कप्तानगन्ज घटना : ११२ घर, भौतिक संरचना र ६१ सवारीसाधनमा क्षति

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा तीनजनाको ज्यान जाने गरी भएको दुई समूहबिचको झडप र त्यसपछि सिर्जित तनावका कारण सुनसरीमा ठुलो भौतिक क्षति भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले संकलन गरेको प्रारम्भिक विवरणअनुसार घटनामा ११२ वटा घर तथा भौतिक संरचना र ६१ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

गत १० साउन साँझ बोलबम यात्राका लागि बजाइएको डिजेबाजाको विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत भएको थियो । त्यसपछि कप्तानगन्जसहित सुनसरीका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक प्रदर्शन भएका थिए ।

प्रहरीका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका ११२ घर तथा भौतिक संरचनामध्ये २३ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त भएका छन् । ३४ वटा कच्ची घरमध्ये २५ वटा जलेर नष्ट भएका छन् । यसबाहेक ५० वटा घरटहरा, दुईवटा मन्दिर, पाँचवटा अन्य संरचना र एउटा इँटाभट्टामा समेत तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ । त्यस्तै, ६१ वटा सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये ४४ वटा दुईपांग्रे र पाँचवटा चारपांग्रे सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन् ।

घटनापछि उत्पन्न तनावका क्रममा प्रदर्शनकारीले सुनसरीका विभिन्न स्थानमा ५२ वटा मोटरसाइकल तथा स्कुटर, आठवटा सिटी सफारी र चारवटा चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड गरेको प्रहरीको विवरण छ ।जिल्ला प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले घटनाको क्षतिको विवरण संकलनको काम जारी रहेको बताए । क्षतिसम्बन्धी उजुरी आउने र प्राप्त विवरण यकिन गर्ने काम जारी रहेको उनले बताए ।

कप्तानगन्जको नयाँ हटियामा १० साउन साँझ भएको घटनामा गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो । घटनामा घाइते भएका ४० जनामध्ये १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २५ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै, घटना छानबिनका लागि गठित समितिको म्याद १५ दिन थप भएको छ । गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिको म्याद बिहीबार १५ दिनका लागि म्याद थप गरेको हो । यसअघि गृहले एक हप्ताको समय दिएर ११ साउनमा समिति गठन गरेको थियो ।

सुझावित समाचार