बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा देखिएको राजनीतिक अन्योल र सरकार गठनको सकसबारे छलफल गर्न सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन्।
बागमती प्रदेश सुशासन केन्द्र, ललितपुरमा बस्ने बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू सहभागी हुने तयारी भइरहेको मुख्यमन्त्री बानियाँले जानकारी दिए।
उनका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै प्रदेश सरकारको भविष्य, सरकार सञ्चालनमा देखिएको अंकगणितीय जटिलता तथा राजनीतिक सहमतिका सम्भावनाबारे छलफल हुनेछ। मुख्यमन्त्री बानियाँले प्रदेशमा उत्पन्न राजनीतिक तरलतालाई अन्त्य गर्दै निकास खोज्ने उद्देश्यले बैठक बोलाइएको बताए।
‘अहिलेको राजनीतिक परिस्थिति, प्रदेश सरकारको अंकगणितीय सकस र दलहरूबिच आपसी सद्भाव कायम गर्न बैठक बोलाइएको हो। अहिले बागमती प्रदेश राजनीतिक संकटको अवस्थामा छ। यसको असर विकास निर्माण र सेवा प्रवाहमा पनि परेको छ। यही अवस्थालाई चिर्न प्रदेश सरकारको नेतृत्वको हैसियतले सर्वदलीय संवाद आवश्यक ठानेका छौँ,’ उनले भने।
मुख्यमन्त्री बानियाँका अनुसार बैठकमा राजनीतिक दलहरूबिच सहमतिको वातावरण सिर्जना गर्दै प्रदेश सरकारलाई स्थायित्व दिने विषयमा छलफल हुनेछ। विगतका तिक्तता अन्त्य गर्दै लोकतान्त्रिक अभ्यासअनुसार सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकारलाई विश्वासको मत दिने विषयमा पनि प्रस्ताव अघि सारिने उनले बताए।
बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। नयाँ सत्तागठबन्धनले पनि आवश्यक बहुमत जुटाउन नसकिरहेका वेला राप्रपाको निर्णयको प्रतीक्षा भइरहेको छ। यही राजनीतिक अन्योलबिच मुख्यमन्त्री बानियाँले सर्वदलीय बैठकमार्फत सहमतिको प्रयास थालेका हुन्।