जिल्लाको मालारानी गाउँपालिका– ६, साकिन्धारामा भरुवा बन्दुक पड्किँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्।
मंगलबार दिउँसो करिब १:३० बजे आफ्नै बारीमा बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक बोकेर हिँड्ने क्रममा उनी बारीको डिलमा चिप्लिएका थिए। सोही क्रममा बन्दुक अचानक पड्किँदा उनको दायाँ हातको पञ्जामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते थापाको बुटवलस्थित एडमन सिटी अस्पतालमा उपचार भइरहेको छ। घटनामा प्रयोग भएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।