बोपाराले पूरा गरे पाँच सय खेल

बिहिबार, ३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • चितवन राइनोजमा आबद्ध इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर रवि बोपाराले काठमाडौं गोर्खाजविरुद्ध करिअरकै पाँच सय टी–२० खेल पूरा गरे

काठमाडाैं- चितवन राइनोजबाट नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गरिरहेका रवि बोपाराले करिअरकै पाँच सय टी–२० खेल पूरा गरेका छन् । बोपाराले बुधबार त्रिवि मैदानमा काठमाडौं गोर्खाजविरुद्ध इलिमिनेटर प्रतिस्पर्धामा करिअरकै पाँच सय खेल पार गरेका हुन् । इंग्ल्यान्डका पूर्वखेलाडी बोपाराले सय खेलमा नटआउट रहेका छन् । तेस्रो सिजनको एनपिएलमा उनी धेरै रन बनाउने सूचीको तेस्रो स्थानमा उक्लिएका छन् ।

उनले ६ खेलमा दुई अर्धशतकीय योगदानमा २३७ रन जोडेका छन् । उनीभन्दा माथि विराटनगरका किंग्सका लोकेश बम (२४२) र पोखराका युवराज सम्रा (२९४) रहेका छन् । तेस्रो सिजनको एनपिएलमा बोपाराले १२६.७३ को स्ट्राइकमा ब्याटिङ गरिरहेका छन् । चालू सिजनमा बोपाराले १८७ बल सामना गर्दा १५ चौका र १० छक्का प्रहार गरेका छन् । उनले सुदूरपश्चिमसँगको खेलमा ४९ रन जोडेका थिए ।

टी–२० फर्म्याटका अनुभवी
विश्व क्रिकेटमै बोपारा अनुभवी खेलाडी मानिन्छन् । तीनवटै फर्म्याटमा जमेका बोपाराले विभिन्न ३१ वटा फ्रेन्चाइज टोलीबाट प्रतिस्पर्धा गरिसकेका छन् । पछिल्लो समयमा उनी निरन्तर रूपमा एनपिएलमा आबद्ध छन् । चितवनले यसपटक उनलाई कप्तानीको जिम्मेवारी दिएको हो । कप्तानीका रूपमा उनले टोलीलाई प्लेअफमा स्थान दिलाए । विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)मा उनले दुई टोलीबाट प्रतिस्पर्धा गरे । सनराइजर्स हैदराबाद र पन्जाब किंग्सबाट उनले प्रतिस्पर्धा गरेका थिए । सन् २०१५ को आइपिएलमा उनले हैदराबादबाट नौ खेलमा ६ विकेट लिएका थिए । यसैगरी पन्जाबबाट १५ खेलमा उनले पाँच विकेट हात पारेका थिए । उनले बिपिएल लिगमा एक हजार १०९ रन जोडेका छन् ।

तीन शतक र ५२ अर्धशतक
बोपाराले टी–२० करिअरमा १० हजार १८५ रन पूरा गरेका छन् । उनले चालू एनपिएलमै १० हजार रनको कोसेढुंगा पार गरेका हुन् । उनले यस विधामा अलिहेसम्म तीन शतक तथा ५२ अर्धशतकीय इनिङ्स खेलेका छन् । यसैगरी उनले ७९२ चौका र ३१७ छक्का प्रहार गरेका छन् । यस क्रममा उनले आठ हजार २५० बल सामना गरेका छन् । उनले टी–२० फर्म्याटमा ४५९ इनिङ्समा २८.३० को औसतमा ब्याटिङ गरेका छन् । बोपारा लामो समयसम्म आबद्ध भएको फ्रेन्चाइज लिग भेटालिटी ब्लास्ट हो । यहाँ उनले केवल तीन टोलीबाट मात्र प्रतिस्पर्धा गरेका थिए । यसै लिगमा उनले तीन शतक र २९ अर्धशतकीय इनिङ्स खेले । ब्लास्टमा उनले सर्वाधिक पाँच हजार २९० रन जोडेका छन् । यसैगरी उनले ४२१ चौका र १८२ छक्का प्रहार गरे ।

इंग्ल्यान्डका लागि ३८ टी–२० आई खेल
कुनै समय बोपारा इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर खेलाडी थिए । उनले इंग्ल्यान्डबाट ३८ टी–२० आई खेले । ३५ इनिङ्स ब्याटिङ गरेका उनले ७११ रन बनाए । टी–२० आईमा उनको सर्वाधिक रन ६५ रह्यो । यस विधामा उनले तीन अर्धशतक लगाए । उनले १३ टेस्ट तथा १२० एकदिवसीय खेल खेले । बलिङका क्रममा बोपाराले टी–२० आईमा २१ इनिङ्समा १६ विकेट हात पारेका छन् । उनको उत्कृष्ट प्रदर्शन नै १०/४ थियो । उनको इकोनोमी ७.२१ रह्यो । 

सुझावित समाचार