नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टीको निर्देशन पालना गर्नु सबैको कर्तव्य भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।
सोमबार विराटनगरको पाञ्चालीस्थित एमाले प्रदेश पार्टी कार्यालयमा राखिएको संसदीय दल र प्रदेश कमिटीको संयुक्त भेलामा इन्चार्ज राईले पार्टी नेतृत्वको निर्देशन पालना गर्न मुख्यमन्त्री कार्कीलाई निर्देशन गरेका हुन्।
केन्द्रमा एमाले र नेकपाका शीर्ष नेतृत्वबिच कोशीको सत्तासहकार्यका लागि भएको तीनबुँदे सहमति पालना गर्नु सबैको कर्तव्य भएकाले मुख्यमन्त्रीले पनि निर्देशन पालना गरेर नयाँ सत्तागठबन्धनका लागि मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो।
विराटनगरमा बसेको संसदीय दल र प्रदेश कमिटीको बैठकमा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले स्वागत गरेपछि इन्चार्ज राईले मात्र बोलेर मुख्यमन्त्री कार्कीलाई पदबाट राजीनामा दिन निर्देशन गरेका हुन्। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री रहिसकेका राईले बैठकमा प्रस्ट निर्देशन दिँदै भने, ‘नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे समझदारीअनुसार पार्टी र अध्यक्षको निर्देशन पालना गर्नु संसदीय दलको जिम्मेवारी हो। यसमा मुख्यमन्त्रीले जिम्मेवार बन्नुपर्छ।’
राईले शनिबार पनि मुख्यमन्त्री कार्कीलाई अढाई घण्टा भेटघाट गरेर पदबाट राजीनामा दिएर पार्टी एकतालाई बलियो बनाउन सहयोग गर्न आग्रह गरेका थिए। तर, मुख्यमन्त्री कार्कीले आफू पनि पार्टीको केन्द्रीय सचिव भएको तथा संविधानको धारा १६८ को ५ अनुसार नियुक्त भएको मुख्यमन्त्री भएकाले पार्टी सचिवालयको निर्णयविना राजीनामा नदिने अडान लिएका थिए।
त्यसपछि राईले कोशी प्रदेश सभाका सांसदहरूलाई विराटनगर बोलाएर संसदीय दल र प्रदेश कमिटिको संयुक्त बैठक राखेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रदेश सरकारको नेतृत्वबारे देखिएको अन्योल एक हप्ताभित्र समाधान हुने बताए। ‘सरकार नेतृत्वबारे बाँकी रहेको सानो गाँठो चाँडै फुक्छ। त्यसका लागि एक हप्ताजति समय लाग्नेछ,’ पत्रकारहरूसँग इन्चार्ज राईले भने।