सामान्य अवस्थामा देशभर दैनिक औसतमा एक लाख आठ हजार थान ग्यास सिलिन्डर खपत हुने आयल निगमको तथ्यांक छ । तर, पछिल्लो १० दिनयता दैनिक एक लाख ५६ हजार ४ सय थान ग्यास सिलिन्डर वितरण गर्न पुग्ने ग्यास आयात भइरहँदा पनि बजारमा अभाव कायम छ ।
निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुखसमेत रहेका निर्देशक विनितमणि उपाध्यायले साउन लागेयता आयात बढाएको र १० दिनयता त उच्चतम विन्दुमा भइरहेको जानकारी दिए । ‘दैनिक एक लाख आठ हजार ग्यास सिलन्डरको बजार हो, तर डेढ लाख सिलिन्डरमा भर्न पुग्ने ग्यास दैनिक आयात भइरहेको छ,’ उनले भने, ‘तैपनि, आपूर्ति सहज हुन नसकेको हामी नै अचम्मित भएका छौँ । हाम्रो निष्कर्ष भनेको उपभोक्ताले घरमा रहेका सबै खाली सिलिन्डर अहिले साट्नका लागि बजारमा ल्याइरहनु भएको छ भन्ने नै हो ।’
निगमको तथ्यांकअनुसार ११ साउनमा १ सय ६ बुलेट ग्यास आयात भएको छ । एउटा बुलेटमा करिब १८ टन ग्यास हुन्छ । यति ग्यासले औसतमा १२ सय ५० थान सिलिन्डरमा १४.२ किलो ग्यास भर्न पुग्छ ।
निगमका निर्देशक उपाध्यायले तुलनात्मक रूपमा बढी परिमाणको ग्यास निरन्तर आयात भइरहेको र आगामी दिनमा पनि अहिलेकै परिमाणअनुसार आयात हुने जानकारी दिए ।
निगमले २९ माघदेखि ३० असारसम्म चार महिना ७.१ किलोग्राम तौलको ग्यास सिलिन्डर मात्रै बजारमा पठाउन निर्देशन दिएको थियो । त्यतिवेला पनि आयात परिमाणले धान्न नसकेपछि आधा सिलिन्डर पठाएपछि सहज भएको थियो । तर, मध्यपूर्वको युद्ध मत्थर भएपछि निगमले ३१ असारबाट पूर्ण तौलको ग्यास ल्याउन निर्देशन दिएको थियो । त्यसयता ग्यास खरिद गर्ने उपभोक्ताको संख्या बढेर डिलरदेखि उद्योगसम्म लाइन बाक्लिएको छ ।
काठमाडौं उपत्यकामा आपूर्ति सहजताका लागि निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एचपी, श्रीराम, एभरेष्ट र सुगम ब्रान्डको ग्यास सिलिन्डर उपलब्ध हुने व्यवस्था मिलाएको छ । त्यस्तै, देशभरका ५९ वटै उद्योगपरिसरमा उपभोक्ता पुगेको खण्डमा ग्यास दिनसमेत निर्देशन दिएको छ । तर पनि, सातादेखि ग्यास आपूर्ति सहज हुनुको सट्टा असहजता झन् बढेको छ । ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि आयातमा कुनै समस्या नभएको बताए ।
सरकारको रिपोर्ट– आठ जिल्लामा हाहाकार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मंगलबार उद्योग र वाणिज्य तथा श्रम र उपभोक्ताहित समितिको बैठकमा आठ जिल्लामा ग्यासको हाहाकार भएको जानकारी दिएका छन् । सचिव दुवाडीका अनुसार काठमाडौं, भक्तपुर, मकवानपुर, सुनसरी, सुर्खेत, पर्सा, प्युठान र डोटीमा ग्यासको आपूर्ति सबैभन्दा जटिल छ । यी जिल्लाका उपभोक्ताले ग्यास डिलर र उद्योगमा घण्टौँ लाइन लाग्नुपरे पनि ग्यास नपाएको स्थिति रहेको मन्त्रालयको धारणा छ । त्यस्तै, थप २६ जिल्लामा पनि उच्च माग रहेको र आपूर्ति सहज गर्न प्रयास रहेको उनले जानकारी दिए । ४४ जिल्लामा भने ग्यासको अभाव नरहेको सरकारी रिपोर्ट छ ।
‘क्विक रेस्पोन्स टिम’ गठन
दैनिक आयात भएको ग्यास परिमाणको जानकारी प्रवाह गर्न, उद्योगले वितरण गरेको ग्यासको परिमाण उपलब्ध गराउन र उपभोक्ताको गुनासो सुन्न निगमको केन्द्रीय कार्यालयमा ‘क्विक रेस्पोन्स टिम’ गठन भएको छ । उक्त टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल विष्ट, आयल निगमबाट इन्दु शर्मा र उपेन्द्र सुवेदी, ग्यास उद्योगबाट आयुष नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् ।
देशका जुनसुकै स्थानमा एलपिजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु टिमको जिम्मेवारी रहेको निगमले जनाएको छ । ग्यास नपाएका उपभोक्ताले निगमले उपलब्ध गराएको हटलाइन नम्बर ०१–५९७१९०२ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था राखिएको छ । उपभोक्ता अधिकारकर्मी प्र्रेमलाल महर्जनले आपूर्ति असहज भएका वेला उपभोक्तालाई दोष देखाएर उम्कन नहुने बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले आयात भएको ग्यास कहाँ र कसरी वितरण भइरहेको छ भन्नेबारेमा निगम र सम्बन्धित उद्योगले थाहा लिनुपर्ने बताए । ‘ग्यास कहाँ र कसरी वितरण भइरहेको छ भन्ने सामान्य जानकारी राख्नुपर्ने दायित्वबाट निगम र उद्योगी पन्छिन मिल्दैन,’ उनले भने, ‘अहिले सरकारी अधिकारीले भनेजस्तो उपभोक्ताहरू घरमा रहेका सबै सिलिन्डर लिएर बाहिर आएका छैनन् ।’
५५–६० हजार टन आयातको पहल
आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले भारतबाट दुई महिना लगातार ५५ देखि ६० हजार टनका दरले ग्यास आयातका लागि पहल भइरहेको बताए । उनले साउन महिनाका लागि ५५ हजार टन आयातका लागि इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग सहमति मागेको जानकारी गराए । आइओसीले ५५ हजार टन दिन सहमति नजनाएको, तर महिनाको अन्त्यसम्ममा ५५ हजार टनभन्दा बढी ल्याउन सकिने उनले भनाइ छ । बुधबार दिउँसो राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बरालले अहिले भइरहेको मागलाई विश्लेषण गर्न नसकेको जानकारी गराए ।
‘हामी आगामी दुई महिना ५५–६० हजार मेट्रिकटनका दरले ग्यास आयात गर्न भरभग्दुर प्रयास गरिरहेका छौँ । सरकारमार्फत र आयल निगमको च्यानलमार्फत इन्डियन आयल कर्पोरेसनलाई पनि सकेसम्म धेरै ग्यास दिन आग्रह गरेका छौँ । त्यसमा भारतीय पक्ष सकारात्मक छन्,’ उनले भने, ‘दुई महिना ५५–६० हजार टनको अनुपातमा ल्याइयो भने जनताका घरमा रहेका सबै खाली सिलिन्डर भर्न सकिन्छ ।’
आपूर्ति असहज भएकोमा हामी नै अचम्मित भएका छौँ : विनीतमणि उपाध्याय निर्देशक, आयल निगम
साउन लागेयता आयात बढाएको र १० दिनयता त उच्चतम विन्दुमा भइरहेको छ ।
दैनिक एक लाख आठ हजार ग्यास सिलन्डरको बजार हो, तर डेढ लाख सिलिन्डरमा भर्न पुग्ने ग्यास दैनिक आयात भइरहेको छ ।
तैपनि, आपूर्ति सहज हुन नसकेको हामी नै अचम्मित भएका छौँ ।
हाम्रो निष्कर्ष भनेको उपभोक्ताले घरमा रहेका सबै खाली सिलिन्डर अहिले साट्नका लागि बजारमा ल्याइरहनु भएको छ भन्ने नै हो ।