सिनेकर्मी अनुप पौडेलले बनाएकोसर्ट फिल्म ‘डेमोक्रेसी’ले उनलाई अमेरिकाको मञ्चमा उभ्यायो, जहाँ हिलारी क्लिन्टनले अनुपलाई सम्मान गरिन् । ‘डेमोक्रेसी’ले नै उनलाई संसारभर चिनायो । त्यो फिल्म कुनै ठुलो खर्चमा बनेको थिएन, न त्यसमा महँगो क्यामेरा थियो । त्यसपछि उनै अनुपले निर्माण गरेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’ ‘कान्स’सम्म पुग्यो ।
अनुपलाई सानैदेखि साहित्यप्रति रुचि थियो । स्कुले जीवनमा कविता लेख्थे, कथा लेख्थे । बाल्यकालमा अक्षरसँगको सान्निध्य बढ्यो । विद्यालयमा कविता प्रतियोगितामा भाग लिन्थे । निबन्ध, वक्तृत्वकला र सिर्जनात्मक लेखनमा रमाउँथे । उनलाई पनि विज्ञान पढेर डाक्टर वा इन्जिनियर बन्ने सोच थियो । जीवविज्ञान र गणित पढ्दै त्यसै दिशामा अघि बढे पनि मन भने अन्तै थियो । दुई वर्षसम्मको अन्योल र संघर्षपछि उनले आफूले लेखेका शब्दलाई दृश्यमा बदल्न सकिने संसार भेटे– फिल्म ।
त्यसपछि अनुप फिल्म सिक्ने यात्रामा लागे । पुस्तकालय, साइबर क्याफे र फिल्म फेस्टिभल उनका कक्षा बने । उनले पहिलो छोटो फिल्म ‘माइ ग्रिन होम’ बनाए । त्यो फिल्मले एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पुरस्कार जित्यो ।
पुरस्कारस्वरूप प्राप्त रकमले उनको फिल्म अध्ययनको बाटो खोलिदियो । उक्त फिल्मले पाँच हजार अमेरिकी डलर पायो । जसले जीवनको अर्को यात्रा सम्भव बनाइदियो । त्यही पुरस्कारको सहयोगमा उनी अस्कर इन्टरनेसनल कलेजमा फिल्म पढ्न भर्ना भए । त्यहाँ उनले पटकथा, निर्देशन र फिल्म निर्माणको औपचारिक शिक्षा लिए । उनी भन्छन्, ‘कलेजले फिल्म बनाउने प्रविधि सिकायो, आफू कस्तो कथा भन्न चाहन्छु भन्ने उत्तर भने जीवनले सिकायो ।’
हिलारी क्लिन्टनबाट सम्मान
त्यो समय उनी कलेजमा फिल्म पढिरहेका थिए । कलेजको प्रोजेक्टका रूपमा एउटा छोटो चलचित्र बनाउनुपर्ने भयो । साथीहरूले ठुला कथा सोचिरहेका थिए, तर अनुपले लोकतन्त्रलाई राजनीतिक भाषणमा होइन, आफ्नै घरभित्रबाट कथा भन्ने उपाय खोजे । उनले तिहारमा प्रयोग हुने रङका स–साना प्याकेट किने । ती रङ किन्न जम्मा २५ रुपैयाँ खर्च भयो । ‘धेरैले पछि राम्रो रङ किन प्रयोग नगरेको भनेर सोध्थे,’ उनी सम्झन्छन्, ‘तर मेरो उद्देश्य चम्किलो दृश्य बनाउनु थिएन । त्यो रङ हाम्रो संस्कृति, हाम्रो चाड र हाम्रो भावनासँग जोडिएको थियो । त्यसैले त्यही रङ नै सही लाग्यो ।’
अनुपका लागि लोकतन्त्र कुनै राजनीतिक नारा थिएन । उनी त्यस्तो परिवारमा हुर्किए, जहाँ सबैले आफ्ना विचार खुला रूपमा राख्न पाउँथे । बुबा–आमा, दाजुभाइ–दिदीबहिनीबिच असहमति हुन्थ्यो, बहस हुन्थ्यो, तर सबैको आवाज सुन्ने संस्कार पनि थियो ।
त्यसैले उनले लोकतन्त्रलाई संविधानको भाषामा होइन, परिवारको भाषामा परिभाषित गरे । लोकतन्त्रलाई एउटा रङसँग तुलना गरे । कसैका लागि त्यो प्रेम हो, कसैका लागि स्वतन्त्रता, कसैका लागि शान्ति । अन्त्यमा ती सबै रङ एउटै भाँडोमा मिसिन्छन् । अनुपका लागि त्यही मिश्रण नै लोकतन्त्र हो ।
‘मेरा लागि लोकतन्त्र भनेको सबैले सम्मानपूर्वक अट्ने ठाउँ हो,’ उनी भन्छन्, ‘सबैको विचार अटाउने घरजस्तै समाज हुनुपर्छ भन्ने मेरो बुझाइ थियो ।’
विज्ञान पढेको विद्यार्थी भएकाले उनलाई एउटा अर्को कुराले पनि सधैँ आकर्षित गर्थ्यो । सबै रङ मिसिँदा कुनै रङ आफैँमा राम्रो वा नराम्रो हुँदैन । राम्रो–नराम्रो भन्ने अर्थ मानिसले बनाएको हो । यही वैज्ञानिक सोच र सिर्जनात्मक दृष्टिलाई उनले चलचित्रको दृश्यभाषामा रूपान्तरण गरे । त्यसैले सर्ट फिल्म ‘डेमोक्रेसी’ सीधा–सीधा कुनै राजनीतिक फिल्म बनेन, परिवार, प्रेम, सम्मान र सहअस्तित्वको कथा बन्यो ।
त्यो छोटो चलचित्रले उत्कृष्ट सातमा स्थान बनाएपछि अनुप अमेरिका पुगे । ‘म पुरस्कारभन्दा पनि एउटा विश्वनेताले फिल्मलाई यति गम्भीर रूपमा लिएको देखेर भावुक भएको थिएँ,’ उनी सम्झन्छन् । त्यो सात–आठ मिनेटको कार्यक्रममा उनले फिल्मले समाजमा पार्ने प्रभावबारे बोलेको सुन्दा मलाई पहिलोपटक लाग्यो– फिल्म साँच्चै परिवर्तनको भाषा रहेछ ।
पुरस्कार ग्रहण गरेलगत्तै वासिंटनको एउटा रेडियोले उनलाई पहिलो प्रश्न सोध्यो– अहिले कस्तो महसुस भइरहेको छ ? अनुपको उत्तर तयार थिएन । उनी केवल आफ्नै अनुभूति बोलिरहेका थिए ।
त्यो सम्मानले उनलाई एउटा पुरस्कार मात्र दिएन, आफूले रोजेको बाटो सही रहेछ भन्ने आत्मविश्वास पनि दियो । हिलारी क्लिन्टनबाट पुरस्कार पाउनु अनुपका लागि यात्राको अन्त्य थिएन, सुरुवात थियो ।
त्यसपछि उनले एउटा महत्वपूर्ण कुरा महसुस गरे– आफू मात्रै प्रतिभाशाली भएर पुग्दैन । नेपाली फिल्मको समग्र वातावरण बलियो हुनुपर्छ । अझ धेरै सिर्जनशील युवाले अवसर पाउनुपर्छ । त्यही सोचले उनी केवल निर्देशक बन्ने सपना बोकेर बसेनन् । निर्माता बन्ने निर्णय गरे । नयाँ निर्देशकसँग काम गर्न थाले । फिल्म फेस्टिभल आयोजना गरे । अन्तर्राष्ट्रिय फिल्मकर्मीसँग सहकार्य बढाए । नेपाली फिल्मलाई विश्वबजारसँग जोड्ने पुल बन्न खोजे । त्यसवेलासम्म फिल्ममा स्नातक उत्तीर्ण गरिसकेका थिए । अनुपले आफ्नै लगानीमा छोटा फिल्म निर्माण गर्न थाले । उनले अविनाशविक्रम शाहसँग मिलेर सर्ट फिल्म ‘खुसी’ निर्माण गरे । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वाहवाही पायो ।
२०७२ सालको कुरा हो । भूकम्प, आर्थिक अस्थिरतालगायतले उनलाई विदेश जाने सोचसम्म पुर्यायो । केही समय अमेरिका बसे पनि त्यहाँ रहेका नेपाली साथी र सहकर्मीले दिएको हौसलाले उनी फेरि नेपाल फर्किए । नेपाल फर्किएपछि उनले अन्तर्राष्ट्रिय सहकार्य, फिल्म फेस्टिभल व्यवस्थापन र विभिन्न फिचर फिल्म निर्माणमा आफूलाई अझ गहिरोसँग जोड्दै लगे ।
त्यसपछि ‘तटिनी’ फिल्मको निर्माता टोलीका सदस्य बने । मीनबहादुर भामको ‘बाँसुल्ली’मा निर्माताको रूपमा काम गरेका थिए । निर्माणसँगै उनी नेपाली फिल्म संस्कृतिलाई विस्तार गर्ने अभियानमा पनि सक्रिय भए । यसैबिच उनले उत्पादन व्यवस्थापकका रूपमा पनि काम गरे । मूलधारका चलचित्रदेखि स्वतन्त्र सिनेमासम्म काम गर्दै उनले नेपाली फिल्म उद्योगको वास्तविक चुनौती नजिकबाट देखे । समस्या सिर्जनात्मकतामा भन्दा व्यवस्थापन, वित्तीय संरचना, अन्तर्राष्ट्रिय बजार र व्यावसायिक कार्यमा बढी रहेको निष्कर्षमा उनी पुगे ।
आफ्नो ज्ञानलाई अझ परिष्कृत गर्न उनी दक्षिण कोरियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलअन्तर्गत आयोजना हुने निर्माता प्रशिक्षण कार्यक्रममा सहभागी भए । त्यहाँ उनले सहनिर्माण, प्रोजेक्ट विकास, वित्तीय संरचना र विश्वबजारमा फिल्म लैजाने रणनीतिबारे अध्ययन गरे ।
अनुपका अनुसार नेपाली सिनेमाको मुख्य चुनौती प्रतिभाको अभावभन्दा पनि व्यवस्थित निर्माण प्रणालीको अभाव हो । त्यसैले, उनले निर्माणलाई केवल लगानीको काम होइन, सम्पूर्ण सिर्जनात्मक प्रक्रियाको नेतृत्वका रूपमा हेर्न थाले । अविनाश र अनुपले धेरै काम सँगै गरेका छन् । अनुपले निर्माण गरेको सर्ट फिल्म ‘लोरी’ले अवार्ड नै पायो । त्यसवेलादेखि अविनाश फिचर फिल्म ‘इलिफेन्ट इन द फग’को स्क्रिप्ट लेखिरहेका थिए । तर, फिल्मका लागि बजेट थिएन । अनुप निर्माणका लागि लगानी जुटाउन थाले । अन्तर्राष्ट्रिय निर्मातासँग सम्पर्क बढाए । अन्ततः झन्डै पाँच वर्षको मिहिनेतपछि फिल्मले पूर्णता पायो । यो फिल्मले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अवार्ड नै जित्यो । यो केवल एउटा अन्तर्राष्ट्रिय सफलता होइन, उनको दुई दशक लामो यात्राको स्वाभाविक गन्तव्य हो । अनुप फिल्मलाई पुरस्कार जित्ने माध्यमभन्दा समाजसँग प्रश्न गर्ने, समयलाई अभिलेख गर्ने र नेपाली कथालाई विश्वसामु पुर्याउने भाषाका रूपमा हेर्छन् ।
पौडेल, सिनेकर्मी हुन्