मलानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

बिहिबार, ३ मंसिर, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सलाई तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान बनाउन चितवन राइनोजले १३४ रनको लक्ष्य दिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनायो।

सुदूरका बलर हाबी भएपछि चितवनका डेविड मलानबाहेक कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन्। मलानले एकतर्फी इनिङ्स तन्काए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। शीर्षक्रम र मध्यक्रमका ब्याटरलाई दोहोरो अंकमा रन बनाउन निकै संघर्ष गर्नुपर्यो। मलानले एक्लै इनिङ्स धान्दै लज्जास्पद स्कोर बनाउनबाट टिमलाई जोगाए।

तल्लोक्रमका सलाहुद्दिन खानले १८ रन जोडे। आठौं क्रममा आएका उनले १६ बलमा १ चौका प्रहार गर्दै मलानलाई राम्रो साथ दिएका थिए। सलाहुद्दिन र मलानबीच सातौं विकेटको लागि सर्वाधिक ४० रनको साझेदारी भएको हो। 

३९ वर्षीय इंग्ल्यान्डका ब्याटर मलानले सर्वाधिक अविजित ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का हिर्काएका हुन्। यसअघि मलानले ३८ बलमा आठ चौका र १ छक्कासहित ५० रन बनाएका थिए। प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यसअघि समूह चरणमा विराटनगरविरुद्ध पहिलो खेलमै ७० रन बनाएका थिए।

बलर कमल सिंह ऐरीले ८ बलमा १० रनको योगदान गरे। यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध कीर्तिमानी शतक बनाएका श्रीलंकन कामिल मिशरा मात्र ४ रन बनाएर आउट भए। एनपिएलकै व्यक्तिगततर्फ सर्वाधिक रन बनाउने क्रममा उनले अविजित १२० रन बनाएका थिए।

देव खनाल ६, इंग्ल्यान्डका पूर्व खेलाडी समेत रहेका कप्तान रवि बोपारा १, विवेक यादव ३, पूर्वकप्तान कुशल मल्ल १, पाकिस्तानी अलराउन्डर उसमा मिरले २ रन जोडे।

सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २७ रन खर्चिए। थारिन्दु रत्नायेकेले २ विकेट लिए। इशान पाण्डे, हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे। 

चितवनले इलिमिनेटरमा काठमाडौंलाई ६१ रनले पराजित गर्दै क्वालिफायर्स २ मा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। सुदूर भने क्वालिफायर्स १ मा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित हुँदा सिधै फाइनल पुग्न चुकेको थियो।

यसअघि लिग चरणमा सुदूरले ७ मध्ये ५ खेल जितेर १० अंकसहित दोस्रो स्थान हासिल गरेको थियो। चितवनले समान सात खेलमा ३ जितसहित ७ अंक जोडेर चौथो स्थानमा रहँदै दोस्रो पटक प्लेअफ यात्रा तय गरेको थियो। आजको खेलको विजेताले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सुझावित समाचार