बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रमा नेपाली कांग्रेस–एमालेबिचको सत्ता सहकार्य अन्त्य भएसँगै एमालेले बागमती प्रदेश सरकारबाट पनि औपचारिक रूपमा बाहिरिने प्रक्रिया अघि बढाएको हो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी हुन चितवनमा रहेकाले एमालेका मन्त्रीहरूले बुधबार संयुक्त राजीनामापत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएका छन्। मन्त्रीहरूको तर्फबाट कृषि, पशुपन्छी तथा वन वातावरणमन्त्री मधुसुदन पौडेलले राजीनामापत्र बुझाएका हुन्।
राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गरेको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए।
राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले पार्टीको केन्द्रीय निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरिएको बताए। उनले मुख्यमन्त्री उपस्थित नभएकाले राजीनामापत्र कार्यालयमा दर्ता गरिएको जानकारी दिए।
सरकारबाट बाहिरिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी तथा वन वातावरणमन्त्री मधुसुदन पौडेल, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, स्वास्थ्यमन्त्री किरण थापा तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
एमालेले यसअघि नै सरकारबाट बाहिरिने तयारी गरेको भए पनि पार्टी केन्द्रको निर्देशनपछि निर्णय स्थगित गरेको थियो। अन्ततः केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै एमालेले बागमती सरकारबाट बाहिरिने निर्णय कार्यान्वयन गरेको हो।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब संविधानअनुसार मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने वा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। एमालेको बहिर्गमनसँगै बागमती प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ।