०८२/८३ मा लक्ष्यको ८४.६६ प्रतिशत उठ्यो राजस्व

१२२ शीर्षकमा १२ खर्ब ५३ अर्ब राजस्व संकलन, सबैभन्दा ठुलो हिस्सा आयात, कम्पनीको नाफा र मदिरा–सुर्तीमा लाग्ने अन्तःशुल्क

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

सरकारले आर्थिक वर्ष ०८२/८३ मा विभिन्न कर, भन्सार, शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अन्य स्रोतबाट १२ खर्ब ५३ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । गत आवमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । यो लक्ष्यको ८४.६६ प्रतिशत हो ।

सरकारले उठाउने राजस्वको सबैभन्दा ठुलो हिस्सा अझै पनि आयात, मूल्य अभिवृद्धि कर (भ्याट), कम्पनीको नाफा र मदिरा–सुर्तीमा लाग्ने अन्तःशुल्कबाट आएको देखिएको छ । राजस्वमध्ये सबैभन्दा धेरै रकम आयातमा लाग्ने भन्सार र भ्याटबाट उठेको छ । कम्पनीको नाफामा लाग्ने कर, व्यक्तिगत आयकर, अन्तःशुल्क, ब्याज तथा लाभांश कर र विभिन्न सेवा तथा दस्तुरले सरकारको ढुकुटी भरेका छन् ।

आयकरतर्फ एकलौटी फर्म तथा व्यक्तिगत आयकरबाट ३१ अर्ब ७८ करोड ८० लाख रुपैयाँ, पारिश्रमिक करबाट ३८ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ, पुँजीगत लाभ करबाट ३३ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ र आकस्मिक लाभ करबाट २१ करोड ७६ लाख रुपैयाँ संकलन भएको छ । एकलौटी व्यवसायको आयकरबाट ९५ लाख रुपैयाँ उठेको छ ।

कम्पनी तथा संस्थाको नाफामा लाग्ने करअन्तर्गत सरकारी संस्थानबाट नौ अर्ब १३ करोड ७६ लाख, पब्लिक लिमिटेड कम्पनीबाट ६९ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ, प्राइभेट लिमिटेड कम्पनीबाट ५४ अर्ब ८० करोड ७२ लाख रुपैयाँ तथा अन्य संस्थाबाट १८ अर्ब ४२ करोड नौ लाख रुपैयाँ राजस्व उठेको छ । निकायको पुँजीगत लाभ करबाट तीन अर्ब ७६ करोड १९ लाख रुपैयाँ, आकस्मिक लाभ करबाट ६ करोड २२ लाख रुपैयाँ तथा अन्य आयकरबाट एक लाख ५३ हजार रुपैयाँ संकलन भएको छ ।

सम्पत्ति, बहाल, ब्याज र लाभांशबाट सम्पत्ति, बहाल तथा पट्टाबाट दुई अर्ब ८३ करोड ४५ लाख रुपैयाँ, ब्याज करबाट २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, लाभांश करबाट आठ अर्ब ११ करोड ४३ लाख रुपैयाँ, लगानीसम्बन्धी अन्य आयकरबाट २९ करोड ८४ लाख रुपैयाँ, अन्य आयकरबाट एक अर्ब ८६ करोड ४८ लाख रुपैयाँ, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबाट नौ अर्ब २० करोड ५४ लाख रुपैयाँ उठेको छ । 

विलासिता शुल्कबाट दुई अर्ब १४ करोड ३० लाख रुपैयाँ, सिप प्रवर्द्धन शुल्कबाट १३ करोड १६ लाख रुपैयाँ, स्वास्थ्य जोखिम कर (स्वदेशी उत्पादन) बाट ६ अर्ब ५४ करोड ४६ लाख रुपैयाँ, स्वास्थ्य जोखिम कर (विदेशी उत्पादन)बाट दुई करोड ९८ लाख रुपैयाँ, स्वास्थ्य सेवा करबाट २४ लाख रुपैयाँ, शैक्षिक संस्थाबाट शिक्षा सेवा कर ८० लाख रुपैयाँ, वैदेशिक अध्ययन शिक्षा सेवा करबाट तीन अर्ब ९३ करोड ६२ लाख रुपैयाँ तथा विद्युतीय सेवा कर (डिएसटी)बाट ६ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ ।

सडक तथा पूर्वाधारसम्बन्धी करअन्तर्गत साना सवारी करबाट ५५ हजार रुपैयाँ, वस्तुको उपयोग तथा उपयोग अनुमति करबाट २७ करोड ३० लाख रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरबाट १० अर्ब २६ करोड ७९ लाख रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरबाट पाँच अर्ब १० करोड ३९ लाख रुपैयाँ, पूर्वाधार करबाट १७ अर्ब १० करोड ४३ लाख रुपैयाँ उठेको छ ।

भन्सार महसुलअन्तर्गत आयातबाट एक खर्ब ९० अर्ब रुपैयाँ, निर्यातबाट एक अर्ब ८४ करोड २७ लाख रुपैयाँ, निर्यात सेवा शुल्कबाट एक करोड ६१ लाख रुपैयाँ, हरित करबाट ६ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ, स्वच्छ पूर्वाधार लगानी शुल्कबाट ४८ करोड २२ लाख रुपैयाँ, कृषि सुधार शुल्कबाट सात अर्ब ७८ करोड ३२ लाख रुपैयाँ, भन्सारसम्बन्धी अन्य आयबाट ८५ करोड ६४ लाख रुपैयाँ, आन्तरिक उत्पादन संरक्षण तथा प्रवद्र्धन शुल्कबाट २० करोड ७५ लाख रुपैयाँ तथा आयातमा लाग्ने अन्य शुल्कबाट ११ हजार पाँच सय रुपैयाँ उठेको छ । 

ब्याज र लाभांश आम्दानीअन्तर्गत वित्तीय निकायबाट ब्याज ४६ करोड ७८ लाख रुपैयाँ, सेवामूलक निकायबाट ब्याज एक अर्ब ४३ करोड २३ लाख रुपैयाँ, अन्य निकायबाट ब्याज ५० करोड ८४ लाख रुपैयाँ तथा व्यापारिक निकायबाट एक हजार रुपैयाँ प्राप्त भएको छ । लाभांशतर्फ वित्तीय निकायबाट ४४ अर्ब १७ करोड ६ लाख रुपैयाँ, व्यापारिक निकायबाट एक अर्ब रुपैयाँ, सेवामूलक निकायबाट पाँच अर्ब ७४ करोड ३७ लाख रुपैयाँ र अन्य निकायबाट एक करोड ५२ लाख रुपैयाँ प्राप्त भएको छ ।

रोयल्टीबाट सरकारी सम्पत्तिको बहालबाट ४० करोड ८३ लाख रुपैयाँ, क्यासिनो रोयल्टीबाट ८२ करोड ३९ लाख रुपैयाँ, वन रोयल्टीबाट ८३ करोड २३ लाख रुपैयाँ, खानी तथा खनिज रोयल्टीबाट ४० करोड ६८ लाख रुपैयाँ, विद्युत् रोयल्टीबाट एक अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, पर्वतारोहण रोयल्टीबाट ५५ करोड नौ लाख रुपैयाँ तथा बाँडफाँट नहुने अन्य रोयल्टीबाट चार अर्ब ४२ करोड २६ लाख रुपैयाँ प्राप्त भएको छ ।

पर्यटन तथा बिक्री आम्दानीअन्तर्गत पर्यटन शुल्कबाट पाँच करोड ९४ लाख रुपैयाँ, पदयात्रा शुल्कबाट ६९ करोड ७० लाख रुपैयाँ, वैदेशिक पर्यटन शुल्कबाट दुई करोड ८२ लाख रुपैयाँ, वैदेशिक रोजगार सेवा शुल्कबाट दुई करोड ९१ लाख रुपैयाँ, कृषि उत्पादन बिक्रीबाट १८ करोड १४ लाख रुपैयाँ, सरकारी सम्पत्ति बिक्रीबाट ३९ करोड १६ लाख रुपैयाँ तथा अन्य बिक्रीबाट ३५ करोड ७२ लाख रुपैयाँ उठेको छ । घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट दुई लाख ७५ हजार रुपैयाँ संकलन भएको छ ।

सेवा शुल्क र प्रशासनिक दस्तुरअन्तर्गत दूरसञ्चार सेवा शुल्कबाट सात अर्ब ५७ करोड ५५ लाख रुपैयाँ र टेलिफोन स्वामित्व शुल्कबाट एक अर्ब २९ करोड २ लाख रुपैयाँ उठेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सरकारको सबैभन्दा ठुलो राजस्व स्रोत बनेको छ । उत्पादनबाट ४८ अर्ब चार करोड २४ लाख रुपैयाँ, आयातबाट दुई खर्ब २१ अर्ब रुपैयाँ, वस्तु बिक्री तथा वितरणबाट ३१ अर्ब ८० करोड ७१ लाख रुपैयाँ, परामर्श तथा ठेक्काबाट २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ, पर्यटन सेवाबाट चार अर्ब ६ करोड ४६ लाख रुपैयाँ, सञ्चार सेवा, बिमा, हवाई उडान तथा अन्य सेवाबाट ३२ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ तथा दर्ता नभएका व्यवसायबाट संकलित भ्याट नौ अर्ब १४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

अन्तःशुल्कअन्तर्गत सुर्तीजन्य पदार्थबाट २९ अर्ब १८ करोड ३० लाख रुपैयाँ, मदिराबाट ३२ अर्ब १० करोड ७८ लाख रुपैयाँ, बियरबाट ४४ अर्ब ९४ करोड ६० लाख रुपैयाँ, अन्य औद्योगिक उत्पादनबाट २९ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ तथा आयात अन्तःशुल्कबाट ४९ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ संकलन भएको छ ।

बाँडफाँट हुने रोयल्टीअन्तर्गत वन क्षेत्रबाट एक अर्ब ३८ करोड २२ लाख रुपैयाँ, खानी तथा खनिजबाट ८९ करोड ५७ लाख रुपैयाँ, विद्युत्बाट चार अर्ब ३२ करोड ३० लाख रुपैयाँ, पर्वतारोहणबाट एक अर्ब ७८ करोड ७१ लाख रुपैयाँ तथा अन्य बाँडफाँट हुने राजस्व ६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

See More On

सुझावित समाचार