अभावबिच ग्यासको मूल्यमा ठगिँदै उपभोक्ता, चुपचाप सरकार

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
  • स्थानीय डिलरको कमिसन ५० र ढुवानी भाडा ४० रुपैयाँसमेत जोडेर ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० कायम गरिएको हो, तर अहिले ग्यास नपाएर भौँतारिँदै आएका उपभोक्तासँग पनि उद्योगले पूरै रकम असुलिरहेको छ, सरकार र संसद् मौन छन्

निजी सवारीसाधन नहुनेहरू रित्तो सिलिन्डरमा नाम्लो लगाएरसमेत ग्यासको खोजीमा चारतिर भौँतारिरहेका छन् । कतै नभेटेपछि अन्तिम आस लिएर ग्यास उद्योगमै पुग्नेले पाइहाले पनि उद्योगीबाटै मूल्यमा ठगिएका छन् । अभावबिच ग्यासको मूल्यमा नागरिक ठगिँदा सरकार भने उद्योगीकै ‘ब्रिफिङ’का आधारमा प्रेस नोट जारी गरेर चुपचाप छ । सरकारलाई उचित निर्देशन दिनुपर्ने संसद्समेत बेपरबाह छ ।

आयल निगमले भरी प्रतिसिलिन्डर ग्यासको खुद्रा मूल्य दुई हजार ६० रुपैयाँ तोकेको छ । यो डिलरले बेच्ने मूल्य हो । उद्योगदेखि डिलरसम्मको स्थानीय ढुवानीबापत ४० रुपैयाँ र डिलरले पाउने कमिसनबापत ५० रुपैयाँ जोडेर उक्त मूल्य तोकिएको हो । तर, कैयौँ टाढाबाट सिलिन्डर बोकेर उद्योगको गेटमै पुगेका उपभोक्तालाई उद्योगीले दुई हजार ६० रुपैयाँ नै लिइरहेका छन् । आयल निगमकै टेकुस्थित कार्यालयमा रहेको अस्थायी डिपोमा पुगेका उपभोक्तालाई पनि उही मूल्य छ । एक सिलिन्डर ग्यासमा ९० रुपैयाँका दरले सिधासिधी ठगी भइरहेको छ ।

तर, मंगलबार ग्यास उद्योगीलाई डाकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बसेको बैठकमा न ग्यास आपूर्ति सहज बनाउने ठोस निर्णय भयो, न उपभोक्ता ठगिएको सवाल उठ्यो । बरु, बैठकमा उपस्थित उद्योगीले ‘बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको’ ब्रिफिङलाई नै प्राथमिकता दिएर प्रधानमन्त्री कार्यालयले प्रेस नोट जारी गरेको छ । बैठकमा उद्योगीले विगतमा आधा भरिएको सिलिन्डर प्रयोगमा आउँदा खपत घटेको र ३१ असारबाट पूर्ण तौलको सिलिन्डर प्रयोगमा आउँदा खपत बढेकाले आपूर्ति असहज भएको बताएका थिए । ‘बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरण थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबिच समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको छ,’ प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । दसैँ, तिहारमा पनि ग्यासको अभाव हुन नदिन मासिक ५० हजार टनभन्दा बढी आयातको व्यवस्था मिलाउने निर्णय भएको सचिवालयले जनाएको छ ।

उपभोक्ताहित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना अभावको मौका छोपेर ग्यासको मूल्यमा लुट मच्चाइएको बताउँछन् । ‘एकातिर ग्यास नदिएर उपभोक्तालाई अधिकतम हैरानी दिइएको छ, अर्कातिर ग्यासको मूल्यमा पनि लुट मच्चाइएको छ,’ उनले भने, ‘उद्योगको गेटसम्म उपभोक्तलाई लाइन लगाएर दिएको ग्यासमा तुरुन्तै डिलर कमिसनबापतको रकम हटाउनुपर्छ । अहिलेसम्म उपभोक्ताले तिरेको पैसा पनि फिर्ता हुनुपर्छ ।’ ग्यास सहज आपूर्ति गराउनुपर्ने दायित्वबाट बिमुख भइसकेको सरकार अब मूल्यमा उपभोक्ता ठगिएको पनि हेरेर बस्न नहुने तिमिल्सिनाले बताए । ‘आयल निगमले नै ग्यासको मूल्य निर्धारण गर्ने हो । त्यसैले अहिले उद्योग परिसरबाट भइरहेको बिक्री मूल्यमा पनि आयल निगमले नै हस्तक्षेप गरेर छुट दिलाउनुपर्छ,’ उनले भने ।

मंगलबार संसद्को मात्रै होइन, संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक पनि बसेको थियो । तर, ग्यास अभावबारे चर्चा भए पनि ग्यासको मूल्यमा उपभोक्ता ठगिएको विषयमा कसैले प्रश्न उठाएन ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले उद्योग मन्त्रालय र निगमले भारतबाट पर्याप्त ग्यास आएको जानकारी दिएको भन्दै अभाव हुनुको कारण मागेका थिए । उद्योगमन्त्रीदेखि निगमका पदाधिकारीसम्मलाई राखेर गरिएको बैठकमा सभापति अन्सारीले निगम अधिकारीहरूलाई लक्षित गर्दै ‘देशमा काम गरेर देखाउने धेरै योग्य मान्छे रहेकाले काम गर्न नसके मार्गप्रशस्त गर्न’ चेतावनी दिए । देशभर रहेका एक करोड ७५ लाख सिलिन्डर कहाँ, कस्तो अवस्थामा छन् म्यापिङ गर्न निर्देशन दिएका थिए ।

तर, उनले ग्यास आपूर्ति सहज गराउनु नै अहिलेको आवश्यकता रहेको भन्दै ठगीप्रति भने नजरअन्दाज गरेका । नयाँ पत्रिकाको प्रश्नमा उनले उद्योगको गेटबाटै उपभोक्तालाई ग्यास बिक्री गर्दा प्रतिसिलिन्डर ९० रुपैयाँसम्म छुट दिनुपर्ने विषयमा आफूले जानकारी पाए पनि अहिलेको आवश्यकता आपूर्ति सहज गराउनु नै रहेको बताए । ‘उद्योगबाटै ग्यास बिक्री गर्दा प्रतिसिलिन्डर ९० रुपैयाँसम्म छुट हुनुपर्ने विषय मेरो जानकारीमा छ । तर, अहिले यो विषयभन्दा पनि आपूर्ति सहज गराउन सबै पक्ष लाग्नुपर्ने देखिन्छ,’ उनले भने ।

सभापति अन्सारीले आयल निगमको घाटा पूर्ति गर्न सर्वसाधारण र व्यावसायिक उपभोक्तालाई दुईथरी मूल्य निर्धारण आवश्यक रहेको बताए । ‘अहिले आयल निगमले प्रतिसिलिन्डर नौ सय रुपैयाँभन्दा बढी घाटा खाइरहेको अवस्था छ । होटेल–रेस्टुरेन्ट र सर्वसाधारण उपभोक्तालाई एउटै मूल्य निर्धारण भएकाले यो समस्या आएको हो । आगामी दिनमा यसमा उचित निर्णय लिनुपर्नेछ ।’

निगमले पनि आपूर्ति सहजता नै अहिलेको पहिलो प्राथमिकता रहेको भन्दै उद्योगले उपभोक्तालाई गरिरहेको ठगीबारे नजरअन्दाज गरेको छ । ‘ग्यासको आपूर्ति सहज गर्नमै सबै शक्ति लगाइरहेका छौँ । अहिले कसले कसरी बेचिरहेको छ भन्नेतिर ध्यान पुर्‍याउन सकिएको छैन । उद्योगी र डिलरलाई जतिसक्दो पारदर्शी भएर ग्यास वितरण गर्न निर्देशन दिइएको छ । पहिला सहज आपूर्तिको वातावरण बनोस् भन्नेतिर प्रयास छ,’ निगम प्रवक्ता मनोज ठाकुरले भने । उनले आयल निगम आफैँ पनि अनुगमनमा खटिएको र सरकारसँगको समन्वयमा आयात परिमाण बढाउन क्रियाशील भएको प्रतिक्रिया दिए ।

ग्यास उद्योगीले भने दुई हजार ६० रुपैयाँबाट घटाएर बेच्नुपर्ने आवश्यकता नभएको बताएका छन् । नेपाल ग्यासका सञ्चालकसमेत रहेका ग्यास उद्योग संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई मागेजति ग्यास दिनु प्रमुख दायित्व भएको बताए । ‘हामीले सकेसम्म डिलरमार्फत नै ग्यास जाओस् भन्ने चाहिरहेका छौँ । तर, उद्योग परिसरमा लाइन लाग्न आएका उपभोक्तालाई खाली हात पठाउने कुरा भएन । त्यसैले, उद्योगमा लाइन लाग्न आएका उपभोक्तालाई पनि ग्यास दिइरहका हौं । उद्योगबाटै सधैं ग्यास बेच्ने हाम्रो पनि चाहना होइन,’ उनले भने, ‘निगमले तोकेको मूल्यमा ग्यास बिक्री गर्नु उद्योगी र डिलरको दायित्व हो, निगमले हेरफेर गरे निर्णय मान्छौं ।’

उद्योगी भण्डारीले चार महिनासम्म सिलिन्डरमा आधा ग्यास मात्रै राखेर बिक्री गर्दा व्यहोर्नुपरेको उच्च लागतबारे पनि मूल्यांकन हुनुपर्ने माग गरे । ‘१५ दिनका लागि भनेर आधा परिमाण भरिएको ग्यास सिलिन्डर चार महिनासम्म बिक्री गर्न लगाइयो । यसबाट ढुवानीसहित सञ्चालन खर्च बढेर सबै उद्योगको झन्डै एक अर्ब नोक्सान भएको छ,’ उनले भने, ‘यति ठुलो नोक्सान व्यहोरेर पनि हामीले निरन्तर ग्यास आपूर्ति गरिरहेको विषयलाई सबैले ध्यान दिनुपर्छ ।’

त्यस्तै, तालुकदार उद्योग, वाािणज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति सहज बनाउन कुनै प्रभावकारी भूमिका खेलेकी छैनन् । उनले केही समयअघि पूर्वजानकारी दिएर काभ्रेको दुई ग्यास उद्योग (सूर्य र सगरमाथा) निरीक्षण गरेकी थिइन् । जसकारण उनी उद्योगपरिसर पुग्दा उद्योगीले फूलमालाले स्वागत गर्दै माग र आपूर्तिबारे जानकारी गराएका थिए । उनी नियमित आपूर्ति गर्न निर्देशन दिएर फर्किएकी थिइन् ।

ग्यास आपूर्तिको कार्यकारी जिम्मेवारी लिएको आयल निगमले भने आपूर्ति असहज हुनुमा उपभोक्तालाई दोष दिएको छ । निगमसँगै ग्यास उद्योगी र विक्रेता पनि उपभोक्तालाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिरहेका छन् । निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले मंगलबार संसद्को उपभोक्ताहित समितिको बैठकमा पनि उपभोक्तालाई नै दोषारोपण गरे । ‘आयातमा समस्या होइन, हाम्रो आन्तरिक वितरण प्रणालीमा समस्या भएको हो कि भन्ने हाम्रो बुझाइ छ,’ उनले भने, ‘मानिसहरू अत्तालिएका वेला मिडिया कभरेज पनि गरिदिने हुँदा अलि ठुलो समस्या हो कि भन्ने लागेको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आधा भरिएको ग्यास सिलिन्डर हटाएर पूरा तौलको सिलिन्डर बजार पठाउने निर्णय गर्दा अहिले असहज भएको बताए । ‘उपभोक्ताले आधा भरी सिलिन्डरमा ग्यास सकिएपछि बजारमा ल्याएका थिएनन् । अहिले पूरा तौलको पाउने भएपछि खाली भएका सबै सिलिन्डर एकैसाथ बजार ल्याउँदा समस्या भयो,’ उनले भने । भारतबाट सन्तोषजनक रूपमा आयात भइरहेको र आगामी दिनमा आयात परिमाण बढाउन लागिएको उनको भनाइ छ ।

समिति बैठकमा रास्वपा सांसद रञ्जु दर्शनाले मन्त्रालय र निगमका अधिकारीले ग्यास आपूर्तिमा ठुलो समस्या नरहेको बताएकोमा आपत्ति जनाइन् । 

झन् बढ्दै छ असहजता

बालाजुस्थित नेपाल ग्यासको उद्योग र टेकुस्थित निगमको पुरानो कार्यालयमा उपभोक्ताको घटेन भिड

साउन लागेयता नै ग्यास आपूर्ति सहज छैन । पछिल्ला दिन आपूर्ति असहजता झन् बढेको छ । आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एभरेस्ट, सुगम, श्रीराम र एचपी ब्रान्डको ग्यास उपलब्ध गराउने गरी व्यवस्थापन गरे पनि असहजता घटेको छैन । टेकुमा पनि दिनहुँ ग्यास लिन पुग्ने उपभोक्ताको भिड बढेको छ । मंगलबार दिउँसो टेकुमा भेटिएका प्रह्लाद चौरासियाले घरनजिकैको डिपोमा नपाएपछि आएको बताए ।

‘घरमा भएको एउटा सिलिन्डर सकिन लागेको छ । अर्को रित्तै भएपछि तनाव भयो,’ उनले भने, ‘यहाँ (टेकु) ११ बजे लाइनमा बसेर ३ घण्टापछि पालो आएपछि एउटा सिलिन्डर लिएर जाँदै छु ।’ उनले आयल निगमको व्यवस्थापकीय कमजोरीले सास्ती खेप्नुपरेको बताए । ‘अहिले अफिस लागेको छ, आफू यता ग्यासको लाइनमा बस्नुपरेको छ,’ उनको गुनासो थियो । नक्खुदेखि टेकु पुगेका भरत मगरले स्थानीय डिलरकहाँ एक–डेढ सातादेखि धाउँदा पनि ग्यास नपाएको बताए । ‘अझै कति दिनपछि ग्यास पाइन्छ भन्ने ग्यारेन्टी पनि भएन अनि यता आइयो,’ राजधानी ग्यासको खाली सिलिन्डर लिएर लाइन लागेका उनले भने ।

मंगलबार दिउँसो बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको गेटमा पनि उपभोक्ताको लाइन उस्तै थियो । गेटबाट एक थान सिलिन्डर लिएर निस्कँदै गरेकी चन्दा महर्जनले सास्ती खेपेको बताइन् । ‘लाइन बस्नुपर्‍यो, लाइन सर्दैपिच्छे सिलिन्डर पनि घिसार्दै सार्नुपर्दा कति दुःख हुन्छ !’ उनले भनिन्, ‘ग्यासको साह्रै दुःख भयो यसपालि ।’ निगमको पहलमा टेकुबाट गत शनिबारदेखि विभिन्न पाँच ब्रान्डका ग्यास कम्पनीले बिक्री थालेका छन् । 

See More On

सुझावित समाचार