कांग्रेस विभाजन औपचारिकतामा बाँकी

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण
  • १४औँ महाधिवेशन पक्षधरका ‘कमान्डर’ बिपीपुत्र शशांक, ५५१ सदस्यीय राष्ट्रिय कार्यकर्ता भेला आयोजक समिति गठन, सहमति नभए २९ साउनमा हुने भेलाबाट नयाँ पार्टी घोषणाको तयारी, नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने योजना

देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ । कुनै नाटकीय राजनीतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढे त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आगामी निर्वाचनको राजनीतिक समीकरण तथा समग्र राष्ट्रिय राजनीतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

विवादबिच कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला १४औँ महाधिवेशन पक्षधर (संस्थापन इतर) समूहको नेतृत्वमा आएका छन् । आगामी २९ साउनमा हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उनी ५५१ सदस्यीय मूल आयोजक समितिका संयोजक भएका हुन् ।

पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार १४औँ महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो । समूहका नेताहरूका अनुसार २९ साउनसम्म संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ । यस परिस्थितिका लागि दुवै पक्षले एक–अर्कालाई जिम्मेवार ठहराएका छन् ।

‘आज हामीले शशांक कोइरालालाई हाम्रो समूहको नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौँ । हामीबिच एकता छैन भन्ने टीकाटिप्पणीलाई यस निर्णयले अन्त्य गरेको छ,’ निधिले भने । नयाँ पार्टी गठनबारे भने उनले २९ साउनको राष्ट्रिय भेलाले निर्णय गर्ने स्पष्ट पारे । ‘अहिलेसम्म नयाँ पार्टी खुलेको छैन । आवश्यक परे राष्ट्रिय भेलाले त्यसबारे निर्णय गर्नेछ,’ निधिले भने ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार–प्रसारलगायत १६ वटा समिति गठन गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मालगायत सहभागी थिए । सभापति शेरबहादुर देउवा विदेशमा रहेकाले उपस्थित भएनन् भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पनि कार्यक्रममा अनुपस्थित रहे ।

शशांकले भने शेखर कोइरालाको समर्थन आफूलाई रहेको दाबी गरे । ‘शेखर दाइसँग निरन्तर संवाद भइरहेको छ । उहाँ आज पनि आउने तयारीमा हुनुहुन्थ्यो, तर विराटनगरमा रहेकाले आउन सक्नुभएन । उहाँले मेरो अभियानमा समर्थन रहेको सन्देश दिनुभएको छ,’ उनले भने ।

निधिले पनि पूर्णबहादुर खड्का र शेखर कोइरालाको सहमति रहेको दाबी गर्दै शशांकलाई सर्वसम्मत रूपमा नेतृत्वमा चयन गरिएको बताए । ‘सबैको सहमति छ । पूर्णजी बिरामी हुनुहुन्छ । शेखरजीको सहमति छ, उहाँले सार्वजनिक रूपमा भनिसक्नुभएको छ । यसमा सबैको सहमति छ,’ निधिले भने ।

शेखरनिकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनीतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘अहिले कांग्रेसको अन्तर्पार्टी, सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ । पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन, राष्ट्रलाई पनि पुग्छ,’ उनले भने । उनले सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गरे । उनले भने, ‘सभापति गगन थापालाई यो अन्तिम गोल्डेन चान्स हो ।’

यद्यपि, विभाजनको अवस्था आए त्यसबाट पछि हट्न नसकिने कार्कीको भनाइ छ । ‘जेलनेल भोगेका, शारीरिक–मानसिक यातना सहेर पार्टी निर्माण गरेका नेताहरू पार्टी फुटोस् भन्ने पक्षमा छैनन् । तर, परिस्थितिले त्यतातिर धकेल्यो भने निर्णय लिनैपर्ने अवस्था आउँछ,’ उनले भने ।  गिरिजाप्रसाद कोइरालाको भनाइ उद्धृत गर्दै उनले थपे, ‘पार्टीमा प्रवेश गर्ने ढोका हुन्छ, बाहिरिने ढोका हुँदैन । अहिलेको अवस्थामा त्यो भनाइ नेताहरूमा पनि लागू भएको देखिन्छ ।’

संस्थापन पक्षसँग सहमति नभए २९ देखि ३१ साउनसम्म हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने चर्चा भए पनि निधिले यसबारे कुनै औपचारिक निर्णय नभएको बताए । उनका अनुसार सबै विषय राष्ट्रिय भेलाबाटै टुंगो लगाइनेछ ।

शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सशक्त र सक्षम बनाउने उद्देश्यले आफ्नै संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख छ । पार्टीभित्र एकताका लागि निरन्तर प्रयास गर्दा पनि नेतृत्व तहबाट सार्थक पहल नभएकाले नेता–कार्यकर्ता, जनप्रतिनिधि, समर्थक र शुभेच्छुकमा बढ्दो निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको दाबी विज्ञप्तिमा गरिएको छ ।

‘पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरी यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा छ, ‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएका छौँ ।’ भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर प्रमुख, क्षेत्रीय सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलगायतलाई सहभागी हुन आह्वान गरिएको छ ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कांग्रेसको पछिल्लो अवस्थाले पार्टीभित्रको संकट थप गहिरिएको संकेत गरेको बताउँछन् । उनका अनुसार बिपी कोइरालाको स्मृति दिवससमेत एउटै मञ्चबाट मनाउन नसकी समानान्तर कार्यक्रम आयोजना भएपछि कांग्रेस मनोवैज्ञानिक र राजनीतिक दुवै रूपमा विभाजनउन्मुख देखिएको थियो । शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयले त्यो संकेतलाई थप बलियो बनाएको उनको विश्लेषण छ । 

यद्यपि, वाग्ले आजको आवश्यकता विभाजन नभई एकता भएको बताउँछन् । उनका अनुसार कांग्रेसले आरोप–प्रत्यारोप, आत्मप्रशंसा वा आत्मनिन्दाभन्दा पनि आत्मचिन्तन, आत्मसमीक्षा र आत्मालोचनामा केन्द्रित हुनुपर्छ । अन्यथा, यस्तो प्रवृत्तिले जनतामा नकारात्मक सन्देश जाने र कार्यकर्तामा निराशा झन् बढ्ने उनको चेतावनी छ ।

अदालतले देउवालाई नै सभापतिको मान्यता दिएन भने विकल्प आउन सक्छ : विमलेन्द्र निधि (इतर पक्षका नेता)

राष्ट्रिय कार्यकर्ता भेला आह्वानसहित तपाईंहरूले विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्ताबेज तयार गर्न छुट्टाछुट्टै समिति गठन गरिएको छ । नयाँ पार्टी गठनको तयारीस्वरूप यस्ता काम हुने गर्छन् । तपाईंहरूको तयारी यही हो ? 
त्यो विषय २९ साउनमा हुने राष्ट्रिय भेलाले नै तय गर्छ । अहिले नै त्यसबारे निष्कर्ष सुनाउनु उचित हुँदैन, किनकि निर्णय गर्ने अधिकार भेलाकै हो । त्यसभन्दा अघि केही कानुनी र राजनीतिक प्रक्रिया पनि विचार गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई वैधानिक मान्यता दिने सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरवलोकनको निवेदन दर्ता भएको छ । हाम्रो विश्वास छ, पुनरवलोकनबाट देउवा नै सभापति कायम हुन सक्नुहुन्छ । यदि त्यस्तो भयो भने पार्टी विधानअनुसार उहाँ १५औँ महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्न पाउनुहुन्न । विशेष महाधिवेशन र नियमित महाधिवेशनसम्बन्धी मुद्दाको फैसला पनि आउन बाँकी छ । ती सबै प्रक्रियाको परिणामले पनि आगामी निर्णयलाई प्रभावित गर्छ । यदि देउवा नै सभापति रहने अवस्था बन्यो भने छुट्टै पार्टी गठनको आवश्यकता नपर्न सक्छ । तर, अहिलेको नेतृत्वले पार्टीभित्र एकताको वातावरण बनाउन खोजेको संकेत हामीले देखेका छैनौँ । त्यस्तो अवस्था आयो भने नयाँ कार्यदिशा वा नयाँ स्वरूपको विकल्प आउन सक्छ । त्यो के हुने भन्ने निर्णय भने राष्ट्रिय भेलाले नै गर्नेछ ।

नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’ राख्ने तयारी भएको छ भन्ने चर्चा छ नि ?
त्यो पूर्ण रूपमा गलत सूचना हो । पार्टीको नामबारे कुनै निर्णय भएको छैन, छलफलसमेत भएको छैन । मैले पनि विभिन्न चर्चा सुनेँ कि दर्तासमेत भइसकेको छ । यदि त्यस्तो हो भने निर्वाचन आयोगको अभिलेखमै देखिनुपर्थ्यो । आयोगको वेबसाइटमा दर्ता भएका सबै दलको विवरण उपलब्ध छ । दर्ता होइन सहमति बनेको भनिएको छ, तर त्यस्तो छैन ।

नयाँ पार्टी बनेमा नेतृत्व बिपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले गर्ने हुन् ?
डा. शशांक कोइरालालाई हाम्रो समूहको नेता घोषणा गरेका छौँ । समूहभित्र नेतृत्वका विषयमा मतभेद छ, सहमति छैन भन्ने टिप्पणी भइरहेका थिए । आजको निर्णयले ती सबै आशंका समाप्त गरेको छ । उहाँ अहिले हाम्रो समूहको नेता हुनुहुन्छ । त्यसपछि के हुन्छ भन्ने विषय समयले तय गर्छ ।

नयाँ पार्टी बने पनि सभापति उहाँ नै हुने हो ? 
मैले अघि पनि भनेँ, अहिले त्यसबारे भन्न सकिँदैन । नयाँ पार्टी बन्छ वा बन्दैन भन्ने निर्णय नै २९ साउनको भेलाले गर्ने हो । अहिले अनुमानका आधारमा काल्पनिक निष्कर्ष निकाल्नु उचित हुँदैन । नयाँ पार्टी गठन भयो भने त्यसवेलै सबै कुरा सार्वजनिक हुन्छ । लुकाएर राखिने विषय होइन । 

आजको कार्यक्रममा पूर्णबहादुर खड्का र शेखर कोइराला उपस्थित देखिनुभएन । उहाँहरूको समर्थन छ ?
छ, सबैको सहमति छ । पूर्णबहादुर खड्का स्वास्थ्य समस्याका कारण उपस्थित हुन सक्नुभएन । शेखर कोइरालाले पनि सार्वजनिक रूपमा आफ्नो सहमति व्यक्त गरिसक्नुभएको छ । आजका सबै निर्णय सर्वसम्मत भएका हुन् ।

उहाँहरूको भेलाबारे जानकार छौँ, तर हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो : गुरुराज घिमिरे महामन्त्री

बिपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई नेता घोषणा गर्दै इतर पक्ष अघि बढेको छ । यही महिनाको अन्त्यमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएर नयाँ पार्टी गठनको तयारी भइरहेको चर्चा छ । संस्थापन पक्षले यसलाई कसरी लिएको छ ? 
पार्टी विधान र निर्धारित प्रक्रियाअनुसार विशेष महाधिवेशन सम्पन्न भएर नेतृत्व परिवर्तन भएको हो । नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था देखिएपछि देशभरका पार्टी कार्यकर्ताको चाहनाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर विशेष महाधिवेशन गरिएको थियो । त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत वैधानिकता प्रदान गरिसकेका छन् । हामी अहिले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका सबै साथीहरूलाई एउटै ठाउँमा उभ्याएर १५औँ महाधिवेशन समयमै सम्पन्न गर्ने प्रयासमा छौँ । सभापतिज्यूले पनि विभिन्न नेतासँग भेटघाट गरेर उहाँहरूका धारणा सुन्नुभएको छ । उहाँहरूको राष्ट्रिय भेलाबारे हामीले पनि जानकारी पाएका छौँ । तर, हाम्रो प्राथमिकता अन्तिमसम्म पार्टीलाई एकताबद्ध राख्ने नै हो । अहिले देशले सामना गरिरहेका चुनौती हेर्दा कांग्रेस एकढिक्का हुनु आवश्यक छ ।

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई समायोजन गरेर सहमतिमा १५औँ महाधिवेशन गर्न किन सकिँदैन?
यस विषयमा पनि सभापतिज्यूले आफ्नो तहबाट पहल गर्नुभएको छ । दुवै पक्षका प्रतिनिधि बसेर छलफल गर्ने समझदारी बनेको छ । तर, उहाँहरूले अहिलेसम्म आफ्ना प्रतिनिधि तोक्नुभएको छैन । हामी प्रतिनिधिसँग बसेर छलफल गर्न, सहमतिको आधारमा अघि बढ्न तयार छौँ । उहाँहरूले राख्नुभएका माग पनि सार्वजनिक भइसकेका छन् । तर, एउटा महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति आइसकेपछि पुरानो र नयाँ कार्यसमितिलाई एउटै संरचनामा समायोजन गर्ने विषय विधिसम्मत, उपयुक्त र व्यावहारिक हुन्छ कि हुँदैन भन्ने छलफलको विषय हो । 

हामी अधिकतम लचिलो र व्यावहारिक भएर सबैलाई समेट्ने पक्षमा छौँ । तर, विधान, १४औँ महाधिवेशनको म्यान्डेट र देशभरका कार्यकर्ताको भावनासमेत सम्मान गर्दै निश्चित सीमाभित्र रहेर निर्णय गर्नुपर्छ ।

उहाँहरूको दाबी छ– करिब आधा कांग्रेस बाहिर छ, त्यसैले विशेष महाधिवेशनले सिंगो कांग्रेसको प्रतिनिधित्व गर्न सक्दैन, तपाईंहरूको प्रतिक्रिया ?
विशेष महाधिवेशनका विषयमा पार्टीभित्र दुई धार देखिएका थिए । सहमत हुने साथीहरू महाधिवेशनमा सहभागी हुनुभयो, नेतृत्व परिवर्तनमा भूमिका खेल्नुभयो र नयाँ नेतृत्व चयन भयो । त्यसपछि यो विषय निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुग्यो । दुवैले वैधानिकता दिइसके । त्यसपछि सदस्यता अद्यावधिक प्रक्रिया अघि बढ्यो, जसमा देशभरका करिब ८०–८२ प्रतिशत सदस्य सहभागी भइसकेका छन् ।

त्यसैले बाहिर प्रचार गरिएजस्तो अवस्था होइन । तर, विशेष महाधिवेशनमा सहभागी नभएका साथीहरू बाहिर हुनुहुन्छ भन्ने सत्य हो । उहाँहरूलाई पनि साथमै लिएर १५औँ महाधिवेशनमा जाने हाम्रो स्पष्ट चाहना छ । अहिलेको राष्ट्रिय परिस्थिति हेर्दा सबैलाई एकताबद्ध गरेर अघि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो । 

त्यसो भए सहमति किन हुन सकेको छैन ?
वैधानिक र प्राविधिक रूपमा हामीलाई कुनै समस्या छैन । राजनीतिक रूपमा लामो समय पार्टीमा योगदान गर्नुभएका धेरै नेता अहिले बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि समेटेर साझा समझदारीमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा हो । हामी विधानको संरक्षण, महाधिवेशनको सम्मान र नेतृत्व परिवर्तनको वैधानिकतालाई कायम राख्दै सबै मिलेर १५औँ महाधिवेशनको तयारीमा जुट्न चाहन्छौँ । महाधिवेशनसँग सम्बन्धित समितिमा सबैको सहभागिता सुनिश्चित गर्ने र साथीहरूलाई समेट्न सकिने अधिकतम प्रयास गर्न नेतृत्व तयार छ । 

महाधिवेशनमा सभापतिको प्रतिस्पर्धा गरेका सबै नेता अहिले बाहिर हुनुहुन्छ । तपाईंहरूको समूहबाट उम्मेदवार बन्नुभएका शेखर कोइरालालाई समेत विश्वासमा लिन सक्नुभएन नि ?
यो राजनीतिक प्रश्न हो, वैधानिक वा प्रक्रियागत होइन । निर्णायक अवस्थामा विधि र प्रक्रिया नै अवलम्बन गर्नुपर्छ । विधिको शासन स्थापित गर्न नेपाली कांग्रेसले आठ दशकभन्दा बढी संघर्ष गरेको छ । हामी लोकतान्त्रिक मूल्य र प्रक्रियाका पक्षधर हौँ । अरू दललाई पनि लोकतान्त्रिक मूलधारमा ल्याउन कांग्रेसले ऐतिहासिक भूमिका खेलेको छ । त्यसैले अरूलाई लोकतन्त्रको पाठ पढाउने कांग्रेसले आफ्नै घरभित्र विधि, प्रक्रिया र विधानको सर्वोच्चतालाई सम्मान गर्नुपर्छ । व्यक्ति होइन, विधान सर्वोच्च हुनुपर्छ । त्यसो नगरे अरूले हामीलाई लोकतान्त्रिक दलका रूपमा कसरी विश्वास गर्ने ?

राजनीतिक मतभेद छन् भने छलफल गरौँ, संवाद गरौँ र साझा निष्कर्ष निकालौँ । पार्टी सभापतिले निरन्तर यही कुरा राखिरहनुभएको छ । उहाँले नेताहरूसँग प्रत्यक्ष भेटघाट र टेलिफोन संवादमार्फत पनि सहमतिका लागि आग्रह गरिरहनुभएको छ । यसभन्दा बढी लचिलो र व्यावहारिक हुने अर्को बाटो के हुन सक्छ ?

सुझावित समाचार