कामिलको शतक र रविको अर्धशतकमा काठमाडौंलाई २०५ रनको लक्ष्य

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं ।

कामिल मिशारा र रवि बोपाराको शतकीय साझेदारीसँगै तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य दिएको छ।

बुधबार चितवनका कप्तान रवि बोपाराले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका थिए। चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो। तेस्रो एनपिएलमा दुई सय रन बनाउने चितवन दोस्रो टिम बन्यो। यसअघि दुबै पटक पोखराले २२५ र २१८ रन बनाएको थियो।

चितवनका लागि श्रीलंकन ओपनर कामिल मिशाराले सर्वाधिक अविजित १२० रन बनाए। उनले ५९ बलमा ५ चौका र १० छक्का हिर्काएका थिए।

चौथो खेल खेलिरहेका कामिलले ५३ बलमा एक सय रन बनाएका हुन्। एनपिएलमा कामिलको पहिलो सतक हो। कामिल एनपिएलमा व्यक्तिगततर्फ सर्वाधिक रन बनाउने पहिलो खेलाडी समेत बने। उनले कर्णाली याक्सका मार्क वाटको कीर्तिमान तोडेका हुन्।

कामिल एनपिएलमा सतक बनाउने पाँचौं खेलाडी हुन्। चितवनबाट सतक बनाउने भने पहिलो खेलाडी बने। यसअघि कर्णाली याक्सका मार्क वाटले अविजित ११४, पोखराका एदाम रोसिंटनले अविजित १०८, आन्द्रेस गोउस अविजित १०४ र युवराज सिंह सामराले १०२ रन बनाएका थिए।

कप्तान रवि बोपाराले ५३ रन बनाए। उनले ४२ बलमा तीन चौका र २ छक्का हानेका थिए। कप्तान सिकन्दर राजा युएईको लिग खेल्न गएपछि रवि बोपराले पुनः कप्तानी जिम्मेवारी सम्हालेका हुन्। उनले समूह चरणमा पनि काठमाडौंविरुद्ध नै अर्धसतक बनाएका थिए। सो खेलमा ५५ रन जोडको थिए।

कामिल र रविले तेस्रो विकेटको लागि १५४ रनको साझेदारी गरे।यसअघि ओपनर देव खनाल १५ बलमा १७ रन बनाएर आउट भएका थिए। २ चौका र १ छक्का हिर्काएका उनलाई कप्तान करण केसीले रसिद खानबाट क्याच गराएका हुन्। तेस्रो क्रममा आएका डेविड मलानलाई करणले नै विलियम बोसिस्टोबाट क्याच गर्दै डकआउट गराएका थिए। विवेक यादवले ८ रन बनाएर आउट भए।

काठमाडौंका लागि  कप्तान करण केसी र रसिद खानले समान २ विकेट लिए।

सुझावित समाचार