कोशी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचजना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्। प्रदेशमा एमाले र नेकपाको नयाँ सत्तागठबन्धन बनेपछि सरकारमा सहभागी कांग्रेसका चार विभागीय र एक राज्यमन्त्रीले बिहीबार अपराह्न मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउने कांग्रेसका मन्त्रीहरूमा भौतिकमन्त्री प्रदीपराज सुनुवार र राज्यमन्त्री शोभा चेम्जोङ, स्वास्थ्यमन्त्री मानबहादु लिम्बू, कृषि तथा सहकारीमन्त्री इसराइल मन्सुरी र वन पर्यटन तथा वतावरणमन्त्री भीम पराजुली छन्। एमालेसँग सत्तागठबन्धनमा रहेका कांग्रेसका सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब नेपाली कम्युनिस्ट पार्टी र एमालेबिच नयाँ सत्तागठबन्धनको सरकार पुनर्गठन गर्न बाटो खुलेको छ।

नयाँ गठबन्धनका लागि भएको सहमतिअनुसार अब नेकपा एमालेकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार गरेर नेकपा सरकारमा सहभागी हुनेछ। नेकपाले कांग्रेसले लिएका चारवटा मन्त्रालय आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की संविधानको धारा १६८ (५) बमोजिम २०८१ वैशाख २७ गते एमाले र माओवादीका ५२ सांसदको समर्थनमा तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। तर, केन्द्रीय सत्तासमीकरणका कारण कोशीमा एमालेले कांग्रेससँग सत्तागठबन्धन गरेपछि माओवादी सरकारबाट बाहिरिएको थियो। त्यसपछि अल्पमतमा परेका कार्कीले कांग्रेसको समर्थन पाएपछि  प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
 

सुझावित समाचार