तानविरुद्ध नेपाली खेलाडीको प्रदर्शन सर्वत्र चर्चाको विषय बन्यो । फेरि यही अवसर नेपालसँग रहेको छ ।
बंगलादेशमा हुने एसिया कपअघि नेपालले मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप २०२६ खेल्दै छ । एसिया कपमा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्ने पक्का भइसकेको छ ।
सन्दीपबारे पूर्व कप्तान तथा पूर्व छनोट समिति संयोजक लेखबहादुर क्षेत्री भन्छन्-
सन्दीप एसिसी प्रिमियर कपबाट कप्तानकाे जिम्मेवारी पाउँदैछन् । उनको कप्तानीमा नेपाललाई एसिया कपमा स्थान बनाउने उत्तिकै अवसर छ । दोस्रो पटक कप्तानकाे जिम्मेवारी पाउँदा अपरिपक्वता र परिपक्वताको रुपमा हेर्छु । हिजोको दिनमा उहाँमाथि अपरिपक्वता थियो । लिडरसिप र टिम हाक्न सक्ने क्षमता विशेषता हुनुपर्थ्यो, त्यो थिएन । दुई तीन वर्षमा धेरै परिवर्तन भएका छन् ।
मनोबैज्ञानिक रुपमा परिपक्व भएका छन् । चुनौती धेरै छन् । सहज केही छैन । लिग २ बाट एकदिवसीय मान्यता जोगाउनुपर्नेछ । नयाँ खेलाडीलाई मिलाउनुपर्नेछ । प्रत्येक खेलाडीको क्षमता बुझेर रोल दिनुपर्नेछ । खेलाडीलाई एक ढिक्का बनाउनुपर्नेछ । हरेक खेलको क्षमताअनुसार खेलाडीलाई मैदानमा उतार्नुपर्छ ।
क्यानदेखि, प्रशिक्षक र टिम स्टाफसँग उत्तिकै तालमेल मिलाउनुपर्नेछ । रोहितले जति गरे धन्यवादका पात्र हुन् । तर खेल र नतिजा नआएको हो । सबैले जिम्मेवारी बहन गर्नुपर्छ । कोचको हकमा पनि यही हो । अब सन्दीपले परिपक्व निर्णय गर्नुपर्छ । सन्दीपमाथि धेरैले आशा गरेका छन् । अरुको आशा खेर जान नदिने अर्को चुतौती पनि सन्दीपमाथि छ ।